एमाले सिन्धुलीमा सर्वसम्मति असम्भव: १८ महाधिवेशन प्रतिनिधीको लागि ८९ आकांक्षी भिड्दै

सिन्धुली। नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि छनोट यसपटक पारम्परिक सर्वसम्मत विधिबाट नभई प्रतिस्पर्धात्मक प्रक्रियामार्फत हुने देखिएको छ। जिल्ला–जिल्लामा प्रतिनिधि चयनका लागि सहभागी उम्मेदवारहरूको नाम सार्वजनिक भइसकेको छ, जसले पार्टी नेतृत्वसमेत प्रतिस्पर्धात्मक हुने संकेत दिएको छ।


अध्यक्ष केपी शर्मा ओली तेस्रो कार्यकालका लागि ह्याट्रिक गर्न चाहिरहेका छन् भने वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पनि अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरिसकेका छन्। ईश्वर पोखरेलले प्यानलसहित प्रतिस्पर्धामा उत्रिने घोषणा गरेसँगै ओलीको सर्वसम्मत अध्यक्ष बन्ने चाहनालाई स्पष्ट चुनौती दिने अवस्था देखिएको छ।

सिन्धुलीमा एमालेको महाधिवेशन प्रतिनिधि छनोट सर्वसम्मत नहुने लगभग पक्का भएको छ। केपी ओली र ईश्वर पोखरेल पक्षबीच प्यानल बनाएर प्रतिस्पर्धा हुँदै प्रतिनिधि छानिने परिस्थिति बनेको हो।
मंगलबारबाट प्रतिनिधि छनोटको प्रक्रिया थालिएको छ। सिन्धुलीबाट १८ जना मात्र महाधिवेशन प्रतिनिधि सहभागी हुन पाउने व्यवस्था भए पनि मंगलबार ८९ जनाले उम्मेदवारी दर्ता गरेको एमाले सिन्धुलीका सचिव नवराज थिङले जानकारी दिए।

उनका अनुसार, प्रतिनिधि सभा क्षेत्र सिन्धुली–१ बाट ५ जना खुला, ३ जना महिला समावेशी र १ जना युवा गरी ९ जना प्रतिनिधि छनोट हुनुपर्नेमा ६४ जनाले उम्मेदवारी दर्ता गराएका छन्।

यस्तै, सिन्धुली–२ बाट ४ जना खुला, ३ जना महिला समावेशी र १ जना युवा गरी ८ जना प्रतिनिधि छनोटको कोटामा ३९ जनाले मनोनयन दर्ता गरेका छन्।

एमाले सिन्धुलीले मंगलबार मनोनयन दर्ता र मंसिर १३ गते शनिबार निर्वाचनमार्फत प्रतिनिधि चयन गर्ने बताएको छ। सचिव थिङका अनुसार, बुधबार र विहिबार सहमतिका लागि प्रयास गरिने भए पनि सहमति जुटेन भने निर्वाचनबाटै प्रतिनिधि चयन गरिनेछ।

त्यसैगरी, उत्पीडित समुदायका लागि छुट्टै क्लस्टरबाट १ जना प्रतिनिधि छानिनुपर्नेमा ४ जनाले मनोनयन दर्ता गरेका छन्। आवश्यकभन्दा बढी उम्मेदवारी परेकाले सहमति नभए शनिबार निर्वाचनमार्फत प्रतिनिधि छनोट गरिने उनले बताए।

यसअघि १०औं महाधिवेशनका बेला सर्वसम्मतिका नाममा उम्मेदवार हुन नदिएको आलोचना खेपेको भन्दै यसपटक प्रतिनिधि आकांक्षीहरूको संख्या उल्लेख्य रूपमा बढेको नेता कार्यकर्ताको मूल्यांकन छ।
दशौं महाधिवेशनका बेला सिन्धुलीबाट प्रतिनिधि चयन गर्दा शीर्ष नेतृत्वबाटै सर्वसम्मत घोषणा गरिएको भन्दै केही नेता र कार्यकर्ताले असन्तुष्टि प्रकट गरेका थिए।

एमाले सिन्धुलीका उपाध्यक्ष कर्ण घिसिङले यसपटक ‘सहमति’का नाममा माथिबाटै प्रतिनिधि घोषणा नहुने स्पष्ट पारेका छन्। उनका अनुसार, आकांक्षीहरूलाई सहमतिमा आउन अनुरोध गरिनेछ, नमानिएमा चुनावमार्फत प्रतिनिधि चयन हुनेछ।
उनले भने, “महाधिवेशन प्रतिनिधिका लागि धेरै साथीहरूले आकांक्षा राख्नुभएको छ। हामीले १२ गतेसम्म सहमतिका लागि प्रयास गर्छौं। सहमति नभए चुनावबाट प्रतिनिधि छनोट हुन्छ, बलजफ्ती हुँदैन।”

निर्वाचनका लागि ३ मतदान केन्द्र तोकिएका छन्—क्षेत्र नं. १ का लागि भीमान, क्षेत्र नं. २ का लागि जिल्ला पार्टी कार्यालय भवन, र उत्पीडित क्लस्टरका लागि शिक्षक संगठनको भवन।

एमालेले ११औं महाधिवेशनका लागि जारी गरेको अन्तरपार्टी निर्देशन (अपानी) अनुसार, १,२०० सदस्य भएको क्षेत्रबाट २ जना खुला, १ महिला र १ युवा गरी ४ जना प्रतिनिधि छनोट गर्नुपर्ने व्यवस्था छ।
त्यसैगरी, १,२०० भन्दा बढी सदस्य भएको क्षेत्रमा प्रत्येक ८०० सदस्यका लागि थप १ जना प्रतिनिधि हुने व्यवस्था गरिएको छ।

सिन्धुलीमा एमाले पार्टी सदस्य संख्या ९ हजार ३२७ रहेको उपाध्यक्ष घिसिङले जानकारी दिए।
एमालेले मंसिर २७ देखि २९ गतेसम्म काठमाडौंमा ११औं महाधिवेशन गर्ने कार्यक्रम छ

 


माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम

सम्बन्धित खबर