तीनपाटनको जाँते खोला: गुफाभित्र लुकेको महादेव मन्दिर, पर्यटनको नयाँ सम्भावना

सिन्धुली — तीनपाटन गाउँपालिका–१ को जाँते खोलामा रहेको एक प्राकृतिक गुफाभित्र लुकेको महादेव मन्दिर अहिले धार्मिक आस्था र पर्यटकीय सम्भावनाको केन्द्रबिन्दु बन्दै गएको छ।
गुफाभित्र रहेको प्राकृतिक शिवलिंग, गणेश मूर्ति, पापद्धार र धर्मद्धार सहितको यो स्थललाई करिब वि.सं. २०४० तिर एक स्थानीय गोठालाले गाई चराउने क्रममा पत्ता लगाएका थिए। स्थानीय भरत राउतका अनुसार गाईहरू जहाँ लगे पनि बारम्बार एउटै स्थानमा फर्किन थालेपछि खोजी गर्दा गुफाको प्रवेशद्वार भेटिएको थियो। त्यसपछि गुफामा प्रवेश गर्दा शिवलिंग देखिएपछि यस स्थललाई महादेवको बसाहको रूपमा चिनिन थालियो।
गुफाको तलपट्टि बहने जाँते खोला र वरपरको रानी दह झरना, राजा दह, हरियाली जंगल र मौलिक वातावरणले गर्दा यो क्षेत्र धार्मिक मात्र नभई प्राकृतिक पर्यटनका लागि पनि उपयुक्त गन्तव्यका रूपमा देखिएको छ।
वडा अध्यक्ष गोविन्द बहादुर राउतका अनुसार, “शान्त वातावरण, धार्मिक महत्व र प्राकृतिक सौन्दर्यले यो क्षेत्रलाई नयाँ पर्यटकीय गन्तव्य बनाउन सकिने सम्भावना छ। स्थानीयले पदयात्रा, पूजाआजा र प्रचारप्रसारसमेत सुरु गरिसकेका छन्।”
हाल मन्दिरसम्म पुग्न झुगा सामुदायिक वनको अगुवाइमा सिँढी निर्माण सुरु गरिएको छ। वडाको केन्द्रबाट करिब ७ किलोमिटर दूरीमा रहेको यो मन्दिरमा शिवरात्रि, मनोकामना पूर्ति पश्चातको पूजा लगायत धार्मिक क्रियाकलाप नियमित रूपमा हुँदै आएका छन्।
स्थानीयवासीहरूको भनाइमा, प्रचारप्रसार र संरचना विकासमा ध्यान दिएमा यो क्षेत्र भ्लगिङ, फोटोग्राफी र ट्रेकिङ गर्न चाहनेका लागि पनि उत्कृष्ट गन्तव्य बन्नेछ। प्राकृतिक गुफा, झरना र जङ्गलको संगमले यहाँको दृश्यावलीलाई अझ अद्वितीय बनाएको छ।
सरकार र सरोकारवाला निकायको सहकार्यमा आवश्यक पूर्वाधार विकास गर्न सकेमा तिनपाटनको यो लुकेको रत्न सिन्धुली जिल्लाकै प्रमुख पर्यटकीय गन्तव्य बन्न सक्छ।
माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम
फेसबुक प्रतिक्रिया