गाईजात्राको अवसरमा बागमती प्रदेशभर सार्वजनिक बिदा

हेटौंडा, २२ साउन — बागमती प्रदेश सरकारले साउन २५ गते पर्ने गाईजात्रा पर्वको अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार सो निर्णय प्रदेश मन्त्रिपरिषद्को बैठकबाट पारित भई प्रदेश राजपत्रको खण्ड ८, संख्या ३२, भाग ३ मा २०८१ चैत २१ गते प्रकाशित गरिएको हो।
मन्त्रालयकी सूचना अधिकारी रिवता कार्कीले गाईजात्राको दिन प्रदेशभर सार्वजनिक बिदा हुने जानकारी दिँदै भनिन्, “मन्त्रिपरिषद्को निर्णयअनुसार सार्वजनिक कार्यालय, शैक्षिक संस्था तथा निजी संघसंस्था साउन २५ गते बन्द रहनेछन्।”
गाईजात्रा पर्वलाई लक्षित गर्दै प्रदेश सरकारले २०८० सालमा लागू गरेको ‘प्रदेश सरकारी कामकाजी भाषा ऐन’ अनुसार सार्वजनिक बिदा सम्बन्धी निर्णय २०८१ चैत १९ गते बसेको मन्त्रिपरिषद् बैठकमा गरिएको थियो। सो बैठकले गाईजात्रासहित अन्य चार पर्वका लागि पनि सार्वजनिक बिदा दिने निर्णय गरेको थियो।
काठमाडौं उपत्यकासहित बागमती प्रदेशका विभिन्न क्षेत्रमा विशेष रूपमा नेवार समुदायले मनाउने गाईजात्रा पितृ सम्झनासँग जोडिएको प्रमुख सांस्कृतिक पर्व हो।
नेपाल संवतअनुसार गुंलागाः पारू, अर्थात् जनैपूर्णिमाको भोलिपल्ट पर्ने यस पर्वमा दिवंगत आत्माको सम्झनामा गाईको स्वरूपमा बालबालिका टोलटोल घुम्ने परम्परा रहिआएको छ।
हास्यव्यंग्य, सामाजिक व्यङ्ग्यात्मक झल्को र सांस्कृतिक विविधताको समेटिएको गाईजात्राले प्रदेशमा विशेष सांस्कृतिक महत्त्व राख्दछ।
माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम
फेसबुक प्रतिक्रिया