माफी माग्दै फेरि जनताको बीचमा जानुपर्छ : एमाले नेता पहाडी

३ असोज, सिन्धुली । नेकपा (एमाले) केन्द्रीय सदस्य एवं पूर्वमन्त्री गणेश कुमार पहाडीले विगतका कमजोरीका लागि जनतासमक्ष माफी माग्दै पुनः घरदैलोमा पुगेर विश्वास जित्नुपर्ने बताएका छन्।

संविधान दिवसको अवसरमा नेकपा एमाले सिन्धुलीले सिन्धुलीमाढीमा आयोजना गरेको र्‍यालीपश्चात् आयोजित कोणसभालाई सम्बोधन गर्दै नेता पहाडीले संविधान र राजनीतिक प्रणालीलाई अस्वीकार गर्ने शक्तिहरू सक्रिय भएको भन्दै त्यसको प्रतिवादमा सबै दल एकताबद्ध हुनुपर्नेमा जोड दिए।

उनले भने, “यो संविधान च्यात्ने, जलाउने, नमान्ने, प्रणालीलाई अस्वीकार गर्ने शक्तिहरू सक्रिय छन्। त्यसकारण हामी सबै मिलेर संविधानको रक्षा गर्दै लोकतान्त्रिक गणतन्त्र नेपालको संरक्षण गर्नुपर्छ।”

शुशिला कार्की नेतृत्वको अन्तरिम सरकारले फागुन २१  प्रतिनिधीसभाको  निर्वाचन गर्ने घोषणा गरिसकेको अवस्थामा एमाले चुनावी तयारीमा जुट्ने बताएका उनले संविधान कार्यान्वयनमार्फत ‘समृद्ध नेपाल, सुखी नेपाली’ अभियान अघि बढाउनुपर्नेमा जोड दिए।

उनले थपे, “संविधान जारी भइसकेपछि र लोकतान्त्रिक गणतन्त्र घोषणा भइसकेपछि सरकार सञ्चालन गर्ने क्रममा राजनीतिक दलहरूबाट केही कमजोरी भएका छन्। तर ती कमजोरीबाट पाठ सिक्दै फेरि नदोहोर्याउने प्रतिबद्धता गर्दै जनताको विश्वास जित्नुपर्छ।”

एमाले नै मुलुक निर्माणको मुख्य जिम्मेवारी बोकेको दल भएको दाबी गर्दै उनले फागुनमा तोकिएको प्रतिनिधिसभा निर्वाचनको तयारीमा जुट्न एमाले नेता कार्यकर्ताहरुलाई आह्वान गरे।


माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम

सम्बन्धित खबर