रामेछाप लेखर्कको पहिरो अपडेटः ६ जनाको शव भेटियो ४ अझै बेपत्ता

रामेछाप । रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–३ टोकरपुरको लेखर्कमा गएर राति आएको पहिरोमा परि ज्यान गुमाउनेको सङ्ख्या ६ पुगेको छ । पहिरोमा पुरिएका चारजना अझै बेपत्ता छन् ।

पहिरोमा परी ३२ वर्षकी चण्डिका थापा मगर र उहाँका १८ महिनाका छोरा आमुस श्रेष्ठको ज्यान गएको छ । चण्डिकासँगै सो घरमा पुरिएकी अञ्जना पहरीको भने जीवितै उद्धार गरिएको छ ।

पहिरोले घर बगाउँदा पुरिएका ४५ वर्षीय उर्मिला पहरी, १५ वर्षका सन्तोष पहरी, १६ वर्षका विज्ञान पहरी, १५ वर्षका सन्दीप पहरीको शव पनि निकालिएको उद्धारमा संलग्न स्थानीय राजुराम पाठकले जानकारी दिए ।

पहिराले घर बगाउँदा ९० वर्षकी पुड्की पहरी, करिब ५५ वर्षका काले पहरी, ५० वर्षकी झ्याउँकिरी पहरी र २० वर्षकी विनीता पहरी बेपत्ता छन् ।

पहिरोले स्थानीयका चारवटा घर बगाएको छ भने पहिरोको कारण पुरै बस्ती जोखिममा छ । गाउँको माथिबाट ठाउँ ठाउँमा पहिरो गएको छ ।

पहिरोले स्थानीयका चारवटा भैँसी, तीनवटा गाई, २९ वटा बाख्रा लगायतका पशु बस्तु तथा धनमाल समेत बगाएको छ । बाढीले स्थानीय ढोइगाउँ खोलामा रहेको पक्की पुल बगाएको छ । त्यस्तै घट्टे खोलाको पुलमा पनि क्षति पुर्‍याएको छ ।

 


माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम

सम्बन्धित खबर