शिक्षक भलिबल प्रतियोगिताको फाइनल आज, बेलघारी र तोस्राम ‘ए’ भिड्दै

तोस्रामखोला । हिराथुम्की माध्यमिक विद्यालय, तोस्रामखोलामा सुरु भएको तीनपाटन गाउँपालिका स्तरीय मैत्रीपूर्ण शिक्षक भलिबल प्रतियोगिताको आज फाइनल खेल हुँदैछ।

गाउँपालिका स्तरीय मैत्रीपूर्ण शिक्षक भलिबल प्रतियोगिताको पालिका ­भरिका ९ वटा टिम सहभागी प्रतियोगिताको उपाधिका लागि आज वडा नं. १ बेलघारी र आयोजक विद्यालय तोस्राम ‘ए’ बीच प्रतिस्पर्धा हुने भएको छ। हिजो भएको सेमिफाइनल खेलमा वडा नं. १ बेलघारीले वडा नं. ९ आम्बोटेलाई पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो भने तोस्राम ‘ए’ ले वडा नं. ५ लाई हराउँदै फाइनलमा स्थान बनाएको हिराथुम्की माध्यमिक विद्यालयका प्रधानाध्यापक अम्बर पुलामी मगरले जानकारी दिए।

त्यसैगरी, तृतीय स्थानका लागि वडा नं. ९ आम्बोटे र वडा नं. ५ बीच प्रतिस्पर्धा हुँदैछ।

प्रधानाध्यापक मगरका अनुसार प्रतियोगितामा पहिलो चरणमा लिग प्रणाली र दोस्रो चरणमा नकआउट प्रणाली अपनाइएको थियो। प्रतियोगितामा प्रथम हुने टिमलाई नगद ३० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र, द्वितीय हुनेलाई नगद २० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र तथा तृतीय हुनेलाई नगद १० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ।

शिक्षकहरूबीच आपसी सद्भाव, खेल भावना र शारीरिक तन्दुरुस्ती प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ।


माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित खबर