सुँडे पुतलीको प्रकोप देखिएपछि,सांसद भुजेल पुगिन् जुनार बंगैचा

सिन्धुली । जुनारको राजधानी मानिएको सिन्धुलीको जुनारमा सुँडे मोथ पुतलीको प्रकोप देखिएको छ । गतवर्ष केहि मात्रामा देखिएको यो पुतली यो वर्ष अत्यधिक बढेको छ । सुँडे पुतलीका कारण जुनारमा क्षति बढेपछि वागमती प्रदेशसभा सदस्य सुष्पा भुजेल निरिक्षणको लागि जुनार बगैंचा पुगेकी छिन् ।

पुतलीको प्रकोपका बारेमा अनुगमन गर्न सोमबार राती सांसद भुजेल  प्राविधिक सहितको टोली जुनार क्षेत्रमा पुगेका थिए । सुँडे पुतलीको कुनै औषधी नभएको र रातको समयमा फलमा आएर बस्ने, फलको रस चुस्ने र फल नै झर्ने भएकाले जुनार किसानहरु चिन्तित बनेका छन । जुनार बगैंचामा रातको समयमा बढी क्षति गर्ने भएकाले निगरानी गर्नु परेको जुनार सुपरजोनका प्रमुख याम कुमार श्रेष्ठले बताए ।

गत वर्षहरुमा देखिएकै ठाउँका बगैंचामा पुतलीको प्रकोप देखिएको उनले बताए । विशेष गरि गोलञ्जोरका गाउँपालिकाको खनियाँखर्क, नयाँखर्क, तिनकन्या, भदौरे, कुभिण्डे, वेखटाँडी, रानीखोला, ओख्ले, किराँते, सान्ने लगाएतका स्थान र कमलामाई नगरपालिकाको चपौलीमा यो पुतलीको प्रकोप बढेको छ ।

उनका अनुसार कतिपय बोटहरु फल झरेर खाली भईसकेका छन । यसको निराकरणका लागि लिसोको पासोमा पार्ने, रातमा समाउने र मार्ने अभियान सुरु गरिएको छ । राती वत्ति बालेपछि पुतली नभाग्ने भएकाले समाउन सकिने श्रेष्ठले जानकारी दिए ।

यसैगरी जिल्ला समन्वय समिति सिन्धुलीका प्रमुख कार्साङ लामा, उपप्रमुख शान्ता कार्की, गोलञ्जोर गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष गोविन्द लुंगेली, कृषि विकास कार्यालयका प्रमुख र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका प्रमुख याम कुमार श्रेष्ठ, प्राविधिक सहितको टोली सुपरजोन अनुगमनमा पुगेका थिए।


माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम

सम्बन्धित खबर