सिद्धेश्वरले सिन्धुलीमाढीमा वितरण गरेको पानीमा ‘कोलिफर्म’ भेटियो!

सिन्धुलीमाढी, २६ असार / सिन्धुली सदरमुकाम सिन्धुलीमाढी बजारमा वितरण हुँदै आएको धाराको पानीमा कोलिफर्म (दिसाजन्य जीवाणु) भेटिएको पुष्टि भएको छ। कमलामाई नगरपालिकाले गरेको नमुना परीक्षणमा सिद्धेश्वर खानेपानी तथा सरसफाई उपभोक्ता समितिबाट वितरण भइरहेको पानीमा ६० देखि ८० प्रतिशतसम्म कोलिफर्म भेटिएको जानकारी सूचना अधिकारी सागर कुमार ढकालले माईशिर डटकमलाई दिएका छन्।
गडौली र ग्वाङ्खोलाबाट मुहान बनाएर सञ्चालित सिद्धेश्वर खानेपानी तथा सरसफाई उपभोक्ता समितिले करिब ४ हजार घरधुरीमा धारा जडान गरी पानी वितरण गर्दै आएको छ। यस्तै योजनाबाट वितरण गरिएको पानीमा दिसाजन्य जीवाणु भेटिएपछि स्थानीयवासीको स्वास्थ्यमा जोखिम बढेको छ।
यस विषयमा माईशिर डटकमले समितिका अध्यक्ष घनश्याम देवकोटासँग सम्पर्क गर्दा उनले भने, “हामी हरेक तीन महिनामा पानीको कोलिफर्म परीक्षण गराउँछौं। अहिलेसम्म कोलिफर्म देखिएको थिएन। नगरपालिकाले कहिले र कहाँ परीक्षण गर्यो भन्ने बारे हामीलाई थाहा छैन। यदि सहकार्य गरेर परीक्षण गरिएको भए नतिजा फरक आउन सक्थ्यो।”
तर नगरपालिका र समितिबीच समन्वयको कमी देखिएको छ। जनस्वास्थ्य जस्तो संवेदनशील विषयमा दुई निकायबीच स्पष्ट संवाद नहुँदा सार्वजनिक स्वास्थ्य सुरक्षित राख्ने संयन्त्रमा कमजोरी देखिएको छ।
यसैबीच जनस्वास्थ्य कार्यालय सिन्धुलीका प्रमुख विमल पटेलले पनि जिल्लाको पानीमा समस्या रहेको स्वीकार गर्दै भने, “हामीले सम्बन्धित निकायहरूलाई यसबारे जानकारी गराइसकेका छौं। खानेपानी वितरण र परीक्षण गर्ने जिम्मेवारी स्थानीय तहको पनि हो। स्थानीय तहले परीक्षण गरिसकेको भए पनि हामीलाई जानकारी पठाएको छैन। जानकारी पठाउनु आवश्यक छ, तर अहिलेसम्म हामीसँग कुनै सम्पर्क भएको छैन।”
स्वास्थ्य क्षेत्रमा पनि यसको असर देखिन थालेको छ। सिन्धुली अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. अभिषेक थपलियाले भने, “कोलिफर्म भएको पानी पिउँदा झाडा, पखाला, वान्ता जस्ता लक्षण देखा पर्न सक्छन्। अहिले अस्पतालमा दैनिक २–४ जना यस्ता बिरामी उपचारका लागि आइरहेका छन्।” डा. थपलियाले यस्तो अवस्थामा सिधै धाराको पानी नखान, पानी उमालेर वा फिल्टर गरेर मात्र पिउन र सकेसम्म जार वा अन्य सुरक्षित स्रोतको प्रयोग गर्न आग्रह गरेका छन्।
पानी मानव जीवनको आधारभूत आवश्यकता हो। यस्तो आवश्यक सेवामा गुणस्तरको कमी, निगरानीको अभाव र सम्बन्धित निकायबीच संवादहीनता देखिनु गम्भीर चिन्ताको विषय हो। उपभोक्ताको स्वास्थ्य जोखिममा पर्ने यस्ता घटनामा तत्काल समाधान खोज्नुका साथै दीर्घकालीन सुधारका उपायहरू अपनाउनु आवश्यक छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।