काफ्लेमाथि योजना बेचबिखनको आरोप, प्रमाण देखाउने चुनौति – बचाउमा घिमिरे उत्रिए

बागमती प्रदेशको बजेट निर्माणका क्रममा रकम असुली गरेर योजना समावेश गरेको गम्भीर आरोप प्रदेशका आर्थिक मामिलामन्त्री कुन्दनराज काफ्लेमाथि लागेको छ। नेपाली कांग्रेसका सांसद रामकुमार पहाडीले योजना खरिद–बिक्री भएको दाबी गर्दै त्यसको प्रमाण पेश गर्न आफू तयार रहेको बताएका छन्। उनले प्रमाणित गर्न नसके सांसद पद त्याग्ने र प्रमाणित भए मन्त्रीले राजीनामा दिनुपर्ने चुनौतीसमेत दिएका छन्।
बुधबार र बिहीबार बसेको कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठकमा सिन्धुलीका सांसद पहाडीसहितका सांसदहरूले मन्त्री काफ्लेले आफ्नो क्षेत्रका योजनामा मात्रै बजेट खन्याएको र अन्य ठाउँका योजनामा रकम असुलेर मात्रै राखेको आरोप लगाएका हुन्। पहाडीले भने, “रकम असुलेर कतिपय योजना पारिएका छन्, म प्रमाण दिन सक्छु। नसके म सांसद पद त्याग्छु,” भनेका छन्।
बजेट निर्माण प्रक्रियामा बिचौलियाको प्रभाव बढेको र मन्त्रीहरूकै संलग्नतामा योजना खरिद–बिक्री भएको भन्दै अन्य सांसदहरूले पनि आक्रोश पोखेका छन्। काठमाडौंका छिरिङ दोर्जे लामा, रसुवाका प्रभात तामाङ, ललितपुरका रामकृष्ण चित्रकारलगायतले बजेटप्रति गम्भीर असन्तुष्टि जनाएका छन्। सांसद चित्रकारले त बजेटलाई नै ‘मापदण्डविहीन’ भन्दै तीव्र आलोचना गरेका थिए। उनले बागमतीको बजेट गण्डकी प्रदेशसम्म पुर्याएको आरोपसमेत लगाए।
यस्तै, बजेट नै कब्जा गरिएको समाचार विभिन्न सञ्चारमाध्यममा आइरहेका बेला मन्त्री काफ्लेको पक्षमा नेपाली कांग्रेस सिन्धुलीका युवा नेता मुकेश घिमिरे खुलेका छन्। घिमिरेले भनेका छन् —
“कुन्दन काफ्ले कुण्ठाको आगोले सकिने नेता होइनन्। ‘श्रीपेच हामी जलाउँछौं, देश हामी चलाउँछौं’ भन्दै चावहिलको सडकमा गणतन्त्र र राजतन्त्रको सवालमा जनमत संग्रहको मतपेटिका राखेर जनता सचेत गराउने योद्धा हुन् कुन्दन। निरङ्कुश राजतन्त्रका नाइके ज्ञानेन्द्रलाई कुकुर अभिनन्दन गराएर आन्दोलनको आगो सल्काउने विद्रोही हुन् उनी।
एकातिर शाही सेनाको बख्तरबन्द, अर्कोतर्फ मुक्तिसेना आतंकको त्रासबीच जन्मिएको गणतन्त्रको बिगुल फुक्ने व्यक्ति हुन् कुन्दन। मैले पढ्न सुरु गर्नुअघि नै घट्टराज सरको क्याम्पसलाई २०६२/६३ को आन्दोलनको बलले नयाँ परिचय दिलाउने काम गरेका व्यक्ति हुन् उनी। विद्यार्थी आन्दोलनको शरीरमा आत्मा भर्ने कुशल सङ्गठक हुन् कुन्दन। दोलखामा लोकतन्त्रको पानीले सिँचाइ सम्भव छ भन्दै ८ हजारभन्दा बढी मतान्तरले प्रदेशसभा सदस्य निर्वाचित भएका नेता हुन् उनी।
अहिले सामाजिक सञ्जाल र केही मिडियामा भइरहेको ‘मिडिया ट्रायल’ उनको लामो योगदान नचिनेर गरिने असफल प्रयास मात्रै हो। कुन्दनलाई कुण्ठाको आगोले सकाउन सकिँदैन। उनी सकिए भने आफ्नै कमजोरीका कारण क्रमिक रूपमा सकिने हुन्।
एमालेका कार्यकर्ताले कुन्दनले बजेट कब्जा गरेर गुण्डागर्दी देखाएको भन्दाखेरि हास्यास्पद लाग्छ। हिजो कैलाश ढुंगेलले के गरेका थिए, बिर्सिएको ? आज विष्णु पौडेलले के गरिरहेका छन्, थाहा छैन ? बजेटको असमान वितरणको आलोचना गर्नु गलत होइन तर योजना आयोगमै आफ्ना क्षेत्रका योजना राख्न दबाब दिने नेताका समर्थकले कुन्दनमाथि मात्रै दोष थोपर्न पाउँदैनन्। बीआरआईजस्तो रणनीतिक साझेदारीमा समेत झापाका लागि मदन भण्डारी विश्वविद्यालय, चीन–नेपाल औद्योगिक मित्रपार्क, स्पोर्ट्स एन्ड एथलेटिक्स कम्प्लेक्स माग्दा नबोलेका एमाले कार्यकर्ताले कुन्दनलाई मात्रै किन दोष दिने ?
संविधानको मर्मअनुसार बजेट समान वितरण हुनुपर्छ भन्नेमा विवाद छैन। तर त्यो जिम्मेवारी कुन्दन एक्लैले मात्रै पूरा गरिरहनुपर्ने पनि होइन। समान वितरण व्यवहार आजसम्म कसले देखायो ? कमिसनको खेल भएको भनेर हल्ला मच्चाउन पुग्छ कि प्रमाणित गर्न पनि जरुरी छ ? प्रतिशोधका नाममा पत्रकारिताको हुर्मत नलिनुहोस्। तपाईंको कुण्ठाले जित्दा लोकतन्त्रले हार्नु हुँदैन। आन्दोलनका योद्धा कुन्दनलाई बागमती प्रदेश समृद्ध बनाउने अभियानमा खबरदारी र आलोचना मिसिएको स्वस्थ पत्रकारिता गरियोस्।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।