गढीमाई मेलामा कृषि प्रदर्शनीः सिन्धुलीको जुनारदेखि नुवाकोटको कफीसम्म

निजगढ । बाराको गढीमाई मेलामा विभिन्न कृषि उपजहरू प्रदर्शनीका लागि राखिएका छन् ।

कनेक्ट किसान प्रालिले सञ्चालन गरेको ‘बृहत कृषि प्रदर्शनी’ मा १८ पालिकाको समेत गरी १५० वटा स्टलहरू रहेका छन् । जहाँ सिन्धुलीको जुनार, रौतहटको ड्रागनफ्रुट, नुवाकोटको कफी, वीरगञ्जको च्याउ, चितवनको बेसार, सप्तरीको अचार, प्युठानको अर्गानिक मह लगायत प्रदर्शनीमा राखिएका छन् ।

यसैगरी सातै प्रदेशको सात फरक परिकार कोदोको सेलरोटी, कोदोको मःम, खुवाको योमरी, मौलिक आलु, गुन्द्रुकको अचार र लोकल खाना समेत समावेश छन् ।

कृषिमा आधुनिक प्रविधि अन्तर्गत थोपा सिँचाइ प्रविधि, नर्सरी तथा माछाको प्रदर्शनी, कृषि उपकरणमा विभिन्न कम्पनीका ट्याक्टर, रोटावेटर, हार्बेस्ट कम्पाइन तथा अन्य आवश्यक उपकरणहरू राखिएका छन् ।

 

प्रदर्शनीमा किसानहरुले कृषि तथा पशु सेवाका विशेषज्ञसँग कृषि सम्बन्धी विभिन्न समस्या र अवसरको विषयमा प्रत्यक्ष संवाद गर्ने व्यवस्था समेत मिलाइएको कनेक्ट किसान प्रालि अध्यक्ष सञ्जिता लामिछानेले जानकारी दिइन् ।

त्यस्तै कृषि प्रदर्शनीको अर्को खास आकर्षणमा रोबोट पनि रहेको छ । किसानहरूले आफ्नो कृषि समस्याको विषयमा सिधै रोबोटलाई सवाल जवाफ गर्न सक्ने व्यवस्था पनि मिलाइएको छ ।

कृषिलाई आधुनिक प्रविधिसँग जोड्न कृषिसँग सम्बन्धित कुनै पनि सवालजवाफ सोध्न सक्ने गरी रोबोटको विकास गरिएको कनेक्ट किसानका राजन दहालले जानकारी दिए ।

१८ मंसिरमा कृषि प्रदर्शनीको उद्घाटन उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले गरेका थिए । प्रदर्शनी २४ मंसिरसम्म सञ्चालन हुने प्रदर्शनीमा २ लाख मानिसले अवलोकन गर्ने अपेक्षा गरिएको लामिछानेले जानकारी दिइन् ।


माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम

सम्बन्धित खबर