सिन्धुली–२ मा नेकपाकै ‘भाइ–भाइ’ भिडन्त

राजनलाई महेश्वरको खुला चुनौती, १६ उम्मेदवार भीड्दै

सिन्धुली। नेकपाको पकड क्षेत्र मानिने सिन्धुली क्षेत्र नम्बर–२ यसपटक चुनावी मैदान मात्र नभई पार्टीभित्रकै शक्ति संघर्षको अखडा बन्ने संकेत देखिएको छ। आगामी प्रतिनिधिसभा निर्वाचनमा सो क्षेत्रमा नेकपाकै आधिकारिक उम्मेदवार लेखनाथ दाहाल ‘राजन’ विरुद्ध पार्टीकै नेता बरिष्ठ पत्रकार महेश्वर दाहाल बागी बनेर मैदानमा उत्रिएपछि चुनाव रोचक मात्र होइन, पेचिलो पनि बनेको हो।

तत्कालीन माओवादी केन्द्रको किल्ला मानिने, पूर्वको रोल्पा उपमा पाएको सिन्धुली–२ मा राजनलाई सहज जितको आँकलन गरिँदै आएको थियो। तर टिकट वितरणप्रति असन्तुष्टि जनाउँदै प्रेस सेन्टर नेपालका संस्थापक अध्यक्षसमेत रहेका महेश्वरले विद्रोहको झण्डा ठड्याएपछि नेकपाभित्रकै मत चिरिने खतरा बढेको छ।

महेश्वरको बागी उम्मेदवारी ‘एक्लो निर्णय’ भने होइन। नेकपा नेता हरिबोल गजुरेल, जिल्ला इन्चार्ज वसन्त माझी, संयोजक पानीराज बम्जनलगायत केन्द्रीय तथा जिल्ला तहका नेताहरू खुलेरै उनको पक्षमा उभिएका छन्। उम्मेदवारी दर्ताका क्रममा गजुरेल प्रस्तावक र बम्जन समर्थक बनेका थिए।

राजन भने यसअघि पनि हरिबोल गजुरेललाई निषेध गरेर यही क्षेत्रबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भइसकेका नेता हुन्। पार्टीको टिकट हात पार्न सफल भए पनि आफ्नै पार्टीबाट आएको चुनौतीले उनको बाटो सहज देखिँदैन। नेता गजुरेल यसै क्षेत्रमा २०७० र २०७४ को निर्वाचनमा दुई पटक निर्वाचित भएका थिए।

१६ जनाको भिडन्त

निर्वाचन अधिकृतको कार्यालयका अनुसार सिन्धुली–२ मा कुल १६ जनाले उम्मेदवारी दर्ता गराएका छन्। नेकपा (एमाले) बाट मनोजजंग थापाले उम्मेदवारी दर्ता गरेका छन्। थापा २०७९ को निर्वाचनमा कांग्रेस–माओवादी गठबन्धनबाट उम्मेदवार बनेका लेखनाथ दाहालसँग पराजित भएका थिए।

त्यसैगरी, नेपाली कांग्रेसकी निवर्तमान सचेतक शुशिला थिङले पनि उम्मेदवारी दर्ता गरेकी छिन्। उनको विरुद्ध कांग्रेसकै पूर्व जिल्ला उपसभापति खड्गबहादुर वाइबाले बागी उम्मेदवारी दिएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवार बनेका यातायात विज्ञ इन्जिनियर आशिष गजुरेलले पनि चुनावी मैदान तताएका छन्।

राप्रपाबाट मुकुन्द प्रसाद गजुरेल र नेमकिपाबाट रामेश्वरी कोजु प्रतिस्पर्धामा छन्। यसैगरी, श्रम संस्कृति पार्टीबाट इन्द्रबहादुर विक, प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) बाट निर्मल कुमार स्याङतान, नेकपा माओवादीबाट बर्त्येबहादुर राई, मितेरी पार्टी नेपालबाट राजन अछामी तथा मंगोल नेसनल अर्गनाइजेसनबाट शान्तवीर लामा उम्मेदवार बनेका छन्।

स्वतन्त्रतर्फ भने महेश्वर दाहालसँगै खड्गबहादुर वाइबा, नरहरि पौडेल, माधव प्रसाद न्यौपाने र सरोज विक चुनावी दौडमा छन्।

नेकपा र कांग्रेस दुवै दलभित्रको ‘घरभित्रको झगडा’ ले कसलाई फाइदा पुर्‍याउने हो ? राजन र शुशिलाको संगठन बलियो पर्ला कि महेश्वर र खड्गको विद्रोह भारी पर्ला ? सिन्धुली–२ को मतगणना यसपटक पार्टीभन्दा पनि व्यक्तित्व र आन्तरिक असन्तुष्टिको परीक्षा बन्ने निश्चित छ।


माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम

सम्बन्धित खबर