प्रतिनिधिसभा निर्वाचनका लागि सिन्धुलीमा व्यापक सेनाको परिचालन
सिन्धुलीमा आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण, भयरहित र निष्पक्ष रूपमा सम्पन्न गराउने उद्देश्यले नेपाली सेनाले जिल्लाभर प्रभावकारी सुरक्षा परिचालन गरेको छ। एकीकृत सुरक्षा योजना अनुरूप जिल्ला सुरक्षा समितिबाट विभिन्न मतदान केन्द्रहरूको चरणबद्ध अनुगमन सम्पन्न भएपछि सुरक्षालाई थप सुदृढ बनाउन मिति २०८२ माघ २१ गतेदेखि जिल्लाका विभिन्न स्थान तथा सबै मतदान स्थल नजिक सुरक्षा उपस्थिति विस्तार गरिएको हो।
निर्वाचन लक्षित विशेष तालिम तथा अभ्यासमार्फत सैनिकहरूलाई भीड व्यवस्थापन, आकस्मिक प्रतिकार्य र अन्तर–निकाय समन्वयमा दक्ष बनाइएको सेनाले जनाएको छ। दिन–रात पैदल तथा सवारी साधनमार्फत निरन्तर गस्ती सञ्चालन गर्नुका साथै अन्य सुरक्षा निकायसँग संयुक्त गस्तीसमेत तीव्र पारिएको छ।

भौगोलिक रूपमा चुनौतीपूर्ण तथा रणनीतिक दृष्टिले संवेदनशील क्षेत्रमा मोटरसाइकलमार्फत द्रुत गस्ती परिचालन गरिएको छ। यसबाट छोटो समयमा व्यापक क्षेत्र समेट्न सकिने तथा आवश्यक परे तत्काल प्रतिकार्य गर्न सकिने क्षमता अभिवृद्धि भएको जनाइएको छ। साथै, शंकास्पद गतिविधिमाथि प्रभावकारी निगरानी राख्न समेत यसले सहयोग पुर्याएको छ।

मतदान केन्द्र आसपास, दुर्गम गाउँ–बस्ती तथा मुख्य सडक खण्डहरूमा नियमित मोबाइल गस्ती र सुरक्षा फौजको तैनाथी गरिएकाले सर्वसाधारणमा निर्वाचनप्रति विश्वास र ढुक्कताको वातावरण थप सुदृढ बन्दै गएको बताइएको छ। जिल्ला प्रशासन र सुरक्षा निकायहरूबीचको समन्वयमा निर्वाचन अवधिभर उच्च सतर्कता कायम राखिने जनाइएको छ।
माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम



फेसबुक प्रतिक्रिया