कमलामाई गेस्ट हाउसमा वेश्यावृत्तिः सिन्धुलीका राजु पक्राउ

काठमाडौँ महानगरपालिका–३२ कोटेश्वर स्थित ‘कमलामाई खाजाघर एन्ड गेस्ट हाउस’मा यौनधन्दा चलाउन ग्राहाक खोज्ने सिन्धुलीका राजु साही पक्राउ परेका छन्।
प्रहरीको मानव बेचबिखन ब्युरोले ५ जना बालिका र युवतीलाई उद्धार गरेको छ । उद्धार गरिएका मध्ये दुईजना १५ र १६ वर्षका छन् । गेस्ट हाउस सञ्चालक रामेछाप घर भएका गोरे नेवा खड्गीले रकम असुलेर उनीहरूलाई यौन सम्पर्क गर्न बाध्य बनाएका हुन् ।
गेस्ट हाउस सञ्चालक खड्गी र गेस्ट हाउसमा यौन धन्दा चलाउन ग्राहक खोज्न हिँड्ने सिन्धुलीको कमलामाई नगरपालिका-५ घर भएका ४२ वर्षीय राजु साहीलाई पक्राउ गरिएको ब्यूरोका एसपी गौतम मिश्रले बताए ।
उद्धार गरिएका ३ जना युवतीहरू १८ वर्ष माथिका छन् । वेश्यावृत्ति गर्न बाध्य पारिएकाहरू सिन्धुपाल्चोक, काभ्रे र उदयपुर घर भएका हुन् ।
गेस्टहाउसमा आउने ग्राहकहरूसँग सञ्चालकले एकपटक यौन सम्पर्क राखेमा १ हजार ५ सय र रातभर यौन सम्पर्क गर्नेसँग ८ हजार असुल्ने गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । पीडितहरूलाई प्रति ग्राहक ५ सय ‘दिन्छु’ भनेपनि गेस्ट हाउस सञ्चालकले सो रकम नदिएको खुलेको छ ।
गेस्टहाउसमा किशोरीहरूलाई राखेर ग्राहक आएपछि छान्न लगाएर उनीहरूले वेश्यावृत्ति धन्दा चलाएका हुन् । उनीहरू विरुद्ध काठमाडौँ जिल्ला अदालतबाट मानव बेचबिखन मुद्दामा ७ दिनको म्याद लिएर अनुसन्धान भइरहेको एसपी मिश्रले जानकारी दिए ।
माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम
फेसबुक प्रतिक्रिया