ठेक्कामा सहकार्य गर्ने श्रेष्ठ–दाहाल, नेतृत्वमा भने प्रतिस्पर्धी

सिन्धुलीमाढी, ५ भदौ / सिन्धुली निर्माण व्यवसायी संघको भोली हुने अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ। नेतृत्वका लागि कांग्रेस निकट तुलसीराम श्रेष्ठ, माओवादी सम्बद्ध उद्धवप्रसाद दाहाल, कांग्रेसकै जय ढकाल र एमाले निकट मेजरबहादुर खड्का दाबेदार बनेका छन्।

संघको १२औँ साधारण सभा तथा ९औँ अधिवेशन भदौ ६ गते (शुक्रवार) हुने कार्यक्रम छ, जसको उद्घाटन नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले गर्नेछन्।

श्रेष्ठ नेपाली कांग्रेस निकट व्यवसायीका रूपमा परिचित छन् भने दाहाल माओवादी सम्बद्ध मानिन्छन्। निर्माण व्यवसायमा ठेक्का प्रक्रियामा लामो समयदेखि सहकार्य गर्दै आएका यी दुई नेताहरू संघको नेतृत्वमा भने निरन्तर आमनेसामने रहँदै आएका छन्।

२०७६ फागुनमा सम्पन्न भएको ८औँ अधिवेशनमा श्रेष्ठले दाहाललाई ३ मतले पराजित गर्दै अध्यक्ष बनेका थिए। त्यति बेला श्रेष्ठले ७७ मत पाएका थिए भने दाहाल ७४ मतमा सीमित भएका थिए। उक्त अधिवेशनमा कांग्रेस निकट प्यानलले अध्यक्षसहित केही पद जिते पनि एमाले–माओवादी निकट समूहको प्रभावशाली उपस्थिति देखिएको थियो।

त्यस अधिवेशनमा उपाध्यक्षतर्फ कांग्रेस निकट रवीन्द्र कुँवरले एमाले निकट फणीन्द्र पोखरेललाई २ मतले हराएका थिए। दोस्रो उपाध्यक्षमा नेत्रलाल कुँवर ३ मतको अन्तरले विजयी भए। महासचिवमा भने एमाले निकट मेजरबहादुर खड्काले कांग्रेस निकट वसन्त ढकाललाई १४ मतको फराकिलो अन्तरले पराजित गरेका थिए।

तर अहिलेको राजनीतिक परिदृश्य त्यति बेलाभन्दा फरक छ। तत्कालीन नेकपा अहिले एमाले, माओवादी र समाजवादीमा विभाजित भइसकेको छ। कांग्रेसका जय ढकालले आफ्नो पक्षमा सहमति नजुटे दाहालको समर्थन गर्ने संकेत दिएका छन्। यसैबिच, वर्तमान अध्यक्ष श्रेष्ठ पुनः नेतृत्व दोहोर्‍याउने तयारीमा छन्। ढकालले असहयोग गरेमा श्रेष्ठले वर्तमान महासचिव तथा एमाले निकट मेजरबहादुर खड्कासँग मिलेर नेतृत्व सम्हाल्ने वा खड्कालाई नेतृत्व हस्तान्तरण गर्ने तयारीमा रहेको निकटस्थहरूले बताएका छन्।

यता दाहाल पनि प्रतिस्पर्धाबाट पछि हट्ने पक्षमा छैनन्। नयाँ व्यवसायी थपिएकाले उनीहरूको मतसहित कांग्रेसभित्रको असन्तुष्ट पक्षलाई आफ्नो पक्षमा पारेर जित निकाल्ने प्रयासमा देखिन्छन्। अघिल्लो हारको बदला लिन उनी आतुर देखिन्छन्।

संघमा सर्वसम्मत नेतृत्वको चर्चा भए पनि सम्भावना भने न्यून देखिन्छ। श्रेष्ठ पक्षका निकटस्थहरू भन्छन्, “सके नेतृत्व दोहोर्‍याउँछौँ, नभए दाहालबाहेक अरूसँग सहमति गर्न तयार छौँ। तर दाहाललाई अध्यक्ष बनाउन सक्दैनौँ।” उता दाहाल पक्ष भने, “यस पटक नेतृत्व लिनै पर्छ, श्रेष्ठलाई दोहोरिन दिन्नौँ,” भन्ने अडानमा छ।

यसबिच, एमाले निकट व्यवसायीहरू वर्तमान महासचिव मेजरबहादुर खड्कालाई अध्यक्ष बनाउनुपर्नेबारे छलफलमा छन्। उनीहरू हालसम्म तटस्थ देखिएका भए पनि केन्द्रीय सत्ता समीकरणअनुसार कांग्रेस निकट श्रेष्ठलाई समर्थन गर्ने वा आफ्नै उम्मेदवारी अगाडि बढाउने भन्ने निर्णयमा पुगेका छैनन्।

तर सहमति नजुट्ने सम्भावना प्रबल देखिन्छ। यस्तो अवस्थामा आसन्न अधिवेशनको नेतृत्व तुलसीराम श्रेष्ठ वा मेजरबहादुर खड्का मध्ये एकले सम्हाल्ने निश्चित जस्तै देखिन्छ।


माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित खबर