सिन्धुलीमा पत्रकार सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

सिन्धुलीमाढी, १८ जेठ २०८२ । पत्रकार सुरक्षामा राज्य, नागरिक समाज र सञ्चारमाध्यमको भूमिकाबारे सिन्धुलीमाढीमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
प्रेस सेन्टर बागमती प्रदेशको आयोजनामा तथा आन्तरिक मामिला तथा कानुन मन्त्रालय, बागमती प्रदेशको साझेदारीमा शनिवार आयोजित कार्यक्रममा पत्रकारिता पेसा दिनप्रतिदिन चुनौतीपूर्ण बन्दै गइरहेकोप्रति सरोकारवाला पक्षले चिन्ता व्यक्त गरेका छन्।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति सिन्धुलीका प्रमुख कारसाङ लामाले पत्रकारिता संवेदनशील तथा जोखिमपूर्ण पेसा भएको उल्लेख गर्दै यसको सुरक्षामा राज्य गम्भीर हुनुपर्ने बताए। उनले पत्रकारको व्यक्तिगत मात्र नभई पेसागत र आर्थिक सुरक्षाको समेत ग्यारेन्टी हुनुपर्नेमा जोड दिए। “चौथो अङ्गविनाको राज्यको परिकल्पना गर्न सकिन्न,” उनले भने।
त्यस्तै, सिन्धुलीका प्रमुख जिल्ला अधिकारी लीला प्रसाद शर्माले समानुपातिक विज्ञापन वितरण प्रणालीको आवश्यकता औँल्याउँदै पत्रकारको आधारभूत सेवाको सुनिश्चितता र वृत्ति विकासका कार्यक्रम आवश्यक रहेको धारणा राखेका थिए।
नेपाल पत्रकार महासङ्घ बागमती प्रदेशकी उपाध्यक्ष विमला पाण्डेले पत्रकारले प्रत्येक राजनीतिक तथा सामाजिक परिवर्तनमा उल्लेखनीय भूमिका निर्वाह गरे पनि राज्यको व्यवहार भने सधैँ उपेक्षापूर्ण रहेको बताइन्। समाचार सङ्कलनमा खटिने पत्रकारको सुरक्षाको जिम्मेवारी राज्यले लिनुपर्ने उल्लेख गर्दै उनले सुरेश रजक हत्याकाण्डमा राज्य अझ गम्भीर बन्नुपर्ने आवश्यकता औँल्याइन् ।
कार्यक्रममा सहभागी सञ्चारकर्मीले विपद्को समयमा सुरक्षित रिपोर्टिङ गर्न आवश्यक आधारभूत स्रोत तथा साधनको अभाव, पत्रकारमाथिको दबाब र हस्तक्षेपको अन्त्य, र पत्रकारिता क्षेत्रको व्यावसायिक विकासका विषयमा विचार व्यक्त गरेका थिए।
कार्यक्रम प्रेस सेन्टर बागमती प्रदेश अध्यक्ष ध्रुव अधिकारीको अध्यक्षता र प्रेस सेन्टर जिल्ला समिति, सिन्धुलीको समन्वयमा सम्पन्न भएको हो।

माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित खबर