अब आधारभूत सेवाको अभाव रहने छैन : अध्यक्ष बराल

सिन्धुली, असोज ४ । अब गाउँपालिकावासीले विद्यालयमा छाना छैन, खानेपानी छैन वा स्वास्थ्य सेवा पाउन स्वास्थ्यचौकी छैन भन्ने अवस्था अनुभव गर्नु पर्ने छैन,” गोलन्जोर गाउँपालिका अध्यक्ष शंकरराज बरालले बताएका छन्।

गोलन्जोर गाउँपालिका–२ सुलीभन्ज्याङस्थित बाल माध्यमिक विद्यालयमा ब्याक टू लाईफ इभीजर्मनको सहयोगमा निर्माण हुने चार कोठे भवनको शिलान्यास गर्दै अध्यक्ष बरालले शिक्षा, स्वास्थ्य र खानेपानीलाई पहिलो प्राथमिकतामा राखेर गाउँपालिकाले काम गरिरहेको जानकारी दिए। उनले विद्यालय भवन, खानेपानी आयोजना र स्वास्थ्य चौकी निर्माणलाई आफ्नो कार्यकालमै सम्पन्न गर्ने प्रतिबद्धता पनि जनाए।

बरालले थपे, “नागरिकको सेवालाई मध्यनजर गरेर ग्वाल्टारमा १५ शैयाको पालिकास्तरीय अस्पताल बनाइएको छ। त्यहींबाट सेवा सुचारु गरिने भएको हुँदा तत्काल पूर्ण नभए पनि आंशिक सेवा लिन आग्रह गर्दछु।”

साबिक बितिजोर क्षेत्रमा विकास र समृद्धिका योजनाहरूलाई विशेष प्राथमिकतामा राखिएको उल्लेख गर्दै उनले सुलिभञ्ज्याङ – धापचौकी– भीमान आजादमार्ग गोलन्जोरको आर्थिक र सामाजिक रुपान्तरणमा महत्वपूर्ण आधार हुने बताए। सो मार्गलाई व्यवस्थित बनाउन ढलान कार्य सुरु भएको र छिट्टै सम्पन्न गरिने जानकारी समेत दिए।

शिलान्यास कार्यक्रममा गाउँपालिका उपाध्यक्ष ज्वालाप्रसाद न्यौपाने, वडाध्यक्षहरू रेगनराज थापा, कृष्णप्रसाद पोखरेल वडाध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका दौलत कार्की, ब्याक टू लाईफ नेपालका कन्ट्री म्यानेजर अनुप पौडेल र सिएसडीएस सिन्धुलीका कार्यक्रम प्रमुख विष्णु प्रसाद पौडेललगायत सहभागी थिए।


माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम

सम्बन्धित खबर