विपी राजमार्गमा राति सवारीसाधन सञ्चालनमा रोक

सिन्धुली, कार्तिक १३ । बंगालको खाडीमा विकसित ‘मोन्था’ चक्रवातले भारतको दक्षिणी तटीय क्षेत्रमा व्यापक असर पुर्‍याइरहेको छ, जसको प्रभाव नेपालमा समेत देखिने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार कोशी, मधेस र बागमती प्रदेशका २६ वटा जिल्ला मोन्था चक्रवातबाट प्रभावित हुने छन्। कोशी र मधेसका केही स्थानमा अत्यधिक वर्षाको सम्भावना पनि गरिएको छ।

यसै सन्दर्भमा आगामी कार्तिक १३ देखि १५ गतेसम्म सिन्धुलीमा पनि भारी वर्षा हुने सम्भावना रहेकाले जिल्ला प्रशासन कार्यालय, सिन्धुलीले सवारीसाधन सञ्चालनमा अस्थायी रोक लगाउने निर्णय गरेको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले कात्तिक ११ गते जारी गरेको सूचनामा देशका केही क्षेत्रमा भारी वर्षा, बाढी र पहिरोको जोखिम रहेको चेतावनी दिएपछि प्रशासनले उक्त निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले जानकारी दिए।

प्रशासनका अनुसार कार्तिक १३ र १४ गतेका साँझ ५ बजेदेखि विहान ५ बजेसम्म विपी राजमार्गको खुर्कोट–नेपालथोक खण्डमा रातिको समयमा सवारी सञ्चालन निषेध गरिनेछ। सिन्धुलीबाट काठमाडौंतर्फ जाने सवारीसाधनहरूलाई खुर्कोट बजारमै रोक्ने व्यवस्था गरिएको छ।

जिल्ला प्रशासन कार्यालयले विशेषगरी विपी राजमार्ग र मध्यपहाडी राजमार्गमा यात्रा गर्दा अत्यधिक सतर्कता अपनाउन आग्रह गरेको छ। साथै, दिउँसोको समयमा समेत भारी वर्षा परेमा सुरक्षासम्बन्धी निकायले आवश्यक ठानेका स्थानमा सवारीसाधन रोक्न सक्ने जनाएको छ।

सिन्धुली जिल्ला बाढी र पहिरोको उच्च जोखिममा रहेकाले प्रशासनले मानवीय तथा भौतिक क्षति हुन नदिन सबै जिल्लावासी, यात्रु तथा सम्बन्धित निकायलाई सावधानी अपनाउन आग्रह गरेको छ।


माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम

सम्बन्धित खबर