चँदाहा खोलाको अलपत्र पुलको अनुगमन, प्रजिअ भुसालले छिट्टै काम सुरु गराउने प्रतिबद्धता

सिन्धुली, २ कार्तिक २०८२ — पाँच वर्षदेखि अलपत्र अवस्थामा रहेको सिन्धुलीको कमलामाई नगरपालिका–१० र १३ लाई जोड्ने चँदाहा खोलाको पुल पुनः निर्माण कार्य सुरु गर्न पहल गर्ने प्रतिबद्धता प्रमुख जिल्ला अधिकारी (प्रजिअ) दिनेश सागर भुसालले व्यक्त गरेका छन्।
शनिबार प्रजिअ भुसालको नेतृत्वमा गएको स्थलगत अनुगमन टोलीले पुल निर्माण रोकिएपछि स्थानीयले भोग्दै आएका समस्या प्रत्यक्ष सुनेको थियो। स्थानीयवासीले पुलमा राखिएका रड तथा अन्य निर्माण सामग्री चोरी हुन थालेका कुरा टोलीलाई जानकारी गराएका थिए। साथै, पुल निर्माणमा संलग्न मजदुरहरूले ज्याला नपाएको गुनासो पनि गरेका छन्।
चँदाहा खोलामा निर्माणाधीन उक्त पुल संघीय सरकारअन्तर्गतको पुल महाशाखाको १२ करोड ५८ लाख रुपैयाँ लागतमा निर्माण थालिएको हो। तर ठेकेदार कम्पनी प्यासेफिक निर्माण जेभीको लापरबाहीका कारण पुल अलपत्र बनेको छ। अहिलेसम्म ५ करोड रुपैयाँ भुक्तानी भइसकेको भए पनि काम रोकिएको छ।
कमलामाई नगरपालिका–१३ का वडाध्यक्ष केशरबहादुर कार्कीका अनुसार पटक–पटक ताकेता गर्दा पनि ठेकेदार कम्पनीले कुनै चासो नदेखाएपछि स्थानीयवासी आक्रोशित बनेका छन्। उनले ठेकेदार कम्पनीलाई कालोसूचीमा राखी कारबाही गर्न माग गरेका छन्।
तीनपाटन र दुधौली नगरपालिकाका बासिन्दासमेत उक्त पुल नबन्दा आवतजावतमा कठिनाइ भोग्दै आएका छन्। स्थानीय टिका बैजुले भने, “पुल अलपत्र परेपछि बाढी र वर्षाको समयमा नदी पार गर्न जोखिम मोल्नुपर्छ, सामान्य आवागमन पनि जोखिमपूर्ण बनेको छ।”
अनुगमन टोलीमा प्रहरी प्रमुख लालध्वज सुवेदी पनि सहभागी थिए। टोलीसँगको भेटमा प्रमुख जिल्ला अधिकारी भुसालले पुल निर्माण कार्य छिट्टै अघि बढाउन सम्बन्धित निकायसँग समन्वय गरी पहल गर्ने र स्थानीयको समस्या समाधानमा आफू सक्रिय रहने प्रतिबद्धता जनाएका थिए।
माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम
फेसबुक प्रतिक्रिया