नेतृत्व पुस्तान्तरण गरी ‘लुसिफर’हरूबाट आन्दोलनलाई जोगाऊँ

नेपालको राजनीतिक इतिहासमा पुराना पुस्ताका नेताहरूले निर्विवाद योगदान गरेका छन्। उनीहरूको योगदानको उपेक्षा गरेर अहिलेको हाम्रो पुस्ताले सही बाटो समाउन सक्दैन। त्यसको उच्चतम कदर गर्नु, उनीहरूको सम्मान गर्नु नवीन पुस्ताको कर्तव्य हुन आउँछ। नेपालको प्रजातान्त्रिक आन्दोलनको लामो इतिहास त छैन, राणा शासनको अन्त्यदेखि बहुदलीय प्रजातन्त्रको स्थापनासम्म, २०४६ को जनआन्दोलनदेखि २०६२/६३ को लोकतान्त्रिक आन्दोलनसम्म, हरेक परिवर्तनको आन्दोलनमा उनीहरू अग्रपंक्तिमा उभिए, त्यसको नेतृत्व गरे र देशलाई एक किसिमले भन्नू पर्दा प्रजातान्त्रिक आन्दोलनको मूलबाटोमा हिँडाए। निरङ्कुशता विरुद्ध बिना स्वार्थ लडेका ती नेताहरूले देशलाई लोकतन्त्र, गणतन्त्र र सङ्घीयतामा ल्याउन महत्त्वपूर्ण भूमिका निर्वाह गरे। यस ऐतिहासिक योगदानका लागि नेपाली जनता सधैँ उनीहरूप्रति कृतज्ञ रहनेछन्, रहन पर्दछ।
तर, इतिहासका प्रत्येक चरणसँगै नयाँ पुस्ताको उदय हुन्छ। पुराना पुस्ताले कठिनाइ र बलिदानबाट ल्याएको प्रणालीलाई संस्थागत गर्न, सुशासन स्थापना गर्न, र २१औँ शताब्दीको चेतना अनुरूप समाजलाई रूपान्तरण गर्न नवीन पुस्ताले नेतृत्व गर्न जरुरी छ। सुखी नेपाली समृद्ध नेपालको राष्ट्रिय आकाङ्क्षालाई पूरा गर्नको लागि आजको नेपालमा जटिल भूराजनीति, शक्ति राष्ट्रको आपसी द्वन्द्व, देश भित्रको भ्रष्टाचार, बेरोजगारी, शिक्षामा असमानता, स्वास्थ्यमा समान पहुँचको अभाव र बढ्दो पर्यावरणीय संकट जस्ता चुनौतीहरू छन् यी चुनौतीलाई पार लगाउँदै हामीले हाम्रो आकाङ्क्षा पुरा गर्न पर्ने चुनौती हामीमाझ रहेको छ। यी चुनौतीहरूलाई समाधान गर्न अब पुराना शैलीका राजनीतिमा होइन, नवीन सोच, प्रविधिमैत्री दृष्टिकोण, पारदर्शी शासन, र जिम्मेवार नेतृत्व आवश्यक छ। जुन कुरा भर्खरैको जेन-जी आन्दोलनका क्रममा पनि मुखर भएर आएको छ।
युवाहरूको आन्दोलनले पुराना राजनीतिक संरचनाहरूलाई लगभग ध्वस्त पारिसकेको छ, तङ्ग्रिएर उठ्न अलि समय लाग्ने अवस्थामा पुर्याएको छ। युवाहरूले उठाएका एजेन्डाहरूलाई नजरअन्दाज गर्ने हो भने राजनैतिक दलहरू उही रूपमा उठ्न असम्भव प्राय छ। उनीहरूको आन्दोलनको कारणले ओली नेतृत्वको सरकार त ढल्यो तर फेरि सरकारमा उही उमेर समूहको उपस्थितिले आम मानिसमा एक प्रकारको आशङ्का उब्जाएको छ, के सरकार परिवर्तन र चुनाव गराउन कै लागि यति बिघ्न क्षतिको आवश्यकता थियो तरु हो यसको निवारण गर्न अहिलेको सरकार सफल हुन पर्दछ। तर बिहानीले दिनको सङ्केत गर्दछ भने झैँ यो सरकारको काम हेर्दा विश्वस्त