वीरता र विडम्बना बीचको सिन्धुलीः नयाँ रूपान्तरणको खोजमा
नेपालको राजनीतिक परिदृश्यमा फागुन २१ को चर्चा सुरु भएको छ। तर हामी सिन्धुलीवासीहरूले आजभोलि यो सोच्न थालेका छौँ – केवल एउटा मितिमा सीमित रहने हो की हाम्रो सिन्धुलीको विकासको आधार तयार गर्ने हो ? केवल चुनाव जित्ने र हार्ने कुरामा मात्र केन्द्रित रहने हो की सिन्धुलीको भविष्य निर्माणको दिशातर्फ हाम्रो ध्यान जाने? अब हामीले बहस यता केन्द्रित गर्नु पर्ने छ
लामो समय देखि हामी विभिन्न कारणले चुनावलाई सामान्य जित हारको रूपमा मात्र बुझ्यौँ। एउटालाई जिताउने र अरूलाई हराउने षड्यन्त्रको खेलको रूपमा चुनावलाई उपयोग गरिँदा आधारभूत कुरालाई हामीले बिर्सियौँ। गर्नै पर्ने र अत्यावश्यक कुरालाई छाडेर भावना, आश्वासन र भ्रमको सिकार भई माथि उल्लेखित प्रश्न बाट हामी सधैँ भागिरह्यौँ। यो प्रश्नहरूको उत्तर खोज्ने क्रममा हामीले जेनेरेसन जेड आन्दोलनबाट धेरै कुरा सिक्न सक्छौँ अथवा त्यो आन्दोलनले हामीलाई धेरै कुरा सोच्न र बदल्न प्रेरित गर्यो। त्यो आन्दोलनले देखायो कि नेपाली युवा अब परिवर्तन चाहन्छन्, रोजगारी चाहन्छन्, र आफ्नो भविष्य आफैँ निर्माण गर्न चाहन्छन्। यही सोच र सङ्कल्पलाई हामीले सिन्धुलीको विकासको लागि पनि अङ्गीकार गर्नुपर्छ। त्यसको सकारात्मक भवलाई आत्मसात् गरी आगामी दिनको त्यसको प्राप्तिलाई जोगाउने र थप उपलब्धि पाउन निरन्तर क्रियाशील भइरहन पर्दछ भन्ने नेतृत्व विकास गर्न जरुरी छ। तसर्थ सबै आग्रह र पूर्वाग्रहबाट माथि उठेर सिन्धुलीको साझा भविष्यको खातिर एकताबद्ध हुन जरुरी छ।
सिन्धुलीको इतिहास हेर्दा हामी गौरवान्वित हुन्छौँ। सिन्धुली गढीको वीरताको गाथा हाम्रा कानमा गुन्जिरहन्छ। तर आजको सिन्धुली एउटा विरोधाभासको जीवन बाँचिरहेको छ। हामीसँग अत्यन्त धेरै उत्पादन हुने समथर उब्जाउ युक्त भूमि छ, तर त्यसको लागि सिँचाई, बीउ बिजन र नयाँ प्रविधि छैन। हामीसँग ऐतिहासिक सम्पदा छ, तर पर्यटन विकास छैन। हामीसँग सामर्थ्य छ, तर अवसर छैन। यो विरोधाभासको अन्त्य हुनपर्छ। त्यसको लागि अब हामीले यस्ता कुरालाई उठाउन सक्ने, बुझ्न सक्ने र त्यसको समाधान गर्नको लागि दिनरात खटन सक्ने नेतृत्व विकास गर्न जरुरी छ। अहिलेको चेतनाको प्रतिनिधित्व गर्ने सक्षम नेतृत्व निर्माण गर्न सके मात्र हामीले समृद्ध सिन्धुलीको निर्माण गर्न सक्छौ।
