सिन्धुलीमाढीमा प्रतिलिपी अधिकार र रोयल्टीबारे छलफल

सिन्धुली । प्रतिलिपी अधिकार कानूनको कार्यान्वयन अवस्था, देखिएका कमजोरी र श्रष्टाले पाउने रोयल्टीका विषयमा सिन्धुलीमाढीमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल प्रतिलिपी अधिकार रजिस्ट्रारको आयोजनामा जिल्ला प्रशासन कार्यालय सिन्धुलीको सभाहलमा कार्यक्रम गरिएको हो । कार्यक्रममा रजिस्ट्रार सविता कार्कीले प्रतिलिपी अधिकार संरक्षणको अवस्था र चुनौतीबारे कार्यपत्र प्रस्तुत गरिन् । पछिल्ला वर्षमा श्रष्टाहरूले आफ्ना रचना दर्ता गर्ने संख्या बढे पनि कानूनको कमजोर कार्यान्वयन र चेतनाको कमीका कारण नेपालमा अन्तर्राष्ट्रिय स्तरअनुसार रोयल्टी संकलन हुन नसकेको उनको भनाइ थियो ।

सिन्धुली प्रहरी प्रमुख एसपी लालध्वज सुवेदीले प्रतिलिपी अधिकार उल्लङ्घनसम्बन्धी उजुरीको अनुसन्धान र अभियोजन प्रक्रियाबारे कार्यपत्र प्रस्तुत गर्दै व्यवहारमा उजुरी कम आउने समस्या औंल्याए ।

कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला न्यायाधीश कमलराज विष्टले बौद्धिक सम्पत्तिको संरक्षणका लागि श्रष्टा स्वयं सचेत हुनुपर्नेमा जोड दिए । सिन्धुलीमा हालसम्म बौद्धिक सम्पत्ति चोरीसम्बन्धी मुद्दा दर्ता नभएको उल्लेख गर्दै उनले प्रतिलिपी अधिकारसम्बन्धी कानूनको जानकारी बढाउनुपर्ने बताए ।

प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले नेपालमा प्रतिलिपी अधिकारसम्बन्धी ऐन, कानूनको प्रयोग न्यून रहेको भन्दै यसबारे व्यापक जनचेतना आवश्यक रहेको बताए । डिजिटल प्रविधिको तीव्र विकाससँगै प्रविधिमैत्री ऐन, कानून निर्माणतर्फ राज्यले पहल गर्नुपर्ने उनको भनाइ थियो ।

कार्यक्रममा सहभागी श्रष्टा, सर्जक र सरोकारवालाहरूले प्रतिलिपी अधिकारसम्बन्धी कानूनको जानकारी अभावका कारण बौद्धिक सम्पत्ति चोरी भए पनि उजुरी दर्ता हुने संख्या कम रहेको बताएका छन् ।


माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम

सम्बन्धित खबर