सिन्धुलीमा ट्रक र मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु, चार घाइते
सिन्धुली, कात्तिक २६। जिल्लाको दुधौली नगरपालिका–४ लक्ष्मीपुरस्थित मदन भण्डारी राजमार्गमा आज दिउँसो भएको सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन्।
भिमानबाट दुधौलीतर्फ जाँदै गरेको ट्रक (प्रदेश १–०२–००२ ख ४११) र विपरीत दिशाबाट आउँदै गरेका दुई मोटरसाइकल (प्रदेश २–०१–००१ प २१४२ र म.प्र.०२–००६ प ५८४१) एक आपसमा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय, सिन्धुलीले जनाएको छ।
दुर्घटनामा दुधौली नगरपालिका–११ टाडीका ३४ वर्षीय रामकुमार कुमर र दुधौली नगरपालिका–३ का २५ वर्षीय फुलबाबु धामीको उपचारका क्रममा दुधौली नगर अस्पताल सिर्थौलीमा मृत्यु भएको हो।
त्यस्तै, दुधौली–३ का २६ वर्षीय विप्लभ धामी, २७ वर्षीय बुद्धी थारू, २५ वर्षीय सुनिल माझी र ३२ वर्षीय कुशे धामी घाइते भएका छन्। तिनमध्ये तीनजनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिएका छन्। उनका अनुसार, केही घाइते बोल्नसमेत नसक्ने अवस्थामा छन्।
दुर्घटनामा म.प्र.०२–००६ प ५८४१ नम्बरको मोटरसाइकलमा आगलागी भई पूर्ण रूपमा नष्ट भएको छ। ट्रक चालक धनकुटा छथर जोरपाटी गाउँपालिका–६ का २५ वर्षीय शेरबहादुर विष्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
घाइतेहरूलाई उपचारका लागि दुधौली नगर अस्पतालमा पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय डकाहाकी प्रहरी निरीक्षक सपना खड्काले जानकारी दिएकी छन्।
माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम


फेसबुक प्रतिक्रिया