मोटरसाइकलमा बाँधिएको कोदालो: वडाध्यक्षको शासन शैली

सिन्धुलीको तीनकन्यामा वर्षा सुरु हुनासाथ एउटा परिचित दृश्य दोहोरिन्छ।  एउटा १५० सीसीको पल्सर मोटरसाइकलको लेगार्डमा कस्सिएर बाँधिएको हुन्छ कोदालो, झोलामा हँसिया। त्यसैको साथमा धुस्रे फुस्रे भएर पहिरो हटाउँदै, खाल्डा पुर्दै, बाटो बनाउँदै एक व्यक्ति अगाडि बढिरहेका हुन्छन्—गोलन्जोर गाउँपालिका-४ तीनकन्याका वडाध्यक्ष भक्त बहादुर भुजेल, जसलाई गाउँलेहरूले माया गर्दै “अर्जुन” भन्छन्।

गाउँपालिकाको तीनकन्या बाहेक अन्य वडाहरू बिपी र मध्यपहाडी राजमार्गका पक्की सडकसँग जोडिएका छन् । तर, तीनकन्या कर्णालीको उपमा पाएको गाउँ हो—जहाँको जीवनशैली सरल छ तर सङ्घर्षपूर्ण। पक्की सडक छैन, बर्खामा पहिरोले बाटाहरू पुरिन्छन्। हिउँदमा मात्र केही सजिलो हुन्छ यात्रा। यिनै समस्याबिच जन्मिएका, हुर्केका र आज नेतृत्व गरिरहेका छन् वडाध्यक्ष भुजेल।

बर्खा सुरु हुनासाथ उनका दुई स्थायी साथीसँग उनी गाउँ घुम्न निस्किन्छन्—एक थान मोटरसाइकल र एक थान कोदालो। बाटो भत्किन्छ, पहिरो आउँछ, तर उनी फर्कँदैनन्। बरु कोदालोले खाल्डा पुर्दै, ढिस्को हटाउँदै, बाटो बनाउँदै अघि बढ्छन्। गाउँलेहरूको सेवामा हरेक टोल बस्ती पुग्छन् ।

 

जहाँ समस्या, त्यहीँ समाधान

तीनकन्या गाउँ विकासका दृष्टिले धेरै पछाडि परेको क्षेत्र हो—पक्की सडक छैन, स्वास्थ्य सेवा सीमित, र बर्षायाममा त दैनिक जीवन नै सङ्कटग्रस्त। हिउँदमा धुलो, बर्षायाममा हिलो, खाल्डाखुल्डी र पहिरो।

भुजेल यिनै समस्याको बिचबाट चुनिएका नेतृत्व हुन्—२०७९ को निर्वाचनमा नेपाली कांग्रेसबाट वडाध्यक्ष निर्वाचित। जित पछि उनले महसुस गरे—”शासन गर्न पदभन्दा पहिल्यै सेवा मन हुनु पर्छ।”

र त्यस बेलादेखि उनले कोदालो बोकेका छन्—शब्द होइन, कर्ममा न्याय दिने नेतृत्व बोकेका छन्।

सृजनशील नेतृत्व, साहसी सोच

कहिलेकाहीँ पहिरोले बाटो पुर्दा घुमेर जानुपर्ने अवस्था आउँछ।

तर भुजेल त्यसो गर्दैनन्।

“समय महत्त्वपूर्ण छ,” उनी भन्छन्, “म घुमेर जान थाले भने गाउँलेले बोलाएको ठाउँमा ढिलो पुग्छु। समय बढी लाग्छ । म बाटो खनेर नै अघि बढ्छु।”

शब्द मात्र होइन, उनले यस्तो उदाहरण थुप्रै पटक दिइसकेका छन्—कहिलेकाहीँ बिरामीलाई आफैँ मोटरसाइकलमा राखेर अस्पताल, कहिले अभिभावकलाई बालिकाको पढाइमा जागरूक बनाउन घर–घर पुग्ने।

एक वडाध्यक्ष, सय कर्तव्य

भुजेलको कार्यशैलीले राज्यको संरचना भन्दा पहिला समाजप्रतिको प्रतिबद्धता देखाउँछ। उनले मोटरसाइकलमा कोदालो बाँधेर र झोलमा हँसिया बोकेर हिँड्दा कुनै लाज मानेका छैनन्। बरु गाउँका युवाहरूलाई नै प्रेरणा मिलेको छ—”हामी पनि केही गर्न सक्छौँ” भन्ने भावनाले।

सेवा भनेको शासन होइन, संलग्नता हो

आजको राजनीतिमा जब नेतृत्व जनविमुख र पदमुखी हुँदै गएको छ, वडाध्यक्ष भुजेल जस्ता जनमुखी पात्रहरूको चर्चा आवश्यक छ।

“म केवल वडाध्यक्ष होइन, गाउँको एक नागरिक हुँ,” उनी भन्छन्, “जबसम्म हाम्रा बस्तीका हिडडुल गर्ने ग्रामीण  सडकहरू सहज हुँदैन, म कोदालो बोकेर हिँडिरहन्छु।”

 

उनको कथाले हामीलाई सम्झाउँछ—

शक्ति साधनमा होइन, सोचमा हुन्छ।

सेवा योजनामा होइन, उपस्थितिमा हुन्छ।

र नेतृत्व कुर्सीमा होइन, माटोमा भेटिन्छ।


माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम

सम्बन्धित खबर