राष्ट्रिय पुनर्निर्माण कोषमा घ्याङ्लेख गाउँपालिकाले १ लाख १० हजार दिने, अदालत र प्रशासनलाई कम्प्युटर

३१ भदौ, सिन्धुली। जेन–जी आन्दोलनका क्रममा क्षति पुगेका कार्यालय र सार्वजनिक सम्पत्तिको पुनर्निर्माणका लागि सिन्धुलीको घ्याङ्लेख गाउँपालिकाले विशेष सहयोग गर्ने निर्णय गरेको छ।

गाउँपालिकाको आज बसेको कार्यपालिका बैठकले जिल्ला प्रशासन कार्यालयलाई नागरिकता छाप्ने प्रिन्टरसहित कम्प्युटर र जिल्ला अदालतलाई कम्प्युटर उपलब्ध गराउने निर्णय गरेको हो। गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत दाताराम प्याकुरेलका अनुसार आवश्यक उपकरण चाँडै हस्तान्तरण गरिनेछ।

त्यसैगरी आन्दोलनका कारण क्षतिग्रस्त सार्वजनिक सम्पत्तिको पुनर्निर्माणमा योगदान पु-याउने उद्देश्यले गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीको तलब–सुविधाबाट कटौती गरी १ लाख १० हजार रुपैयाँ राष्ट्रिय पुनर्निर्माण कोषमा सहयोग गर्ने निर्णय पनि बैठकले गरेको जानकारी प्याकुरेलले दिए।

गाउँपालिकाले जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका व्यक्तिहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक प्रस्ताव पारित गरेको छ। साथै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरिएको छ।

सिन्धुली जिल्लामा हालसम्म १३ वटा सरकारी कार्यालय क्षतिग्रस्त भएका छन्। तीमध्ये जिल्ला प्रशासन कार्यालय, जिल्ला अदालत, कमलामाई नगरपालिका, मालपोत कार्यालय, जिल्ला समन्वय समिति, करदाता सेवा कार्यालय र नेपाल बार एसोसिएसन जिल्ला बार इकाइ प्रमुख छन्। आन्दोलनका क्रममा यी कार्यालयका कागजात, तथ्याङ्क, कम्प्युटर, प्रिन्टरलगायत उपकरण नष्ट भएका थिए। जिल्ला प्रशासन कार्यालयको डाटा सेन्टर, नागरिकता, राहदानी, प्रशासनिक तथा मुद्दा अभिलेख समेत जलेका थिए भने कम्प्युटर र प्रिन्टरसहितका केही उपकरण चोरी पनि भएका थिए।


माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित खबर