नौ पालिका, नौ प्रयास: सिन्धुलीको असल अभ्यास

सिन्धुलीमाढी, १९ भदौ / सिन्धुलीमा पहिलो पटक जिल्लाभरिका स्थानीयतहका प्रमुख प्रशासकीय अधिकृतहरूले सार्वजनिक सेवा सुधार र असल प्रशासनिक अभ्यास प्रवर्द्धनका लागि सामूहिक पाँच बुँदे प्रतिवद्धता गरेका छन्। जिल्ला समन्वय समिति सिन्धुलीले बिहीबार सिन्धुलीमाढीमा आयोजना गरेको “जिल्लास्थित स्थानीय तहहरूको असल अभ्यास सम्बन्धी अनुभव आदान–प्रदान कार्यक्रम” मा जिल्लाका नौवटा स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरूले जिल्ला समन्वय अधिकारीसहित सामूहिक हस्ताक्षरमार्फत प्रतिवद्धता पत्र सार्वजनिक गरेका हुन्।
प्रतिवद्धता पत्रमा सार्वजनिक सेवा प्रवाहलाई सेवाग्राहीमैत्री बनाउन मानक सञ्चालन प्रक्रिया निर्धारण गरी लागू गर्ने, सेवा प्रवाहपछि नागरिक सन्तुष्टि मापन गर्न ‘सिटिजनसिप स्कोर कार्ड’ को व्यवस्था गर्ने, भौगोलिक कठिनाइका कारण सेवाग्राहीले भोग्ने समस्या कम गर्न सूचना प्रविधिको प्रयोग गर्ने, मुस्कानसहित तदारुकतापूर्वक सेवा प्रवाह गर्ने र वित्तीय अनुशासन तथा सुशासन कायम गर्दै बेरुजु न्यूनिकरणलाई प्राथमिकतामा राख्ने पाँच बुँदा समावेश छन्। जिल्ला समन्वय अधिकारी तिर्थराज पौडेले नागरिकमैत्री सेवा प्रवाह सुनिश्चित गर्ने उद्देश्यले सबै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतले सामूहिक प्रतिवद्धता जनाए पनि यसलाई व्यवहारमा कार्यान्वयन गर्ने चुनौती अझै बाँकी रहेको बताए।
कार्यक्रम जिल्ला समन्वय समितिका अध्यक्ष कार्साङ लामाको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाल, जिल्लाका नौवटा स्थानीय तहका जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत तथा विभिन्न सरोकारवालाको सक्रिय सहभागिता थियो। कार्यक्रममा प्रत्येक पालिकाले आफ्ना असल अभ्यास प्रस्तुत गरेका थिए।
घ्याङलेक गाउँपालिकाले शिक्षित छोरी बुहारी कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी गरायो। यस कार्यक्रमअन्तर्गत स्नातक तह पूरा गरेर बिहे गर्ने महिलालाई ५० हजार रुपैयाँ र स्नातकोत्तर तहपछि बिहे गर्ने महिलालाई ७६ हजार रुपैयाँ पुरस्कार प्रदान गर्दै आएको छ। यसले महिलालाई उच्च शिक्षातर्फ आकर्षित गर्ने र समयअगावै विवाह गर्ने प्रचलन घटाउने लक्ष्य लिएको छ। गोलञ्जोर गाउँपालिकाले वृहत्त कृषि विकास कार्यक्रम अन्तर्गत ट्राइकोडर्मा नामक जैविक फफूंदनाशक उत्पादन, माटो परीक्षणर, पशुको गोबार परीक्षणलाई असल अभ्यासका रूपमा अघि सारेको छ। यसले माटोको उर्वरता बढाउने, बिरुवाको जरालाई स्वस्थ राख्ने र रोगजन्य फफूंद नियन्त्रण गर्ने काम गर्ने भएको छ।
तीनपाटन गाउँपालिकाले ‘सासुको इच्छा, बुहारीलाई शिक्षा’ कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दियो। यसमार्फत बुहारीलाई उच्च शिक्षातर्फ प्रोत्साहन गर्ने र परिवारमै शैक्षिक वातावरण बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ। फिक्कल गाउँपालिकाले सासु–बुहारी सम्मान कार्यक्रमलाई निरन्तरता दिएको छ, जसले पुस्ता–पुस्ताबीचको सम्बन्ध सुधार गर्ने र महिलाको योगदानलाई सामाजिक सम्मान दिलाउने उद्देश्य लिएको छ।
