मरिणमा नेकपाको किल्ला भत्कियो, सयौँ कार्यकर्ता एमालेमा प्रवेश
सिन्धुली । एक समय जनयुद्धको ‘आधार इलाका’ भनेर चिनिएको मरिण गाउँपालिका–३ भालुमारामा राजनीतिक ध्रुवीकरणको नयाँ संकेत देखिएको छ। नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का एक सयभन्दा बढी स्थानीय नेता–कार्यकर्ता सामूहिक रूपमा नेकपा एमालेमा प्रवेश गरेपछि मरिणमा नेकपाको किल्ला भत्किएको चर्चा सुरु भएको छ।
निर्वाचन लक्षित कार्यक्रममा सन्तबहादुर मोक्तानको नेतृत्वमा मिनबहादुर स्याङ्वा, बेलबहादुर मोक्तानसहित १ सयभन्दा बढी कार्यकर्ता एमालेमा समाहित भएका हुन्। कार्यक्रममा उनीहरूलाई प्रतिनिधिसभा सदस्य उम्मेदवार मनोजजंग थापाले अविर र खादा लगाएर स्वागत गरेका थिए।
स्थानीय नेताहरुका अनुसार भालुमारा क्षेत्र तत्कालीन माओवादी जनयुद्धको महत्वपूर्ण आधारभूमि मानिन्थ्यो। तर जनताका अपेक्षा पूरा नभएको, निर्वाचित नेताहरु फर्केर नआएको र विकासका काममा पछि पारिएको अनुभूति बढ्दै गएपछि असन्तुष्टि चुलिएको दाबी गरिएको छ।

एमाले मरिणका अध्यक्ष गोपाल बुढाथोकीले “सौतेलो व्यवहार” र विकास अभावका कारण सिंगो गाउँ नै एमालेतर्फ उभिएको बताए। नवप्रवेशी नेता सन्तबहादुर मोक्तानले माओवादी नेतृत्व जनताभन्दा टाढिएको आरोप लगाउँदै आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा एमाले उम्मेदवारलाई जिताउने उद्घोष गरे। “अब मरिणबाट माओवादीको पतन सुरु भएको छ,” उनको भनाइ थियो।
उम्मेदवार थापाले भालुमारा मात्र होइन, मरिण गाउँपालिकामा स्थापना भएको मासु प्रशोधन उद्योग सञ्चालनका लागि तत्कालीन एमाले नेतृत्वको सरकारले खेलेको भूमिकाको स्मरण गराए। श्रेय लिन खोज्ने प्रवृत्तिप्रति सचेत रहन आग्रह गर्दै उनले पार्टीमा समाहित कार्यकर्तालाई जिम्मेवारी दिई संगठन सुदृढ गर्ने प्रतिबद्धता व्यक्त गरे।
यसैबीच, प्रचार अभियानका क्रममा मरिण र हरिहरपुरगढी क्षेत्रमा एमालेप्रति देखिएको उत्साहले चुनावी प्रतिस्पर्धा रोचक बनेको छ। एमाले उम्मेदवार थापाले चुनावी अभियान शुक्रबार बिहानबाट कमलामाई नगरपालिकामा सुरुवात गरेका छन्।
माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम



फेसबुक प्रतिक्रिया