बाटैमा एम्बुलेन्स रोकिँदा २ बिरामीको मृत्यु, तीन दिनदेखि शव एम्बुलेन्समै

सिन्धुली। सिन्धुलीबाट बिरामी बोकेर गएको एम्बुलेन्स बाढी पहिरोले रोक्दा बिरामीको बाटैमा मृत्यु भएको छ ।
सिन्धुलीको सदरमुकामबाट बिरामी लिएर काठमाडौँ हिँडेको एम्बुलेन्स बिच बाटोमा नै रोकिएपछि दुई जना बिरामीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
सिन्धुली सदरमुकाम कमलामाई नगरपालिका-४ मल्ल गाउँ घर भई दम रोग समस्या भएको ९३ वर्षकी टिका कुमारी भुजेल र महोत्तरीको बर्दिबास नगरपालिका-८ घर भएका टिवीको बिरामी रहेका ४५ वर्षका मानबहादुर सिंजालीको उपचारका लागि काठमाडौँ तर्फ लैजाँदै गर्दा बाटैमा नै मृत्यु भएको आफन्तले जनाएका छन् ।
सिन्धुलीको सुनकोशी गाउँपालिका १ टुप्पी डाँडामा बिरामी बोकेर काठमाडौँ हिँडेको बा २१२ च ७५२३ र ग१च १७०८ नम्बरको एम्बुलेन्समा रहेका बिरामीको अविरल वर्षासँगै आएको बाढी र पहिरोको कारणले एम्बुलेन्स फसेपछि बाटोमा नै उनीहरूको शुक्रवार नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता डिएसपी अनिल कुमार खड्काले जानकारी दिए ।
डिएसपी खड्काका अनुसार, बिरामी बोकेर गएको एम्बुलेन्स नेपाल थोक प्रहरी चौकीबाट १ समय मिटर नजिकै फसेको भए पनि रोशीखोला र सुनकोशीमा आएको बाढी पहिरोको कारण उद्धारमा समस्या भएको छ। बिरामीको मृत्यु भएपछि एम्बुलेन्समा रहेको शव नै गन्हाउन थालेको छ। उनले भने, ‘हामी निरन्तर उद्धारमा लागेका छौ । एम्बुलेन्स बाटो सफा गरेर सिन्धुली फर्काउने तयारीमा थियौँ तर अहिले बिहान खुर्कोट बजार नजिकै कानढुग्री भन्ने स्थानमा बिपी राजमार्ग पुरै भासिएको छ। त्यसैले तत्कालको लागी त्यो सम्भावना पनि टरेको छ ।’
*नोटः यसअघि ९३ बर्ष हुनुपर्नेमा १३ वर्ष भएको सच्याइएको छ ।
माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम
फेसबुक प्रतिक्रिया