निजी स्वास्थ्य व्यवसायीहरूलाई मर्यादित र कानुनी दायरामा रही सेवा प्रवाह गर्न आग्रह
सिन्धुली । सिन्धुली निजी स्वास्थ्य सेवा संघले जिल्लामा सञ्चालनमा रहेका निजी अस्पताल, डेन्टल क्लिनिक, आयुर्वेद क्लिनिक, प्रयोगशाला (ल्याब), पोलिक्लिनिक, सामुदायिक फार्मेसीलगायत सम्पूर्ण निजी स्वास्थ्य सेवा प्रदायक संस्थाहरूलाई स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रलाई मर्यादित, अनुशासित तथा कानुनी दायराभित्र रही सेवा प्रवाह गर्न आग्रह गरेको छ।
आइतबार संघका अध्यक्ष केशवप्रसाद देवकोटाले जारी गरेको विज्ञप्तिमा सिन्धुली जिल्लाभित्र निजी क्षेत्रमार्फत स्वास्थ्य सेवा प्रदान गर्दै आएका स्वास्थ्यकर्मी तथा व्यवसायीहरूको प्रतिनिधित्व गर्ने उद्देश्यले “सिन्धुली निजी स्वास्थ्य सेवा संघ” गठन गरिएको उल्लेख छ। संघ जिल्ला प्रशासन कार्यालय, सिन्धुलीमा दर्ता प्रक्रियाको अन्तिम चरणमा रहेको जानकारी दिँदै अध्यक्ष देवकोटाले नेपालको प्रचलित कानुन तथा स्वास्थ्य क्षेत्रसँग सम्बन्धित ऐन, नियम र नियमावलीको पूर्ण पालना गरी नागरिकको जीवन रक्षा गर्ने उद्देश्यसहित कुशल अभ्यासमार्फत सेवा दिन सबै स्वास्थ्यकर्मी तथा व्यवसायीहरूलाई आग्रह गरेका छन्।
अध्यक्ष देवकोटाका अनुसार संघको मुख्य लक्ष्य निजी स्वास्थ्य सेवा क्षेत्रलाई व्यवस्थित, जिम्मेवार र सेवाग्राहीमैत्री बनाउनु रहेको छ। सोही उद्देश्य अनुरूप जिल्लामा सञ्चालनमा रहेका निजी अस्पताल, डेन्टल क्लिनिक, आयुर्वेद क्लिनिक, प्रयोगशाला (ल्याब), पोलिक्लिनिक तथा सामुदायिक फार्मेसीलगायत सम्पूर्ण निजी स्वास्थ्य सेवा प्रदायक संस्थाहरूलाई संघमा आवद्ध हुन आह्वान गरिएको छ।
संघले स्वास्थ्य सेवा सञ्चालनका क्रममा कुनै पनि अमर्यादित तथा गैरकानुनी गतिविधि नगर्न र नगराउन सबै व्यवसायीहरूलाई सचेत गराउँदै नियमनकारी निकायबाट हुने अनुगमन तथा निरीक्षणका क्रममा यस्ता गतिविधि फेला परेमा प्रचलित कानुन बमोजिम कारबाही हुने स्पष्ट पारेको छ। संघ मिति २०८२ मंसिर ६ गते गठन भएको हो।
माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम


फेसबुक प्रतिक्रिया