विकासको मुद्दामा रक्षात्मक बने निवर्तमान सांसद दाहाल

फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा निर्वाचनको मौन अवधि सुरु हुनै लाग्दा सिन्धुली जिल्लाका दुवै निर्वाचन क्षेत्रमा उम्मेदवारहरूले आफ्नो चुनावी अभियानलाई थप तीव्रता दिएका छन्। जिल्लाका दुईमध्ये क्षेत्र नं. १ मा सबै पार्टीका हालसम्म संघीय सांसद नभएका उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् भने क्षेत्र नं. २ मा तत्कालीन नेकपा माओवादी, हाल नेपाली कम्युनिस्ट पार्टीबाट चुनाव जितेका निवर्तमान सांसद राजन दाहालसहित १६ जना चुनावी प्रतिस्पर्धामा छन्।

प्रतिस्पर्धामा रहेका अन्य उम्मेदवारहरूलाई आफ्ना एजेन्डासहित “म जनताको काम गर्छु” भन्न सजिलो भएको छ, तर अघिल्लो पटक जितेका सांसद राजन दाहालसँग भने जनताले “अघिल्लो पटक जितेर पठायौँ, के–के दिनुभयो त?” भनेर हिसाब खोजेका छन्। तीन वर्षपछि पुनः भोट माग्न जनताको घर–आँगनमा पुग्दा जनताले दाहालसँग विकासका मुद्दा उठाएपछि उनी भने विकासका मुद्दामा रक्षात्मक बनेका छन्।

दाहाललाई विशेषगरी सबैभन्दा धेरै मतदाता भएको कमलामाई नगरमा विकासका मुद्दाले अप्ठ्यारो स्थितिमा पुर्‍याएको विपक्षीहरूले बताउने गरेका छन्। कतिपय वडामा तीन वर्षको अवधिमा एउटा सानो पनि विकास–निर्माणको आयोजनाका लागि बजेट पहल नगरेको, संघीय बजेटमा योजना समावेश नगरेको भनेर जनताले दाहालमाथि तिखो प्रश्न गरेका छन्। माओवादीका विगतका वडा अध्यक्षका प्रतिस्पर्धीदेखि मतदातासम्म विकास योजनामा दाहालले पहल नगरेकै कारण नेकपा त्यागेर अन्य पार्टीमा लागेको बताइन्छ।

उनीमाथि नेकपाको आधार इलाका र उनको गृहपालिका सुनकोशी गाउँपालिकालाई मात्र विकास बजेटमा प्राथमिकता दिएको आरोप लाग्ने गरेको छ। तर ती क्षेत्रमा पनि उल्लेखनीय काम नगरेको भनेर आरोप खेपिरहेका छन्। उनीहरूले आधार इलाका मान्ने सुनकोशी, घ्याङलेख, मरिण र हरिहरपुरगढीमै पनि दाहालको पहलमा खासै उल्लेख्य ठूला काम उनको संसदीय कार्यकालमा हुन सकेनन्।

क्षेत्र नं. १ का दुधौली नगरसहित तिनपाटन, फिक्कल र गोलन्जोर गाउँपालिकामा १५ शैयाका अस्पताल सञ्चालनमा आउँदा दाहालको क्षेत्रका कुनै पनि पालिकामा क्षेत्र नं. १ जस्तो पालिका अस्पताल निर्माण भएर सञ्चालनमा आउन सकेको छैन। यहाँका जनता अहिले पनि जिल्ला अस्पतालकै भर पर्नुपर्ने अवस्थामा छन्। पालिका अस्पताल निर्माणमा पहल गरेका क्षेत्र नं. १ का उम्मेदवारहरूले ती अस्पताललाई ५० शैयाको बनाउने र थप उपकरण तथा प्रविधिमैत्री बनाउने भनेर चुनावी प्रतिस्पर्धामा रहँदा क्षेत्र नं. २ मा दाहाललाई जनतासँग जवाफ दिन समस्या परिरहेको छ।

विकास देखाउन पाँच वर्षअघि सबै राजनीतिक दल र जनताको सहयोगमा कमलामाई नगरपालिका र तत्कालीन मेयर खड्गबहादुर खत्रीको नेतृत्वमा बनेको कोभिड अस्पताल निर्माणमा आफूले पहल गरेको भनेर चुनावी प्रचार गर्नुपर्ने अवस्थामा दाहाल पुगेका छन्, तर त्यो कोभिड अस्पताल अहिले उपयोगहीन अवस्थामा छ। अघिल्लो संसदीय चुनाव जित्दै गर्दा दाहालले उक्त कोभिड अस्पताललाई ट्रमा सेन्टर बनाउने भनेर कमलामाई नगरका धेरै ठाउँमा भाषण पनि गरेका थिए, तर तीन वर्षसम्म त्यसको कुनै प्रक्रिया सुरु नै गरेनन्।

कमलामाई नगरको वडा नं. १, २, ७, ८, १०, ११ र १२ मा सडक स्तरोन्नतिको लागि संघीय बजेट आवश्यक पर्ने, नगर बजेटले नधान्ने स्थितिका थुप्रै सडक भए पनि दाहालले तीन वर्षमा कुनै पनि वडाका लागि गतिलो सडक आयोजनाको बजेटमा पहल गर्न सकेनन् वा चाहेनन्। कमलामाई–८ को माईशिर व्यापक धार्मिक–पर्यटकीय स्थलको रूपमा विकास हुँदै गरेको सन्दर्भमा त्यहाँको करिब ९ किलोमिटर सडक कालोपत्रे गर्न संघीय बजेटको अपेक्षा गरिएको भए पनि त्यसमा समेत दाहालले कुनै पहल गरेनन्।

उनको भोट बैंकमै रहेको जिल्लाको दोस्रो ठूलो पर्यटकीय सम्भावित स्थल हरिहरपुरगढीको पुनर्निर्माणमा दाहालको योगदान रहने अनुमान विगतमा उनले सांसद जित्दै गर्दा धेरैले गरेका थिए, तर उनले त्यसतर्फ पनि कुनै चासो दिएनन्। चुनावी प्रचारमा दाहालले चियावारी–खुर्कोट सुरुङमार्ग र कोखाजोर जलाशययुक्त आयोजनालाई अगाडि बढाउन पहल गर्ने बताए पनि त्यसमा समेत उनको कुनै पहल र चासो भएको जनताले महसुस गर्न पाएनन्।

तिनै दाहाल अहिले फेरि “मलाई जिताइदिनुपर्‍यो” भन्दै जनताको घरदैलोमा भोटका लागि याचना गरिरहेका छन्। पुरानै वाचा दोहोर्‍याउँदै छन्। फेरि पनि जनताले पत्याउलान् त उनका पुरानै नारा र पुरानै वाचा? गम्भीर प्रश्नचिह्न खडा भएको छ।


माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम

सम्बन्धित खबर