फिक्कल ५ बालमैत्री वडा घोषणाः सिन्धुली जिल्लाको तेस्रो

सिन्धुली । जिल्लाको फिक्कल गाउँपालिका वडा नं ५ लाई ‘बालमैत्री’ वडा घोषणा गरिएको छ ।

स्थानीय शासन कार्यविधि २०६८ बमोजिम ३० वटा, बालमैत्री स्थानीय शासन संक्षिप्त पुस्तिकाले थप गरेको १२ वटा र गाउँपालिकाले निर्धारण गरेको बालबालिकासम्बन्धी ९ वटा सुचांक पूरा गरेकाले बुधबार बालमैत्री वडा घोषणा भएको हो ।
बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका २०७८ ले निर्दिष्ट गरेका तहगत खुड्किला, मापदण्ड र ५१ वटा सूचक पूरा गरेकाले जिल्लाका ७९ वडामध्येमा फिक्कलको वडा नं ५ तेस्रो भएको हो ।

यसअघि तीनपाटन गाउँपालिकाको क्रमश वडा नं १० र ५ लाई बालमैत्री स्थानीय शासन वडा घोषणा गरिएको थियो । बालबालिकाको बचाउ, संरक्षण, विकास, अर्थपूर्ण सहभागिता, अधिकारलाई स्थानीय तहको नीति, संरचना, प्रणाली र कार्यप्रक्रिया व्यवहारमा संस्थागत गरेकाले बालमैत्री वडा घोषणा भएको फिक्कल गाउँपालिकाका उपाध्यक्ष राजु बरालले जनाए ।

बालमैत्री वडा घोषणा भएको सुखद् दिन भनेर विद्यालयहरुका बालबालिकाले प्लेकार्डसहित कार्यक्रममा सहभागिता जनाएका थिए । वडामा हुने हरेक गतिविधिमा बालबालिकाहरुको अर्थपूर्ण सहभागिताको सुनिश्चितता गर्न र अन्य वडाहरुलाई समेत प्रेरणा मिलोस् भनेर सोल्पाको डाँडाबाट पञ्चेबाजाले गुञ्जयमान बनाई घोषणा गरिएको वडाध्यक्ष बैकुण्ठलाल पहाडीले बताए ।जिल्ला समन्वय समिति र गाउँपालिकाबाट सूचांकसहित सिफारिस भएपछि तेस्रो बालमैत्री वडा भएको वडाध्यक्ष पहाडीले जानकारी दिए ।

त्यसैगरी कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख कारसाङ लामाले बालबालिकालाई सुनौं र बाल सरोकारका निर्णय प्रक्रियामा अर्थपूर्ण सहभागिताको सुनिश्चितताको लागि हस्ताक्षर गरेका थिए ।

 


माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित खबर