सिन्धुलीको विकासको कुरा गर्दा सबैभन्दा पहिले कृषिको कुरा आउँछ। हाम्रा किसान दाजुभाइहरू भूगोल अनुरूप धान, गहुँ, मकै जस्ता खाद्यान्न बाली तथा जुनार, अदुवा, कागती, तोरी, जस्ता नगदे बाली उत्पादन गर्छन्। दिनरात खेती गर्दा पनि वर्ष दिन पुग्ने उत्पादन हुदैंन। परम्परागत कृषि प्रणालीले हाम्रो जीविकोपार्जन हुन पनि नसक्ने वातावरण छ। अझ उत्पादित बस्तुमा अर्कैको मोलमोलैया हुन्छ। बिचौलिया मोटाउने तथा कृषक दुब्लाउने परिस्थिति छ। तिनको पसिना र मिहिनेतले उमारेको उत्पादनले उचित मूल्य पाउँदैन। यसको समाधानका लागि हामीलाई कोल्ड स्टोरेज र प्रोसेसिंग प्लान्ट चाहिन्छ । यसको लागि हाम्रो नेतृत्वले काम गर्न पर्ने थियो। स्थानीय तथा केन्द्रीय स्तरबाट यसको समाधान गर्न सकिने थियो तर हामीले यो अवसर कहिले पनि पाएनौ। तिनीहरूको ध्यान यता कहिल्यै गएन। हामीलाई डिजिटल मार्केटिङको ज्ञान चाहिन्छ जसबाट हाम्रा किसान सीधै बजारसँग जोडिन सकुन्। हामीलाई सहकारी संस्थाहरू चाहिन्छ जसबाट समूहमा उत्पादन र बिक्री गर्न सकियोस्। यस्ता कुराहरू गर्न सके हामीले दिगो समाधान ल्याउन सक्छौँ र उचित मूल्य दिन सक्छौँ जसबाट सम्पूर्ण जनताको जीवनस्तर उकासिने छ।
पर्यटनको क्षेत्रमा सिन्धुलीको अपार सम्भावना छ। सिन्धुली तथा हरिहरपुर गढीलाई ऐतिहासिक पर्यटनको रूपमा विकास गर्न सकिन्छ। तीनपाटन, कमलामाई र सुनकोसी लगायतका स्थानलाई धार्मिक पर्यटनको केन्द्र बनाउन सकिन्छ। हाम्रो प्राकृतिक सौन्दर्यलाई इको – टुरिजमको रूपमा विकास गर्न सकिन्छ। यी सबैलाई जोडेर एउटा ‘सिन्धुली टुरिजम सर्किट’ बनाउन सकिन्छ जसले गर्दा स्थानीय युवाहरूलाई रोजगारीको अवसर मिल्नेछ। पर्यटन मार्फत जिल्लावासीको जीवनस्तर उकास्न सकिन्छ। म आफ्नो अध्ययनको सिलसिलामा हाम्रो मित्रराष्ट्र चीनको कुनमिङ मा गएको थिएँ। त्यहाँ मलाई एउटा गाउँमा लगियो जुन दाली समुदायको बसोबास रहेको क्षेत्र थियो। केही वर्ष अगि सम्म अत्यन्त पछौटे रूपमा रहेको
समुदाय कसरी विकासको मूलधारमा समाहित भयो भनेर देखाउन त्यहाँ लगिएको थियो। त्यहाँ जाँदा मैले देखेँ उनीहरूको घर वरिपरि फलफूल लगाइएको थियो र रुखमा क्युआर (QR) टाँसिएको थियो। हामीले आफ्नो इच्छा अनुरूप ती फलफूल टिपेर खान सक्थ्यौ तर टिप्न अगाडि उक्त क्युआर मा स्क्यान गरेर पैसा तिर्न पर्थ्यो। हामीले पनि हाम्रा जुनार खेतीलाई यसै गरी पर्यटनसँग जोडन सक्नु पर्दछ। जसबाट किसानले प्रत्यक्ष लाभ पाउन सकुन्।
शिक्षा र स्वास्थ्यको कुरा गर्दा पनि सिन्धुलीले चुनौतीको सामना गर्दै छ। हाम्रा युवाहरू रोजगारी र शिक्षाको लागि काठमाडौँ धाउन बाध्य छन्। यसलाई रोक्नका लागि स्थानीय स्तरमा Tourism Management, Agriculture Science जस्ता व्यावहारिक शिक्षाको व्यवस्था गर्नुपर्छ। जुनारको अन्तर्राष्ट्रिय स्तरको प्रयोगशाला निर्माण गरेर विश्वव्यापी रूपमा जुनारको प्रसार गर्न सक्ने हुन जरुरी छ। त्यसै गरी पूर्ण प्रयोगशाला भएको अस्पतालको स्थापना गर्नुपर्छ। सानो समस्या हुँदा पनि काठमाडौँ धाउन पर्ने हाम्रो बाध्यतालाई हटाउनको लागि एउटा सबै दुबिधायुक्त शिक्षण अस्पताल निर्माण गरिनु पर्दछ।
