सिन्धुलीमा भयरहित निर्वाचनका लागि सेनाको सक्रिय सुरक्षा गस्ती

सिन्धुली  — आसन्न निर्वाचनलाई शान्तिपूर्ण, भयरहित र निष्पक्ष वातावरणमा सम्पन्न गराउने लक्ष्यसहित नेपाली सेनाले सिन्धुली जिल्लाका विभिन्न संवेदनशील तथा दुर्गम क्षेत्रमा सुरक्षा उपस्थिति बाक्लो बनाएको छ। विशेषगरी भौगोलिक रूपमा चुनौतीपूर्ण र सडक सञ्जाल सीमित रहेका बस्तीहरूमा मोटरसाइकल गस्ती सञ्चालन गर्दै सेना सक्रिय रूपमा परिचालित भएको हो।

दुर्गम गाउँ–बस्ती, मतदान केन्द्र आसपास तथा मुख्य सडक खण्डहरूमा सेनाको नियमित मोबाइल पेट्रोलिङ देखिन थालेपछि सर्वसाधारणमा निर्वाचनप्रति विश्वास बढेको छ। छिटो पहुँच सुनिश्चित गर्न मोटरसाइकल प्रयोग गरिएको र सम्भावित जोखिमयुक्त स्थानमा निरन्तर निगरानी राखिएको सेनाले जनाएको छ।

सुरक्षा निकायहरूबीचको समन्वयमा सञ्चालन भइरहेको गस्तीले निर्वाचन बिथोल्ने कुनै पनि प्रयासलाई नियन्त्रणमा लिन सहयोग पुग्ने अपेक्षा गरिएको छ। आकस्मिक अवस्थाको त्वरित प्रतिकार्य, शंकास्पद गतिविधिको निगरानी तथा रणनीतिक क्षेत्रमा सुरक्षा सुदृढ बनाउने उद्देश्यले गस्तीलाई तीव्रता दिइएको हो।

स्थानीय बासिन्दाले सुरक्षाकर्मीको सक्रिय उपस्थितिले गाउँमा ढुक्कको वातावरण बनेको प्रतिक्रिया दिएका छन्। सेनाले निर्वाचन अवधिभर उच्च सतर्कता कायम राख्ने जनाउँदै भयरहित वातावरण सुनिश्चित गर्न आवश्यक तयारी पूरा गरिएको बताएको छ।


माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम

सम्बन्धित खबर