‘म सक्छु’ भन्ने आत्मविश्वासले बहिरा विद्यालयको शिक्षकदेखि ओलम्पिक यात्रासम्म

सिन्धुली । सञ्चारमा अवरोध थियो, आर्थिक अवस्था सामान्य। तर सपना भने ठूलो थियो। खेलमैदानमा नेपालको झण्डा फहराउने। यही आत्मविश्वास र दृढ इच्छाशक्तिले बहिरा विद्यालयका शिक्षक घनबहादुर थापालाई आज जापानको राजधानी टोकियोमा हुने बहिरा ओलम्पिक (Deaf Olympics-2025) सम्म पुर्‍याएको छ।

विसं २०६५ मा पहिलोपटक बहिरा विद्यालयको कक्षामा बसेका बालक घनबहादुर आज देशको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय खेलमैदानमा उभिन लागेका छन्। उनी भन्छन्, “सुन्न नसक्ने कानले होइन, नछोड्ने मनले जिताउँछ।” थापाले आधारभूत तहको अध्ययन श्री नवज्योति बहिरा माध्यमिक विद्यालय, सिन्धुलीबाट पूरा गरेका छन्। त्यसपछि श्री धौलागिरि बहिरा आवासीय माध्यमिक विद्यालय, बागलुङबाट कम्प्युटर इन्जिनियरिङमा डिप्लोमा हासिल गरे। भारतबाट पनि कम्प्युटरसम्बन्धी प्राविधिक तालिम लिए।

अध्ययनसँगै खेलमा विशेष रुचि राख्ने थापा बागलुङमा अध्ययनरत रहँदा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा आफ्नो विद्यालयलाई उपाधि दिलाउन सफल भए। त्यसपछि उनी खेल नेतृत्वकर्ता बने, प्रशिक्षणका लागि भारत पुगे र आफ्नै विद्यालय फर्किए— खेलशिक्षकका रूपमा। अहिले उनी श्री नवज्योति बहिरा माध्यमिक विद्यालयमा शिक्षक छन् र बहिरा विद्यार्थीका लागि खेलकुदमा नयाँ सम्भावनाका ढोका खोल्दै छन्।

दुई वर्षअघि जिल्ला ब्याडमिन्टन संघ, सिन्धुलीको प्राविधिक सहयोग र कमलामाई नगरपालिका–६ को आर्थिक सहयोगमा उनले बहिरा विद्यार्थीका लागि एकमहिने ब्याडमिन्टन तालिम सञ्चालन गरे। सो तालिमले बहिरा विद्यार्थीको खेलयात्रा परिवर्तन गर्‍यो, उनीहरूमा आत्मविश्वास बढायो। र खेलकुद अब सुन्ने र नसुन्नेबीचको भेद नभई सबैको अवसर हो भन्ने सन्देश दियो। थापाको योगदानलाई सम्मान गर्दै जिल्ला ब्याडमिन्टन संघले बहिरा ओलम्पिक (Deaf Olympics) मा सहभागी हुन ‘मायाको चिनो’का रूपमा ब्याडमिन्टन र्‍याकेट र जुत्ता प्रदान गर्‍यो।

कार्यक्रममा संघका अध्यक्ष दीपेन्द्र बस्नेतले समावेशी खेलकुदको आवश्यकता औंल्याउँदै स्थानीय तहलाई सहयोगका लागि आह्वान गरे। त्यसै अवसरमा वडा नं-६ का अध्यक्ष उज्ज्वलकुमार थापाले भने, “अपाङ्गता भएका व्यक्तिका लागि गर्न सकिने हरेक काममा हाम्रो साथ रहन्छ।” उनका अनुसार तीन वर्षअघि वडा कार्यालयले बहिरा विद्यार्थीको खेलकुदका लागि ५० हजार रुपैयाँ विनियोजन गरी सुरु गरेको सानो पहल आज ठूलो उपलब्धिमा परिणत भएको छ।


माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित खबर