नेपाल र कतारबीच ८ वटा समझदारी

नेपाल र कतारबीच द्विपक्षीय लगानी र सहकार्यसँग सम्बन्धित बिभिन्न ८ बुँदे समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कतारी अमिर शेख तमिम बिन हमाद अल थानीबीच भेटवार्ता सम्पन्न भएलगत्तै समझदारी र सम्झौतामा हस्ताक्षर भएको हो । जसमा सरकारीस्तरमा ६ र निजि क्षेत्रका २ वटा सम्झौता भएका छन् ।

दुई देशबीचका सरकारी समाचार एजेन्सी, महान्यायाधिवक्ता कार्यालयसम्बन्धी, कूटनीतिक तालिम र अध्ययन, शिक्षा, कला र संस्कृति, खेलकुद क्षेत्रमा सहकार्य गर्ने समझदारी भएको हो । प्रधानमन्त्री प्रचण्ड र कतारी अमिरको उपस्थितिमा नेपालको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी र कतारका कानुन मन्त्रीले हस्ताक्षर गरेको जनाइएको छ ।

त्यस्तै, दुईदेशबीचका महान्यायाधिवक्ता कार्यालयसम्बन्धी, कूटनीतिक तालिम र अध्ययन, कतार चेम्बर अफ कमर्श र नेपाल उद्योग वाणिज्य महासंघबीच दुईटा सम्झौता भएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा दुईदिने राजकीय भ्रमणका लागि कतारी अमिर हिजो दिउँसो काठमाडौं आएका थिए । हिजै साँझ राष्ट्रपति पौडेलसँग शीतल निवासमा भेटवार्ता भएको थियो ।

राष्ट्रपतिले अमिरको सम्मानमा हिजो राति सोल्टी होटलमा राजकीय रात्रिभोजको आयोजना गर्नुभएको थियो । प्रधानमन्त्रीले कतारी राजाको सम्मानमा आज होटल द्वारिकाजमा दिवा भोजको आयोजना गर्दै हुनुहुन्छ ।

दिवाभोजपछि अमिर नेपाल भ्रमण सम्पन्न गरेर दिउँसो २ बजे स्वदेश फर्कने कार्यक्रम छ । राष्ट्रपति पौडेलले हिजो स्वागतमा झैँ आज पनि विमानस्थल पुगेर बिदाई गर्नुहुने छ ।

 


माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित खबर