फिक्कल गाउँपालिकाले सबै विद्यार्थीको बैँक खातामा दैनिक बचत रकम जम्मा गराउँने

प्राइम बैंङ्कले एकमुष्ट पाँच लाख जम्मा गर्ने

सिन्धुली । फिक्कल गाउँपालिकाले पालिकाका ६ वटै वडामा अध्ययनरत कक्षा १ देखि १२ सम्मका सबै विद्यार्थीहरूको बैङ्क खाता खोली दैनिक बचत रकम समेत जम्मा गरिदिने भएको छ । सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकाहरूको कक्षा छोड्ने दर घटाउने र माध्यमिक तहको शिक्षा पूरा गरी उच्च शिक्षामा पहुँच वृद्धि गर्न पालिकाले यस्तो योजना ल्याएको हो ।
बुधवार फिक्कल गाउँपालिका र प्राइम कमर्शीयल बैङ्क बिच पालिका भित्र रहेका करिब ५ हजार विद्यार्थीको खाता सञ्चालन गर्ने सम्झौता पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । फिक्कल गाउँपालिका अध्यक्ष पार्वती सुनुवार र प्राइम कमिर्शीयल बैङ्क लि फिक्कल गाउँपालिका शाखाका प्रबन्धक जनकण्ठ श्रेष्ठ बिच भएको समझदारी पत्र अनुसार खाता खोलिएका सबै विद्यार्थीहरूको खातामा प्राइम कमर्शियल बैङ्क ले एक पटकको लागि आफ्नो सामाजिक उत्तरदायित्व शीर्षकबाट रु. एक सयका दरले नगद जम्मा गरिने छ भने फिक्कल गाउँपालिकाले प्रति दिन १ रुपैयाँका दरले त्रैमासिक रूपमा विद्यार्थीको खातामा रकम जम्मा गरिदिने छ ।
 विद्यार्थीको खातामा अभिभावकले समेत दैनिक एक रुपैयाँ नै रकम जम्मा गर्ने छन् । अभिभावकले चाहेमा आफ्ना बालबालिकाको खातामा थप रकम समेत जम्मा गर्न सक्ने छन् । बैङ्कले खोलिएका बाल बचत खातामा बैङ्कले प्रदान गर्ने अधिकतम व्याज दिने समझदारी भएको शाखा प्रबन्धक श्रेष्ठले माई शिरलाई बताए ।
दैनिक एक रुपैयाँका दरले रकम बचत गर्दा गाउँपालिकाको करिब ५ हजार विद्यार्थीको खातामा वार्षिक १८ लाख २५ हजार खर्च हुने छ । यो वर्षको भर्ना अभियान सञ्चालन भइरहेकाले विद्यार्थी संख्या बढे सँगै रकम पनि बढ्न सक्छ ।
त्यस्तै प्राइम बैङ्कले प्रत्येक खातामा रु एक सयको दरले एक पटकको लागि रकम जम्मा गर्दा करिब ५ लाख रुपैयाँ खर्च हुने शाखा प्रबन्धक श्रेष्ठले बताए ।
 फिक्कल गाउँपालिकाले गाउँ कार्यपालिकाबाट बाल बचत खाता सञ्चालन सम्बन्धी कार्यविधि पास गरेर विभिन्न उद्देश्यहरू राखेको छ । खाताको प्रभावकारिता, कार्यविधिले निर्दिष्ट गरेका उद्देश्य हासिल भए नभएको लगायतका विषयमा निरन्तर अनुगमन र मूल्याङ्कन गर्न पालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्ष, बैङ्क प्रतिनिधि, पालिकाको महिला बालबालिका शाखा प्रमुख, शिक्षा शाखा प्रमुख पालिका भित्रका विद्यालयका प्रधानाध्यापक मध्यबाट एक जना प्रतिनिधि रहने गरी ९ सदस्यीय अनुगमन समिति समेत बनाइएको छ ।
बचत रकम बालबालिका बालिक भएपछि मात्र झिक्न मिल्ने गाउँपालिकाकी अध्यक्ष पार्वती सुनुवारले बताइन् । विशेष गरी उच्च शिक्षा अध्ययनमा हुने आर्थिक सङ्कट निवारण गर्न र बालबालिकाहरूमा फजुल खर्च घटाई बचत गर्ने बानीको विकास गर्न तथा वित्तीय साक्षरता बढाउन बैङ्क खाताको अवधारणा ल्याइएको अध्यक्ष सुनुवारको भनाई छ । आगामी गाउँभामा छलफल गरेर दैनिक बचत गरिने रकममा केही वृद्धि गर्न समेत सकिने उनले बताइन् ।
फिक्कल गाउँपालिकामा कक्षा १ मा भर्ना भएको विद्यार्थी यही पालिकामा कक्षा १२ सम्म अध्ययन गरेर उच्च शिक्षा अध्ययनको लागि अन्यत्र जाँदा आफूले रोजेको चाहेको विषयमा अध्ययन गर्न खोज्दा हुन सक्ने आर्थिक अभावको समस्या पालिकाको यो कदमले धेरै हद सम्म पूर्ति हुने गाउँपालिका उपाध्यक्ष राजु बरालले बताए ।
सानो उमेरमा नै बैङ्क खाता खोलेर रकम जम्मा गर्न थालेपछि बालबालिकाहरूमा बचत गर्ने बानीको विकास हुने, बैङ्किङ प्रणालीको बारेमा जानकारी हुने बैङ्क सँग अभिभावक देखि विद्यार्थी सम्म नजिक रहने भएकाले स्वतः वित्तीय साक्षरता बढ्ने बैङ्कका शाखा प्रबन्धक श्रेष्ठको भनाई छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर