सिन्धुलीमा विशाल–कुमार स्मृति दिवस, काठमाडौँमा पुरस्कार

सिन्धुली, २० भदौ / नेपाल कम्युनिष्ट पार्टी (एमाले) सिन्धुलीले शुक्रबार २१ औं विशाल–कुमार स्मृति दिवस विशेष श्रद्धाञ्जली सभासहित सम्पन्न गरेको छ । विधान महाधिवेशनका कारण प्रमुख नेताहरु काठमाडौँतर्फ लागेका बेला जिल्लामा भने सचिव नवराज थिङको विशेष उपस्थितिमा पार्टी कार्यालयमै कार्यक्रम आयोजना गरेर शेरमन कुँबर (विशाल) र मोहन चन्द्र गौतम (कुमार) को २१ औं स्मृति दिवश मनाएको छ ।
माओवादी युद्धको समयमा ०६१ साल भदौ २० गते सिरहाको धनसर्वा (धन्छवार) मा तत्कालीन शाही नेपाली सेनाको नियन्त्रणमा विभत्स हत्या गरेका विशाल कुमारको स्मृतिमा एमालेले हरेक वर्ष श्रद्धाञ्जली कार्यक्रम गर्दै आएको छ । यस वर्ष पनि शहीदप्रति माल्यार्पणसहित सम्मान अर्पण गरिएको थियो ।
यसैबीच, विशाल कुमार स्मृति प्रतिष्ठानले यस वर्षको ‘विशाल कुमार स्मृति पत्रकारिता पुरस्कार’ राजधानी काठमाडौँमा आयोजना गरेर पत्रकार बद्री सिवाकोटीलाई प्रदान गरेको छ । एमाले बागमती प्रदेश कार्यालयमा कार्यक्रम प्रमुख अतिथि तथा प्रतिष्ठानका संरक्षक मनोजजंग थापाले पाँच हजार नगद, सम्मानपत्र र दोसल्लासहित सिवाकोटीलाई सम्मान गरेका हुन् ।
सिन्धुलीमा सम्पन्न स्मृतिदिवस कार्यक्रममा प्रतिष्ठानकी अध्यक्ष निरु दर्लामीको अध्यक्षता थियो भने एमाले नेताहरु केन्द्रीय सदस्य गणेश कुमार पहाडी, कमलजंग राई, संघीय सांसद रणकुमारी बलम्पाकी लगायतको सहभागिता थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेताहरुले विशाल कुमारले जनयुद्धकालीन समयमा देखाएको आदर्श, निष्ठा र बलिदानलाई आगामी पुस्ताले मार्गनिर्देशनको रुपमा लिनुपर्नेमा जोड दिएका थिए । आयोजकले भने विधान महाधिवेशनको व्यस्तताले यस वर्षको स्मृतिदिवस कार्यक्रम केही संक्षिप्त बनेको स्वीकार गरेका छन् ।
माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम
फेसबुक प्रतिक्रिया