दुधौली नगरपालिकाले विद्यालय मर्ज अभियान अघि सारेको छ। हालसम्म आठ विद्यालय मर्ज र १२ विद्यालयमा कक्षा घटुवा गरिएको छ। यसले शैक्षिक गुणस्तरमा सुधार ल्याउने र स्रोतसाधनको उचित उपयोग हुने अपेक्षा गरिएको छ।
कमलामाई नगरपालिका–५ मा स्थापना गरिएको कोरिया–नेपाल मोडेल डेरी भिलेजलाई असल अभ्यासका रूपमा प्रस्तुत गरिएको छ। यहाँ आधुनिक डेरी प्रविधि प्रयोग गरी दूध उत्पादन बढाउने, किसानलाई होलिस्टाइन जातका बाच्छी वितरण गर्ने र किसानलाई आर्थिक सबलीकरण गर्ने प्रयास भइरहेको छ।
सुनकोशी गाउँपालिकाले अन्तरजातीय विवाहलाई प्रोत्साहन गर्ने कार्यक्रम सञ्चालन गरिरहेको जानकारी गरायो। यसले सामाजिक सद्भाव अभिवृद्धि गर्ने र जातीय भेदभाव अन्त्यतर्फ योगदान पुर्याउने विश्वास गरिएको छ।
मरिण गाउँपालिकाले छात्रालाई साइकल र एक लाख रुपैयाँ नगद प्रोत्साहन दिने कार्यक्रम सञ्चालन गरेको छ। यसले छात्रालाई उच्च शिक्षातर्फ आकर्षित गर्ने, बालविवाह रोकथाम गर्ने र महिलाको सशक्तीकरणमा योगदान पुर्याउने उद्देश्य लिएको छ।
त्यसैगरी, हरिहरपुरगढी गाउँपालिकाले जिल्लामै पहिलो पटक नेपाली हाइब्रिड मकैको बीउ उत्पादन परीक्षण सुरु गरेको छ। यो अभियान प्रदेश बीउ बिजन गुणस्तर नियन्त्रण केन्द्र बागमती, राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रम रामपुर, कृषि विकास कार्यालय सिन्धुली र गाउँपालिकाको संयुक्त प्रयासमा सञ्चालन भइरहेको छ। यसले जिल्लाको मकै खेतीलाई आधुनिकरण गर्ने अपेक्षा गरिएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले सिन्धुलीलाई औद्योगिक हब बनाउन सकिने सम्भावना रहेको उल्लेख गरे। उनले जिल्लाको विकासका लागि सबै पक्ष सक्रिय हुनुपर्नेमा जोड दिँदै जनप्रतिनिधि र कर्मचारीबीच सुसम्बन्ध कायम गर्दै पालिकाको काम पारदर्शी र प्रभावकारी बनाउनुपर्ने बताए। साथै, उनले सार्वजनिक कार्यक्रमलाई भड्किलो नभई व्यावहारिक बनाउन निर्देशनसमेत दिए।
त्यसैगरी तीनपाटन गाउँपालिका अध्यक्ष एवं गाउँपालिका राष्ट्रिय महासंघ, बागमती प्रदेशका अध्यक्ष कर्णबहादुर मगरले कर्मचारी र जनप्रतिनिधि बीच समय–समयमा देखिने विवादले विकास, सुशासन र पारदर्शितामा नकारात्मक प्रभाव पार्ने उल्लेख गरे । साथै उनले भने, “नागरिकमैत्री सेवा प्रवाह सुनिश्चित गर्न कर्मचारी र जनप्रतिनिधिले स्रोत–साधनको सही प्रयोग गर्नु आवश्यक छ। सहयोग र सहकार्यका माध्यमबाट मात्र प्रभावकारी सेवा सुनिश्चित गर्न सकिन्छ।”
जिल्ला समन्वय समितिका अध्यक्ष कार्साङ लामाले सामूहिक प्रतिवद्धता सार्वजनिक हुनु सेवा सुधारतर्फको महत्वपूर्ण आधार भएको बताए। उनले कागजमा गरिएको प्रतिवद्धतालाई व्यवहारमा उतार्दा मात्र यसको अर्थपूर्णता प्रमाणित हुने भन्दै स्थानीय तहहरूले नियमित अनुगमन, समीक्षा र सुधार प्रक्रियालाई निरन्तरता दिनुपर्नेमा जोड दिए।
माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम
फेसबुक प्रतिक्रिया