असोज १ गतेदेखि बिपी राजमार्ग २४ घण्टा सञ्चालनमा

काभ्रेपलाञ्चोक — मनसुन सुरु भएपछि बढेको जोखिमका कारण रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको बिपी राजमार्ग आगामी असोज १ गतेदेखि २४ घण्टा सञ्चालनमा ल्याइने भएको छ।
जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकमा सोमबार बसेको सुरक्षा समितिको बैठकले मनसुनको सक्रियता क्रमशः घट्दै गएको र दशैँ–तिहारलगायत चाडपर्वमा यात्रुको सहजतालाई मध्यनजर गर्दै सडक २४ घण्टा सञ्चालन गर्ने निर्णय गरेको हो। समितिले यात्रुको सुरक्षाका लागि स्वीकृत सडक सुरक्षा कार्ययोजनाअनुसार आवश्यक सतर्कता अपनाइने पनि जनाएको छ।
प्रशासनले जारी गरेको सूचनाअनुसार गत असार पहिलो सातादेखि रातिको समयमा धुलिखेलदेखि सिन्धुलीको नेपालथोकसम्म सवारी आवागमनमा पूर्ण रोक लगाइएको थियो। मनसुनमा बाढी–पहिरोको जोखिम उच्च रहेकाले सो क्षेत्र राति १२ घण्टा बन्द गरिएको हो। पछिल्लो पटक भदौ १६ गतेदेखि थप १५ दिनका लागि रोक लगाइएको थियो।
सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठका अनुसार काभ्रेभञ्ज्याङदेखि सिन्धुलीको खुर्कोट खण्डसम्मका विभिन्न स्थानमा उच्च जोखिम भएकाले यातायातमा रोक लगाइएको थियो। काठमाडौँतर्फ आउने सवारीलाई नेपालथोक र बाहिरिने सवारीलाई काभ्रेभञ्ज्याङमा रोकिने व्यवस्था गरिएको थियो।
यसअघि काभ्रेपलाञ्चोक, सिन्धुली र रामेछापका सुरक्षा समितिबीचको अन्तरजिल्ला बैठकले असार ७ गतेदेखि साँझ ६:३० बजेदेखि बिहान ५:०० बजेसम्म र साउन महिनाभर साँझ ५:०० बजेदेखि बिहान ५:०० बजेसम्म सवारी सञ्चालन रोक्ने निर्णय गरेको थियो।
गत वर्ष असोजमा आएको बाढी–पहिरोले राजमार्गको चौकीडाँडादेखि वर्षेखोलासम्म आठ किलोमिटर सडक बगाएपछि अस्थायी रूपमा मात्र आवागमन सम्भव भएको थियो। सो घटनामा सिन्धुलीको खुर्कोट–नेपालथोक ३४ किलोमिटर र नेपालथोक–धुलिखेल ५० किलोमिटर खण्डमा ठूलो क्षति पुगेको थियो।
हाल राजमार्गलाई स्थायी रुपमा पुनःनिर्माण गर्न चार खण्डमा ठेक्का प्रक्रियामा अघि बढाइएको छ। पूर्वी नेपाललाई राजधानीसँग छोटो दूरीमा जोड्ने यो राजमार्गबाट दैनिक हजारौँ सवारीसाधन सञ्चालन हुने गर्छन्।
माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम
फेसबुक प्रतिक्रिया