सिन्धुलीको गोलन्जोरमा कोदो दिवस : रोपाइँसँगै रैथाने बालीको महत्त्वमाथि गम्भीर छलफल

सिन्धुली, १६ साउन  — ‘कोदोको बहार: दिगो, पौष्टिक र स्वादिष्ट आहार’ नारासहित सिन्धुलीको गोलन्जोर गाउँपालिका–१, सिमलटारमा कोदो रोपेर र यसको महत्वबारे छलफल गर्दै राष्ट्रिय कोदो दिवस भव्य रूपमा मनाइएको छ। खेतमै कोदो रोपाइँसहित आयोजित यो कार्यक्रम गोलन्जोर गाउँपालिका कृषि विकास शाखाको आयोजनामा सम्पन्न भएको हो।

नेपाल सरकार मन्त्रिपरिषद्को २०८२ साल असार २३ गते बसेको बैठकले हरेक वर्ष साउन १६ गते ‘राष्ट्रिय कोदो दिवस’ मनाउने निर्णय गरेको थियो। सोही निर्णयअनुसार यस वर्ष २०८२ को साउन १६ गते देशैभर प्रथम राष्ट्रिय कोदो दिवस भव्य रूपमा मनाइएको हो। त्यसै सन्दर्भमा सिन्धुलीको गोलन्जोरमा समेत उत्साहपूर्वक दिवस मनाइएको हो।

कार्यक्रममा बोल्दै गाउँपालिकाका निवर्तमान प्रमुख प्रशासकीय अधिकृत तथा कृषि अधिकृत चन्द्रकान्त चौधरीले कोदो साना तथा सिमान्त कृषकहरूको जीविकाको आधार भएकाले यसलाई सरकारी लगानी, नीतिगत प्राथमिकता र प्रतिस्पर्धात्मक क्षमतासहित प्रवर्द्धन गर्न आवश्यक रहेको बताए।

उनले भने, “रैथाने बालीहरू जोगाउन उत्पादन, ब्राण्डिङ, बजारीकरण र संरक्षण सबै पक्षमा ध्यान दिनुपर्छ।” साथै, राष्ट्रिय दिवसका रूपमा कोदो दिवसलाई क्यालेन्डरमा स्थायी रूपमा समावेश गरिएकोमा उनले सन्तोष व्यक्त गरे।

त्यसतै गाउँपालिका उपाध्यक्ष ज्वाला प्रसाद न्यौपानेले कोदो दिवस जस्ता अभियानले स्थानीय उत्पादन र रैथाने बालीको पहिचानलाई राष्ट्रिय मञ्चमा पुर्‍याउने विश्वास व्यक्त गरे।

उनले भने, “कोदोजस्ता रैथाने बाली हाम्रो पहिचान मात्र होइन, हाम्रो संस्कृति, स्वाभिमान र आत्मनिर्भर अर्थतन्त्रको आधार पनि हुन्। यस्तो बालीको प्रवर्द्धनमार्फत गाउँको अर्थतन्त्र बलियो बनाउन सकिन्छ।”

उनले कोदो दिवसलाई भव्य बनाउने कार्यमा संलग्न सबैलाई धन्यवाद दिँदै गाउँपालिकाले यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता समेत जनाए।

न्यौपानेले स्थानीय तह, प्रदेश र संघीय सरकारबीच समन्वय गरेर कोदो र अन्य रैथाने बालीको उत्पादन, प्रशोधन र बजारीकरणमा लगानी बढाउनुपर्नेमा पनि जोड दिए।

कार्यक्रममा सहभागी सरोकारवालाहरूले कोदो र कोदोजन्य उत्पादनको माग बढेसँगै स्वदेशी उत्पादनमा जोड दिनुपर्ने धारणा राखे। उनीहरूले युवालाई कोदो खेतीमा आकर्षित गर्ने, प्रविधिमैत्री खेती प्रणाली अपनाउने र घरेलु उत्पादनलाई स्वदेशमै खपत हुने वातावरण बनाउनु आवश्यक रहेको औंल्याए।

नेपालमा कोदोको अवस्था

खाद्य तथा कृषि संगठन (FAO) का अनुसार, नेपाल कोदो उत्पादनमा विश्वमा १३ औं स्थानमा पर्दछ। सन् २०२० को तथ्यांकअनुसार नेपालमा ३ लाख २० हजार ९५३ मेट्रिक टन कोदो उत्पादन भएको थियो। तर, माग अनुसार उत्पादन नहुँदा आयातको मात्रा हरेक वर्ष बढ्दो छ।

आर्थिक वर्ष २०७६/७७ मा नेपालले ७ करोड १५ लाख रुपैयाँ बराबरको कोदो आयात गरेको थियो। त्यो आँकडा २०७७/७८ मा ७ करोड २२ लाख पुगेको छ भने २०७९/८० मा झन्डै ७३ करोड २० लाख रुपैयाँ बराबरको कोदो आयात गरिएको छ।

राष्ट्रिय दिवसका रूपमा पहिलोपटक मनाइएको कोदो दिवसले स्थानीय तहदेखि केन्द्रसम्म रैथाने बालीको संरक्षण, प्रवर्द्धन र स्वदेशी उत्पादनलाई सशक्त बनाउने दिशामा नयाँ ऊर्जा थप्ने विश्वास गरिएको छ।

 


माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित खबर