आधारभूत संरचनाको विकास पनि उत्तिकै महत्त्वपूर्ण छ। हामीलाई गुणस्तरीय सडक सञ्जाल चाहिन्छ। वर्षायाममा लाग्ने बित्तिकै हाम्रा अधिकांश बाटोहरू बन्द हुन्छन्। बिना अध्ययन बनाइएका यी बाटाहरू हाम्रो समस्याको समाधान हुन सकेका छैनन् उल्टो तिनीहरू विभिन्न समस्या बनेर आइरहेका छन्। अहिले विश्वले दूरसञ्चारको क्षेत्रमा अभूतपूर्व विकास गरेको छ तर हामीहरू अझै पनि पानी पर्दा नेटवर्क नहुने समस्याबाट पार पाउन सकेका छैनौ। विश्वसनीय इन्टरनेट सेवा अझै हाम्रो समुदायको पहुँचबाट टाढा छ । निर्बाध बिजुली आपूर्ति हुन सकिरहेको छैन। यी सबै कुराहरूले मिलेर मात्र सिन्धुलीको विकासको आधार निर्माण हुन्छ। यो सम्पूर्ण क्षेत्रमा अब पुरानो नेतृत्वले योगदान गर्न सक्दैन। तसर्थ फागुन २१ लाई हामी जिल्लावासीले अवसरको रूपमा प्रयोग गर्नु पर्दछ।
जेनेरेसन जेड आन्दोलनले हामीलाई धेरै कुरा सिकायो, अझ हामीलाई चिर निन्द्राबाट ब्युँझाएको छ। त्यो आन्दोलनले हामीलाई धेरै कुरा बुझाउन सफल पनि भएको छ। अब हामीले हाम्रा समस्याको सही पहिचान गरी नीति र कार्यक्रममा ध्यान केन्द्रित गर्नुपर्छ। जबाफदेहिता र पारदर्शिताको माग गर्नुपर्छ। तत्काल र मूर्त
परिणामको अपेक्षा गर्नुपर्छ। यही सीपलाई हामीले सिन्धुलीको विकासको लागि लागू गर्नुपर्छ। यस्तो नेतृत्व निर्माणमा हामीले ध्यान दिन पर्दछ। हामीले सिन्धुलीको लागि एउटा विस्तृत विकास दस्ताबेज चाहेका छौँ। यो दस्ताबेजमा स्पष्ट लक्ष्यहरू, कार्यान्वयन योजना, वित्तीय व्यवस्था, समय सीमा, र मनिटरिङ्ग प्रक्रिया समावेश हुनुपर्छ। त्यसलाई किन र कसरी कार्यान्वयन गर्न सक्छु भनेर खुल्ला रूपमा बहस गर्न सक्ने, त्यसलाई सही ढङ्गले प्रस्तुत गर्न सक्ने विश्वास दिलाउने नेतृत्व अब चाहिएको छ। यो दस्ताबेज मात्र होइन, सिन्धुलीवासीको सङ्कल्पको प्रतीक हुनुपर्छ। जसले हाम्रा मुर्झाएका विकास र समृद्धिका चाहनालाई बौराउन सकोस्, फुलाउन सकोस् र निकट भविष्य मै फलाउन सकोस्।
फागुन २१ को दिनलाई अब हामीले नितान्त चुनावको रूपमा मात्र नलिएर नेपाली राजनीतिमा नयाँ आशाको सूत्रपातको रूपमा लिन सक्नु पर्दछ। सिन्धुलीको सन्दर्भमा, यो मिति केवल एउटा मोड नभएर, हाम्रो सामूहिक चेतनाको परीक्षणको घडी हुनेछ। जेनेरेसन जेड आन्दोलनले सिर्जना गरेको जागरूकताले हामीलाई एउटा महत्त्वपूर्ण सत्य बोध गराएको छ। यो वास्तविक परिवर्तन संरचनात्मक रूपान्तरणबिना असम्भव छ। यो रूपान्तरण केवल सत्ताको हस्तान्तरणमा सीमित नरही, हाम्रो आर्थिक ढाँचा, सामाजिक मूल्यमान्यता, र शासन प्रणालीमा समग्र परिवर्तनको रूपमा हुनेछ।