हुने आधार भेटिँदैन। प्रधानमन्त्रीको पहिलो सम्बोधन, विभिन्न मन्त्रीहरूको प्रतिशोधपूर्ण व्यवहार हेर्दा यो ध्वंसपछि निर्माणको (राजनीति र संरचना) जिम्मेवारी अझै पनि पुरानै यो सरकारले गर्न सक्छ भनेर आश्वस्त हुन सक्ने अवस्था देखिँदैन। साँचो कुरा के हो भने यो सरकार पनि त्यही पुराना नेताहरूको शैलीलाई नै अनुसरण गर्दै छ, र यत्रो आन्दोलनबाट आएको र ठुलो सपना देखाएको यो सरकार पनि विगतका सरकार झैँ असफल हुने दिशातिर त जाने हैन भन्ने चिन्ता पलाउन थालेको छ। तर हाम्रो देशमा एउटा विडम्बना छ, हरेक आन्दोलनपछिको नेतृत्व फेरिन्छ , शैली पुरानै रही रहन्छ। अब हामीले यो चक्र तोड्ने कि फेरि यथास्थितिको दलदलमा देशलाई धकेल्ने गम्भीर यक्ष प्रश्न हाम्रो बिचमा रहेको छ।
आन्दोलन पछाडि आज राजनीतिक दलहरूसँग दुई विकल्प मात्रै बाँकी छन्—कि सच्चिने, कि सक्किने। गलत अभ्यास, भ्रष्ट्राचार, गुटबन्दी र गैर जबाफदेही नेतृत्वलाई निरन्तरता दिइयो भने लोकतान्त्रिक आन्दोलनकै उपलब्धि समाप्त हुनेछ। जेन–जी पुस्ताले सडकमा प्रस्ट सन्देश दिइसकेको छ “गलत नेतृत्वको रक्षा गरेर जनता बिचमा जान सम्भव छैन।” यसो गरियो भने आन्दोलन र देश दुवै सङ्कटमा पर्छन्। त्यसैले दलहरूको सम्पूर्ण संरचना पुनर्गठन गर्न जरुरी छ, विरासतका राम्रा पक्षलाई जोगाउँदै, तर नयाँ चेतना र पुस्ताको ऊर्जा अनुसार रूपान्तरण गर्दै अगाडि बढ्नु, पार्टीलाई पुनर्ताजगी दिनु, र आम जनतालाई भरोसा दिलाउनु पहिलो आवश्यकता हो।
आगामी फागुन २१ को निर्वाचनले दलहरूको भवितव्य निर्धारण गर्नेछ। यदि तत्काल नेतृत्व हस्तान्तरण र संरचनात्मक रूपान्तरण भएन भने, लामो इतिहास बोकेका दलहरूले जनताबाट अपेक्षित समर्थन पाउने सम्भावना न्यून हुन्छ। किनकि आम नागरिक अब नयाँ सन्देश, नयाँ अनुहार र नयाँ आचरण खोजिरहेका छन्। समयमै निर्णय गरियो भने नेपाल समावेशी, पारदर्शी र उत्तरदायी भविष्यतर्फ अघि बढ्न सक्छ ढिलो गरियो भने अवसर फेरि खेर जान्छ, र मुलुक अर्को अस्थिरताको चक्रमा फस्छ। पुराना पुस्ताले अब धैर्यपूर्वक स्थान खाली गरेर सल्लाहकार बन्नुपर्छ, र नयाँ पुस्ताले साहसपूर्वक नेतृत्व लिनुपर्छ, यही बाटो लोकतन्त्रको रक्षा र भविष्य निर्माणको एक उच्चतम आशा हो।
