‘जेनजी’ प्रदर्शनका सहिद योगेन्द्र न्यौपानेको सम्मानमा अन्तरपालिका भलिबल प्रतियोगिता

सिन्धुली, ३ कात्तिक। सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले ‘जेनजी’ प्रदर्शनका क्रममा सहादत प्राप्त गरेका योगेन्द्र न्यौपाने (रोशन) को सम्झनामा अन्तरपालिका स्तरीय भलिबल प्रतियोगिता आयोजना गरेको छ।

गोलञ्जोर गाउँपालिका–१ च्याकुटारबेँसी खेलमैदानमा भएको प्रतियोगिताको उद्घाटन आइतबार गाउँपालिका अध्यक्ष शंकरराज बराल र उपाध्यक्ष ज्वालाप्रसाद न्यौपानेले निर्णायक (रेफ्री) लाई बल हस्तान्तरण गर्दै संयुक्त रूपमा गरे।

गत भदौ २३ गते नयाँ बानेश्वरमा भ्रष्टाचार र बेथितिविरुद्धको जेनजी आन्दोलन’ मा सहभागी रहँदा प्रहरीको गोली लागेर घटनास्थलमै सहादत प्राप्त गरेका योगेन्द्र न्यौपाने च्याकुटारबेँसीका निवासी थिए।

प्रतियोगितामा कमलामाई र दुधौली नगरपालिकाबाट एक–एक टोली तथा गोलञ्जोर, फिक्कल, तीनपाटन र सुनकोसी गाउँपालिकाबाट दुई–दुई गरी जम्मा १० टिमको सहभागिता रहेको उपाध्यक्ष न्यौपानेले जानकारी दिए। विजेता टोलीलाई क्रमशः रु ७५ हजार, ५० हजार र ३५ हजारसहित प्रमाणपत्र प्रदान गरिनेछ।

स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नारासहित सुरु गरिएको यो प्रतियोगिता तीन दिनसम्म सञ्चालन हुनेछ। उद्घाटन समारोहमा सहिदका पिता युवराज (उमेश) न्यौपाने र परिवारका अन्य सदस्यहरू पनि उपस्थित थिए।

उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष बरालले भदौ २३ गतेको ‘जेनजी आन्दोलन’ को क्रममा सहादत प्राप्त गरेका योगेन्द्र न्यौपानेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घटनाले आफूलाई अत्यन्त दुःखी बनाएको बताए। उनले भने, “गाउँपालिकाकै नागरिकले व्यवस्थाप्रति उठेका प्रश्नहरूको जवाफ खोज्दा सहादत प्राप्त गर्नु हाम्रो पालिकाको लागि गहिरो पीडाको विषय हो।” उनले रोशनको सम्झनामा आयोजना गरिएको स्मृति कपलाई निरन्तरता दिने प्रतिबद्धता जनाए।

त्यसैगरी उपाध्यक्ष ज्वालाप्रसाद न्यौपानेले भने, “गणतन्त्र प्राप्तिको आन्दोलनमा पनि च्याकुटारबेँसीले रगत बगाएको थियो, अहिले गणतन्त्रलाई सुदृढ र व्यवस्थित बनाउन जेनजी आन्दोलनमा पनि हाम्रो रोशनले रगत बगाउनुभयो।” उनले यो स्मृति कपलाई वार्षिक रूपमा सञ्चालन गर्ने प्रतिबद्धता जनाए।

सहिद परिवारका तर्फबाट काका सौभाग्य न्यौपानेले स्मृति कपलाई अझ व्यवस्थित र नियमित रूपमा सञ्चालन गर्न आग्रह गर्दै यसले सहिदको मात्र होइन, परिवारकै सम्मान हुने बताए।
त्यसैगरी वडाध्यक्ष सोमप्रसाद बरालले प्रतियोगिता नियमित गर्नका लागि आफ्नो तर्फबाट पूर्ण सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे।


माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित खबर