सरकारकै आदेश मान्दैनन् सिन्धुलीका सिडिओ

२ असोज, सिन्धुली । नेपाल सरकारले जेन जेड आन्दोलनमा मृत्यु भएकाहरूको सम्झनामा असोज १ (बुधबार) राष्ट्रिय शोक घोषणा गरेको थियो। सो अवसरमा गृह मन्त्रालयले सरकारी निकायहरूमा झण्डा आधा झुकाउने निर्णय गरेपनि जिल्ला प्रशासन कार्यालय सिन्धुलीले भने उक्त आदेशको पालना गरेन।
कार्यालयमा झण्डा झुकाउनु त परै जाओस्, आन्दोलनका क्रममा च्यातिएको झण्डा समेत अहिलेसम्म फेर्न वा राख्न नसकेको स्थानीयहरूले गुनासो गरेका छन्।

राष्ट्रिय शोकमा झण्डा नझुकाएको भन्दै केही नागरिकहरूले जिल्ला प्रशासन कार्यालयमा झण्डा राख्न खोज्दा प्रमुख जिल्ला अधिकारी (सिडिओ) दिनेश सागर भुसालले रोक लगाएका थिए। झण्डा बोकेर पुगेका कानुन व्यवसायी र पत्रकारहरूलाई कार्यालयका नायब सुब्बा नहकुल ढकालले “सिडिओ सावको आदेश” भन्दै राख्न नदिने सूचना दिएका थिए। आफू राख्ने छैनन्, अरूलाई पनि राख्न दिँदैनन् भन्ने सिडिओको यस्तो व्यवहारप्रति नागरिकहरू असन्तुष्ट छन्।

यसबाहेक, भदौ २४ गते सानो सङ्ख्यामा रहेका आन्दोलनकारीले सिडिओको कार्यकक्षमै पुगेर ३४ मिनेटको अल्टिमेटम दिएपछि उनले सुरक्षा कमाण्डसमेत छोडिदिएका थिए। त्यसपछि जिल्लाभर लुटपाट र आगजनीका घटना भएका थिए। सो क्रममा १३ वटाभन्दा बढी सरकारी तथा गैरसरकारी कार्यालय र निजी घरमा क्षति पुगेको थियो, जसमा करोडौँको सम्पत्ति नष्ट भएको गरिएको छ ।
माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम
फेसबुक प्रतिक्रिया