दलहरूले अब पुरानो नेतृत्वलाई स-सम्मान बिदा गर्न पर्दछ, जेन एक्स पुस्तलाई सल्लाहकारको भूमिकामा ल्याउनु पर्दछ र पार्टीको नेतृत्वमा युवापुस्तालाई अगाडि ल्याउनु पर्दछ। अबको नेतृत्व जेन वाई र जेन जीको सम्मिश्रणमा बनाइनु पर्दछ। त्यो उमेर समूहमा रहँदा अहिलेको पुरानो पुस्ताले निकै राम्रो काम गरेको थियो चाहे आन्दोलनको नेतृत्व होस या सरकारको। मदन भण्डारी, बिपी कोइराला मात्र हैन अहिले दलहरूको उच्च नेतृत्वमा रहनु भएका नेताहरूले आफ्नो युवा उमेरमा निकै राम्रो नेतृत्व गरेको कुरा इतिहासमा पढ्न पाइन्छ तसर्थ नेतृत्व हस्तान्तरणमार्फत मात्रै भ्रष्टाचार विरोधी एजेन्डा संस्थागत गर्न सकिन्छ, शासन पारदर्शी बनाउन सकिन्छ, र जनताको भरोसा पुनः स्थापित गर्न सकिन्छ। निर्वाचनको समयमा टिकट होस या सरकार बनाउने सन्दर्भमा होस, नयाँ जेन वाई र जेन जी पुस्ताको सहभागिता अनिवार्य नबनाउने हो भने अब दलहरूलाई आफ्नो विरासत जोगाउन हम्मे हम्मे पर्दछ। युवालाई छेउमा राखेर पुराना शैलीका नेताहरूबिच मात्र सत्ताको कारोबार दोहोरियो भने, यो आन्दोलनको विश्वास गुम्नेछ र लोकतान्त्रिक राजनीति नै सङ्कटमा पर्न सक्छ।
नेपालले हाल भोगिरहेको संकट केबल आर्थिक वा राजनैतिक मात्र होइन, यो चिन्तन र व्यवहारको पनि संकट हो अझ यो नेतृत्व कै संकट हो। यो सङ्कटलाई पार लगाउन अन्तरिमको नाममा हामीले भयङ्कर गल्ती गरिसकेका छौ पुरानै टेस्टेड र फेलिएर मान्छे बटुलेर सरकारको जिम्मा दिएर। यसरी आफू तीन दशक भन्दा बढी त्यही संरचनामा बसेर, उपल्लो तहको नेतृत्व गर्दा पनि केही गर्न नसकेका पुराना कर्मचारी बटुलेर जे गरियो यो जेन जी आन्दोलनको मर्म थिएन। यहाँ त आन्दोलनलाई असली रूपमा हाईज्याक गरिएको छ। यसले देशलाई निकास दिने भन्दा पनि झन् ठुलो समस्यामा फसाउँदै अस्थिरता तर्फ लाने खतरा छ। यसको निकै महँगो मुला हामी नेपालीले तिर्न पर्ने हुनेछ। तसर्थ यसलाई रोक्नको लागि लोकतान्त्रिक पद्धतिमा विश्वास राख्ने दलहरूले पहलकदमी लिन जरुरी छ त्यो पनि समय मै, नत्र हामी लामो अनिश्चयको खाडलमा जाकिने छौँ। अहिलेका दलका नेतृत्वले गल्ती नगरेको भए यति प्रश्न उठ्ने नै थिएन। उनीहरू बाट भएको गल्ती कमजोरीले गर्दा नै हो लुसिफरहरुले टाउको उठाउन पाएका। तसर्थ अब दलहरूले ढिलो नगरीकन आम मानिसलाई अपिल गर्न सक्ने, विधि र पद्धतिमा बसेर नेतृत्व गर्न सक्ने फ्रेश क्यान्डिडेट खोजेर नेतृत्वको विकास गराउन पर्दछ र लुकेर, छदमभेसी लुसिफरहरुलाई सही जबाफ र देशलाई निकास दिन सक्नु पर्दछ। यसको लागि दलहरूले पुस्तान्तरण सहितको नेतृत्व हस्तान्तरण गरी ऐतिहासिक निर्णय लिने यो उपयुक्त समय हो। यही बाटो बात मात्र देशलाई स्थिरता, सुशासन, पारदर्शिता, शून्य भ्रष्टाचार सहितको सुखी नेपाली समृद्ध नेपालको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न सकिन्छ।
-भूगोलविद् डा. न्यौपाने समसामयिक विषयमा कलम चलाउने गर्दछन्
माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम
फेसबुक प्रतिक्रिया