कांग्रेसले भत्काएको ‘गढ’ फिर्ता गर्ने दाउमा एमालेका कटुवाल

प्रतिनिधीसभा सिन्धुली–१ मा यसपटकको चुनाव केवल प्रतिनिधि छान्ने प्रक्रिया होइन, प्रतिष्ठाको लडाइँ बनेको छ। तीन दशकसम्म आफ्नो प्रभाव जमाउँदै आएको क्षेत्र २०७९ मा कांग्रेसले खोसेपछि एमाले यतिबेला ‘गढ’ फिर्ता गर्ने दाउमा छ। उता कांग्रेस भने एकपटक हात लागेको शक्ति जोगाउन कस्सिएको छ। दुवै दलका लागि यो चुनाव हार–जीतभन्दा बढी साखको सवाल बनेको छ।

२०४८ देखि २०७४ सम्म निरन्तर जित्दै आएको एमालेलाई २०७९ मा पाँचदलीय गठबन्धनले रोकेको थियो। कांग्रेसका श्यामकुमार घिमिरे ३० हजार ३९१ मतसहित विजयी हुँदा एमालेका प्रदीप कटुवाल २५ हजार ५४६ मतमा सीमित भए। त्यही परिणामले एमालेको ‘ लाल किल्ला’ भत्किएको  थियो। तर एमाले नेताहरू यसलाई अस्थायी धक्का मात्रै ठानिरहेका छन्।

यसपटक एमालेले फेरि कटुवाललाई मैदानमा उतारेको छ। प्रदेशसभा सदस्य हुँदै बागमती प्रदेशका स्वास्थ्य मन्त्रीसमेत भइसकेका कटुवाल संगठनमा जमेका नेता मानिन्छन्। एमालेको दाबी छ; गठबन्धन नभएको अवस्थामा परिणाम फरक पर्छ। २०७९ को समानुपातिक मत परिणामलाई आधार मान्दै एमाले नेताहरू अंकगणित आफ्नै पक्षमा रहेको तर्क गर्छन्। त्यतिबेला समानुपातिकतर्फ एमालेले २२ हजार ३४९ मत ल्याउँदा कांग्रेस १८ हजार २४२ मा सीमित थियो। माओवादी केन्द्रले १२ हजार ३८१ मत पाएको थियो। एमालेको बुझाइ छ—एक्लाएक्लै भिड्दा आफ्नै पल्लाभारी हुन्छ।

कांग्रेसले यसपटक उज्वलप्रसाद बराललाई अघि सारेको छ। दुई पटक पराजित भइसकेका बराललाई तेस्रो पटक टिकट दिइएको हो। पार्टीका केन्द्रीय सदस्यसमेत रहेका उनी संगठन एकढिक्का हुने दाबी गरिरहेका छन्। तर मतदातामाझ पुराना असन्तोष अझै मेटिएका छैनन्। अघिल्ला निर्वाचित प्रतिनिधिहरूले गरेका बाचा पूरा नभएको, चुनावपछि गाउँ फर्केर नआएको, विकासका काममा चासो नदेखाएको गुनासो कांग्रेसले सुनिरहनु परेको छ। बरालका लागि चुनाव जित्नुभन्दा पहिले विश्वास जित्नु चुनौती बनेको छ।

मैदानमा डेकेन्द्रप्रसाद सुवेदी पनि छन्। लामो समय एमाले राजनीतिमा रहेर समाजवादी धार हुँदै अहिले नेकपाबाट उम्मेदवार बनेका सुवेदी संसदीय राजनीतिमा नयाँ अनुहार हुन्। कानुन व्यवसायी पृष्ठभूमिका उनी ‘विकृति अन्त्य’को नारा लिएर मैदानमा उत्रिएका छन्। तर उनको राजनीतिक आधार कति दरिलो छ भन्ने प्रश्न खुलै छ। तत्कालीन माओवादीको मत पूर्ण रूपमा सुवेदीतर्फ सर्ने सम्भावना कम देखिन्छ। समाजवादी पृष्ठभूमिका कारण पूर्वमाओवादी समूहले उनलाई सहजै स्वीकार गर्ने अवस्था नरहेको चर्चा छ। बरु भित्री रूपमा अन्य पाटीका उम्मेदवारलाई मत बेच्ने र बदलामा क्षेत्र नम्बर २ जित्ने बार्गेनिङको प्रयास भइरहेको  चर्चा छ। यदि यस्तो समीकरण मिल्यो भने सुवेदीको गणित थप कमजोर बन्न सक्छ।

यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टीले पनि समीकरण बिगार्ने संकेत देखाएको छ। अघिल्लो निर्वाचनमा थोरै मत ल्याए पनि नयाँ शक्तिका रूपमा रास्वपाको उपस्थिति परम्परागत दलका लागि टाउको दुखाइ बनेको छ। नयाँ दलहरूले कस्को मत काट्छन् भन्ने अन्योलले मुख्य प्रतिस्पर्धीहरूलाई सजग बनाएको छ।


माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित खबर