नागरिकको उपभोक्ता अधिकारको संरक्षण, प्रवर्द्धन तथा कार्यान्वयनमा प्रतिवद्ध छौँः मन्त्री तामाङ

हेटौँडा । बागमती प्रदेशको उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री शुकमाया तामाङले नागरिकको उपभोक्ता अधिकारको सम्मान गर्दै गुणस्तरीय, सुरक्षित र न्यायोचित मूल्यमा वस्तु तथा सेवा उपभोग गर्न पाउने हक प्रत्याभूति गराउनु राज्यको दायित्व भएको बताएकी छन् ।
आइतबार हेटौँडामा आयोजित विश्व उपभोक्ता अधिकार दिवस कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री तामाङले उद्योग मन्त्रालय उपभोक्ता अधिकारको संरक्षण, प्रवर्द्धन तथा कार्यान्वयनका लागि सधैँ प्रतिबद्ध रहेको बताइन् ।
‘आजको युग डिजिटल र नवप्रवर्तनशील प्रविधिको युग हो । धेरै सन्दर्भमा डिजिटल कारोबारमा उपभोक्ताको अधिकार सुरक्षित गर्ने विषय अझै महत्त्वपूर्ण बनेको छ,’ उनले भनिन्, ‘त्यसैले नेपालमा डिजिटल कारोबार तथा विद्युतीय सेवा प्रवाहलाई सुरक्षित, भरपर्दो र उपभोक्ता हितमैत्री बनाउनेतर्फ हाम्रो ध्यान केन्द्रित छ ।’ उनले उपभोक्ता अधिकारको प्रत्याभूति सुनिश्चित गर्ने कार्यमा सबैले आ–आफ्नो तर्फबाट सकारात्मक भूमिका निर्वाह गर्न व्यवसायी, उपभोक्ता अधिकारकर्मी, सङ्घसंस्था तथा सरोकारवालाहरूलाई आग्रह पनि गरिन् ।
“स्वच्छ र प्रतिस्पर्धी बजार, उपभोक्ता संरक्षणको दिगो आधार” भन्ने नाराका साथ आयोजना गरिएको कार्यक्रममा मन्त्रालयका उपसचिव सुनिता गजुरेलले कार्यपत्र प्रस्तुतीकरण गरेकी थिइन् । उनले मन्त्रालय अन्तर्गतका निकायबाट यस आर्थिक वर्षमा ६१४ जना व्यवसायीको अनुगमन गरिएको जानकारी गराइन् ।
उक्त अनुगमनका क्रममा ७ लाख ७२ हजार ९८१ बराबरको सामान नष्ट गरिएको र ११ लाख ८० हजार रुपैयाँ जरिवाना गरिएको उपसचिव गजुरेलले बताइन् । गजुरेलका अनुसार अनुगमनका क्रममा नुवाकोट जिल्लामा दर्ता नभई सञ्चालन गरिएको दुई वटा अस्पताल बन्द गरिनुका साथै जरिवाना समेत गरिएको छ ।

माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित खबर