सिन्धुलीका व्यापारीलाई MRP राख्न एक हप्ताको अल्टिमेटम
जेठ २९, सिन्धुली । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले बजारलाई व्यवस्थित र पारदर्शी बनाउन अधिकतम खुद्रा मूल्य (Maximum Retail Price–MRP) अनिवार्य रूपमा लागू गर्ने निर्णय गरेको छ।
आज प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठको अध्यक्षतामा उद्योगी, व्यापारी, सुरक्षा निकायका प्रमुख, सञ्चारकर्मी तथा स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरूको उपस्थितिमा बसेको छलफलले उक्त निर्णय गरेको हो।
प्रशासनले अब बजारमा बिक्री हुने सबै वस्तुमा स्पष्ट रूपमा MRP लेबल राख्न अनिवार्य गरेको छ। MRP बिना बिक्री गरेको वा तोकिएको मूल्यभन्दा बढी असुलेको पाइए कानुनी कारबाही गरिने प्रमुख जिल्ला अधिकारी श्रेष्ठले बताइन। साथै, यो व्यवस्था कार्यान्वयनका लागि व्यापारीलाई आफ्नो पसलमा रहेका सामानमा MRP राख्न एक हप्ताको समयसीमा दिइएको उनले जानकारी दिइन।
प्रमुख जिल्ला अधिकारी श्रेष्ठले बजारलाई अनुशासित र उपभोक्तामैत्री बनाउन सिन्धुलीका उद्योगी–व्यवसायी, सुरक्षाकर्मी र सञ्चारकर्मी लगायत सबै सरोकारवालाको सहकार्य अपरिहार्य रहेको बताइन।
जिल्ला प्रशासन कार्यालयले आजै जारी गरेको सूचनाअनुसार स्वदेशी उत्पादनमा उत्पादन परिमाण, गुणस्तर र MRP सहितको लेबल अनिवार्य हुनेछ। त्यस्तै, तयारी खाद्य सामग्री तथा प्याकेजिङ गरिएका वस्तुमा ब्रान्ड, MRP र उपभोग्य मिति उल्लेख गर्नुपर्नेछ।

प्रशासनले उत्पादक, आयातकर्ता र व्यवसायीबीच समन्वय गरी लेबलिङ प्रणाली कडाइका साथ कार्यान्वयन गर्ने जनाएको छ। नियम उल्लंघन गर्नेहरूमाथि प्रचलित कानुनबमोजिम कारबाही गरिनेछ।
यस्तै, उपभोक्तालाई कुनै गुनासो भए जिल्ला प्रशासन कार्यालयमा जानकारी गराउन आग्रह गरिएको छ। प्रभावकारी बजार अनुगमनका लागि सबै सरोकारवालाको सक्रिय सहयोग आवश्यक रहेको प्रशासनले जनाएको छ।
माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम



फेसबुक प्रतिक्रिया