सिन्धुलीको विकासको यात्रामा, हामीले तीन वटा मूलभूत सत्यलाई स्वीकार गर्नुपर्छ। प्रथम, हामीले हाम्रो ऐतिहासिक विरासतलाई आधुनिक विकासको साधन बनाउनुपर्छ। सिन्धुली गढीको वीरताको इतिहास केवल गौरव गाथा मात्र होइन, यो हाम्रो रणनीतिक सोच र सामूहिक कार्यशीलताको प्रेरणा हो। दोस्रो, हामीले विकासको नयाँ परिभाषा ल्याउनुपर्छ, जसको केन्द्रमा मानव पुँजीको विकास, आर्थिक स्वावलम्बन र सुशासन रहनुपर्छ। तेस्रो, हामीले यो बुझ्नुपर्छ कि परिवर्तनको प्रक्रिया क्रमिक हुन्छ र यसमा दीर्घ सूत्री सङ्कल्पको आवश्यकता पर्दछ।
सिन्धुलीको संरचनात्मक परिवर्तनको लागि हामीले शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राख्नुपर्छ। शिक्षाको क्षेत्रमा हामीले स्थानीय आवश्यकतालाई पूरा गर्ने व्यावहारिक शिक्षाको व्यवस्था गर्नुपर्छ। स्वास्थ्यको क्षेत्रमा, हामीले मौलिक स्वास्थ्य सेवालाई सबैको पहुँचमा राख्नुपर्छ। हामीले पारदर्शिता, जबाफदेहिता र सहभागितामा आधारित शासन प्रणाली निर्माण गर्नुपर्छ।
जेनेरेसन जेड आन्दोलनले हामीलाई के सिकाएको छ भने परिवर्तनको शक्ति युवाहरूको हातमा छ। सिन्धुलीका युवाहरूले आफ्नो भूमिका केवल मतदातासम्म सीमित नराखी, नीति निर्माणदेखि कार्यान्वयनसम्म सबै स्तरमा सक्रिय भूमिका निर्वाह गर्नुपर्छ। हामीले स्थानीय स्तरमा विज्ञ सल्लाहकार समितिहरू गठन गर्नुपर्छ, सामुदायिक निगरानी समूहहरू स्थापना गर्नुपर्छ, र स्थानीय विकास कार्यक्रमहरूमा सक्रिय सहभागिता जनाउनुपर्छ।
अबको लडाई भ्रष्टाचार, बेरोजगारी र गरिबीविरुद्धको हो। यो लडाई सजिलो छैन, तर असम्भव पनि होइन। हामीले सही रणनीति, सही नेतृत्व र सही दृष्टिकोण अपनाएर यो लडाई जित्न सक्छौँ। हाम्रो लक्ष्य केवल चुनाव जित्ने होइन, सिन्धुलीको भविष्यलाई सुरक्षित गर्ने हो। हामीले सिन्धुलीको गौरवशाली अतीतलाई आधुनिक विकासको आधार बनाउनुपर्छ। फागुन २१ मात्र हाम्रो लक्ष्य होइन, यो हाम्रो यात्राको प्रारम्भिक बिन्दु हो। हामी सबै सिन्धुलीवासीहरूले एकजुट भएर यो ऐतिहासिक जिम्मेवारी बोक्नुपर्छ र सिन्धुलीको भविष्यलाई उज्ज्वल बनाउनुपर्छ।
-भूगोलविद् डा. न्यौपाने समसामयिक विषयहरूमा नियमित रूपमा कलम चलाउने गर्नुहुन्छ। उहाँले चीनको बेइजिङस्थित चिनियाँ विज्ञान प्रतिष्ठान विश्वविद्यालयबाट विद्यावारिधी (PhD) हासिल गर्नुभएको हो।
माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम


फेसबुक प्रतिक्रिया