तीनपाटन गाउँपालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिताको उपाधि तोस्रामखोला ‘ए’ लाई
तोस्रामखोला । तीनपाटन गाउँपालिका स्तरीय मैत्रीपूर्ण शिक्षक भलिबल प्रतियोगिता–२०८२ को उपाधि तोस्रामखोला ‘ए’ ले हात पारेको छ।
हिराथुम्की माध्यमिक विद्यालयको खेलमैदानमा आज शनिबार सम्पन्न फाइनल खेलमा वडा नं. १ बेलघारीलाई २५–१८, २५–२२ र २५–२२ को सोझो सेटमा पराजित गर्दै तोस्रामखोला ‘ए’ ले उपाधि चुमेको हो।
उपाधिसँगै तोस्रामखोला ‘ए’ ले नगद ३० हजार रुपैयाँ, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। उपविजेता बनेको वडा नं. १ बेलघारीले नगद २० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ।
त्यसैगरी वडा नं. ९ आम्बोटेलाई पराजित गर्दै वडा नं. ५ तृतीय भएको छ। तृतीय हुने टिमलाई नगद १० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो।
विजेता, उपविजेता तथा तृतीय हुने टिमलाई तीनपाटन गाउँपालिकाका अध्यक्ष कर्णबहादुर थापा मगरले पुरस्कार वितरण गरेका थिए।
पुरस्कार वितरण समारोहमा बोल्दै अध्यक्ष थापा मगरले शिक्षकहरूबीचको आपसी सद्भाव, खेल भावना र स्वास्थ्य प्रवर्द्धनका लागि यस्ता प्रतियोगिता महत्वपूर्ण रहेको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता खेलकुद गतिविधिलाई निरन्तरता दिइने बताए।
पुस १० गतेदेखि सञ्चालन भएको गाउँपालिका स्तरीय मैत्रीपूर्ण शिक्षक भलिबल प्रतियोगितामा पालिकाभरिका ९ वटा टिमको सहभागिता रहेको थियो।
माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम


फेसबुक प्रतिक्रिया