विपद् व्यवस्थापन समिति सिन्धुलीले गर्यो यस्ता ४ निर्णयहरू

सिन्धुली । जिल्ला विपद् व्यवस्थापन समिति सिन्धुलीले बाढी पहिरो प्रभावित क्षेत्रमा अत्यावश्यक सेवाहरू यथाशीघ्र सञ्चालन गर्ने निर्णय गरेको छ । पहिरो प्रभावित क्षेत्रहरू सुनकोशी गाउँपालिका, गोलञ्जोर गाउँपालिका र फिक्कल गाउँपालिकामा अत्यावश्यक सेवा यथाशीघ्र सञ्चालन गर्ने निर्णय गरेको हो ।
विपद् प्रभावित क्षेत्रमा खानेपानी, स्वास्थ्य सेवा, विद्यालय, सडक, विद्युत्, टेलिफोन लगायतका सेवा सुविधाहरू यथावत् सञ्चालन गर्ने र त्यसको व्यवस्थापनको जिम्मेवारी विषयगत कार्यालयको हुने निर्णय भएको छ ।
यस्तै बैठकले द्रुत गतिमा तथ्याङ्क सङ्कलन गर्ने, तथ्याङ्कको विश्लेषण गर्ने र सोही अनुसार राहत वितरण गर्ने निर्णय गरेको छ । तथ्याङ्क सङ्कलन गर्दा वडाहरू मार्फत त्रुटिरहित तथ्याङ्क सङ्कलन गर्ने, स्थानीय तहले प्रमाणित गर्ने र जिल्ला विपद् व्यवस्थापन समितिमा उपलब्ध गराउने निर्णय भएको छ । तथ्याङ्क सङ्कलन गर्दा प्रहरीको मुचुल्कालाई समेत प्राथमिकतामा राखेर गर्ने निर्णय भएको छ ।
बैठकले तथ्याङ्कका आधारमा जिल्लामा विपद् प्रभावितलाई आउने राहत एक द्वार प्रणाली मार्फत उपलब्ध गराउने निर्णय भएको छ । प्रमुख जिल्ला अधिकारी लीला प्रसाद शर्माको अध्यक्षतामा भएको बैठकले राहत वितरणलाई एकद्धार प्रणाली मार्फत गर्ने निर्णय गरेको हो । विपद् व्यवस्थापन समितिको बैठकमा बोल्दै प्रमुख जिल्ला अधिकारी शर्माले तथ्याङ्क सङ्कलन गर्दा नछुट्ने र नदोहोरिने गरी त्रुटि रहित तथ्याङ्क सङ्कलन गर्न सबै स्थानीय तहका प्रतिनिधिहरू, वडा कार्यालयहरूलाई आग्रह गरेका छन् ।
शर्माले तथ्याङ्क सङ्कलन गर्दा प्रहरीसँग समन्वय गरेर मुचुल्का गर्न, विषयगत कार्यालयले भएका गरेका कामको जानकारी यथाशीघ्र गराउन समेत आग्रह गरेका छन् ।
माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम