गोलन्जोर गाउँपालिकामा जुनार प्रवर्धन मेला सुरु, बागमती प्रदेशका कृषि मन्त्री पौडेलद्वारा उद्घाटन

सिन्धुली। जिल्लाको गोलन्जोर गाउँपालिका–४ माझकुभिन्डेमा मंगलबारदेखि ‘जुनार प्रवर्धन मेला’ सुरु भएको छ। “गोलन्जोरको सान, जुनार हाम्रो पहिचान” भन्ने नारासहित आयोजना गरिएको मेलाको उद्घाटन बागमती प्रदेशका कृषि तथा पशु विकास मन्त्री मधुसुदन पौडेलले गरेका हुन्।

गोलन्जोर गाउँपालिकाले जुनारको पहिचान, प्रचार–प्रसार, संरक्षण, उद्योगको विकास तथा जुनार क्षेत्रमा पक्की सडक लगायत पूर्वाधारका मागबारे प्रदेश र संघीय सरकारको ध्यानाकर्षण गराउने उद्देश्यले मेला आयोजना गरेको हो। मेला मंसिर २५ गतेसम्म माझकुभिन्डेमै चल्ने बताइएको छ।

मेलाको दोस्रो दिन बुधबार कृषि विज्ञ र स्थानीय कृषकबीच जुनारमा देखिने रोग–किरा नियन्त्रण, उद्योगको सम्भावना लगायतका विषयमा अन्तर्क्रिया तथा सवाल–जवाफ कार्यक्रम हुने गाउँपालिकाले जनाएको छ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले जुनार उत्पादन वृद्धि, बजारीकरण तथा रोग–किरा नियन्त्रणका लागि आवश्यक सबै सहयोग गर्न मन्त्रालय तयार रहेको बताए। उनले कृषि एम्बुलेन्स खरिद, सितभण्डार निर्माण, जुनार विज्ञसहित प्राविधिक टोलीको व्यवस्था जस्ता गाउँपालिकाका सकारात्मक माग पूरा गर्ने प्रतिबद्धता जनाए।

त्यसैगरी उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री बिन्दु श्रेष्ठले जुनारसँग सम्बन्धित उद्योग स्थापना गर्न मन्त्रालयले पहल गर्ने प्रतिवद्धता जनाए।

कार्यक्रममा बागमती प्रदेशसभा सदस्य गंगानारायण श्रेष्ठ, सुस्पा भुजेल, रामकुमार पहाडी, जिल्ला समन्वय समिति सिन्धुलीका प्रमुख कारसाङ लामा, मरिण गाउँपालिका अध्यक्ष विमर्श मुक्तानलगायतका वक्ताहरूले जुनारको बजारीकरणका लागि पक्की सडक अपरिहार्य भएकाले तत्काल बजेट व्यवस्था गर्न सरकारसँग माग गरे। उनीहरूका अनुसार खनियाँखर्क–जौबारी सडकलाई बहुवर्षीय बजेटमार्फत पक्की बनाइनुपर्छ।

गोलन्जोर गाउँपालिका अध्यक्ष शंकरराज बरालले जुनार क्षेत्रका लागि सडक निर्माणका लागि पटक–पटक बजेट माग गर्दा कुनै तहको सरकारले बेवास्ता गरेको गुनासो गरे। उनले प्रदेश सरकारसँग धेरै अपेक्षा नराखेको बताउँदै पनि पक्की सडक, कृषि एम्बुलेन्स र सितभण्डार निर्माणमा तात्कालिक पहल गर्न कृषि मन्त्रीलाई आग्रह गरे। उपाध्यक्ष ज्वाला प्रसाद न्यौपाने (पुकार) ले पनि गोलन्जोर र सिन्धुलीको पहिचान बनेको जुनारको संरक्षण, उत्पादन वृद्धि र बजार पहुँचका लागि सहज सडक आवश्यक रहेकाे बताए।

सिन्धुलीको गोलन्जोर गाउँपालिकाका डुडभन्ज्याङ, वितिजोर, भुवनेश्वरी, रतनचुरा, बासेश्वर लगायतका क्षेत्रमा मुख्य रूपमा जुनार उत्पादन हुन्छ। कमलामाई–३ जलकन्या क्षेत्र, बाटो निगाले, तीनपाटन गाउँपालिकाको तोश्रमखोला तथा सुनकोसी गाउँपालिकाको मझुवामा पनि केही मात्रामा जुनार फलाइन्छ।

राष्ट्रिय कृषि आधुनिकीकरण परियोजनाका अनुसार जिल्लामा १,३१८ हेक्टरभन्दा बढी क्षेत्रफलमा जुनार र सुन्तला खेती भइरहेकाे छ। जसमध्ये ७९४ हेक्टरभन्दा बढी क्षेत्रमा लगाइएका बोटबाट जुनार उत्पादन हुँदै आएको छ। सिन्धुलीमा वार्षिक झण्डै १० हजार मेट्रिक टन जुनार उत्पादन हुने गरेको छ, जसले स्थानीय किसानको आयआर्जनमा महत्वपूर्ण योगदान पुर्‍याइरहेको छ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत २०७३ सालमा सिन्धुलीमा ‘जुनार जोन’ स्थापना गरिएको थियो। २०७४/७५ मा ‘सुपरजोन’ मा उन्नत भएपछि जुनार क्षेत्र विस्तार, कृषक तालिम, व्यवसायीकरण, यान्त्रीकीकरण, सिँचाइ तथा रोग–किरा नियन्त्रण लगायतका क्षेत्रमा निरन्तर काम हुँदै आएको छ।


माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम