सिन्धुली अस्पतालका नर्सहरू पनि आन्दोलनमा

१३ कार्तिक, सिन्धुली । नेपाल नर्सिङ संघको आव्हानमा देशभर जारी नर्सहरूको आन्दोलनमा सिन्धुली जिल्ला अस्पतालका नर्सहरू पनि सहभागी भएका छन्।

नर्सहरूले हिजोदेखि अस्पताल परिसरमा नाराबाजीसहित धर्ना सुरु गरेका छन्। उनीहरूले सरकारले तोकेको न्यूनतम पारिश्रमिक र सेवा–सुविधा कार्यान्वयन गर्नुपर्ने, अस्थायी तथा करारमा कार्यरत नर्सहरूको तलब वृद्धि गर्नुपर्ने लगायतका माग अघि सारेका छन्।

नेपाल नर्सिङ संघले १५ बुँदे मागपत्रसहित स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा ध्यानाकर्षण गराएको छ। संघका अध्यक्ष प्रा. चन्द्रकला शर्मा र महासचिव डा. देवका कुमारी आचार्यको हस्ताक्षर रहेको उक्त मागपत्रमा नर्सहरूको सेवा सुरक्षा, कार्य वातावरण सुधार, तलब–सुविधा समानता, जनशक्ति व्यवस्थापन, तालिमका अवसर, अवकास र बीमा सुविधा लगायतका विषय समावेश छन्।

संघको निर्देशनअनुसार सिन्धुली अस्पतालका नर्सहरूले कार्तिक २ गतेदेखि ११ गतेसम्म हातमा कालोपट्टी बाँधेर काम गरेका थिए। त्यसपछि कार्तिक १२ गतेदेखि बिहान १० बजेदेखि १२ बजेसम्म एमर्जेन्सीबाहेकका सबै नर्सिङ सेवा बन्द गर्दै धर्ना सुरु गरिएको हो।

धर्नामा सहभागी स्टाफ नर्स संगिना मानन्धरका अनुसार, “अस्पताल प्रशासन हाम्रो मागप्रति सकारात्मक देखिएको छ, तर अहिलेसम्म कुनै औपचारिक वार्ता वा सहमति भएको छैन।”

नेपाल नर्सिङ संघले माग पूरा नभएसम्म देशभरका स्वास्थ्य संस्थामा आन्दोलन निरन्तर सञ्चालन गर्ने चेतावनी दिएको छ।


माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम

सम्बन्धित खबर