बदनामी बनाइएका वाइबाद्वारा आचार्यको भव्य स्वागत

सिन्धुली, १६ भदौ । पटक–पटक प्रमुख प्रशासकीय अधिकृत (हाकिम) फर्काएको भनेर विवादमा तानिँदै आएका हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाइबाले यस पटक भने सरुवा भई आएका तुलसीराम आचार्यको भव्य स्वागत गरेका छन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भदौ २ गते गृह मन्त्रालय अन्तर्गत कार्यरत अजम्बर राईलाई हरिहरपुरगढी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रूपमा सरुवा गरेको थियो ।  राई भदौ ५ गते गाउँपालिका अध्यक्ष वाइबाको असहमतिबिच  कार्यालयमा हाजिर हुन आइपुगेका थिए । त्यसबेला गाउँपालिका अध्यक्ष बज्रध्वज वाइबाले हाजिरी पुस्तिका समेत लुकाइएको आरोप लागेको थियो । तर  त्यसका बाबजुद पनि उपाध्यक्ष चेखबहादुर थिङको नेतृत्वमा नयाँ हाजिरी रजिस्ट्रार खडा गरी राईलाई सोही दिन हाजिर गराइयो । तर उनी हाजिर भएर काठमाण्डौं फर्किएको एक साता नबित्दै मन्त्रालयले सरुवा गरेर सुनकोशी गाउँपालिका पु¥याईदियो ।

त्यस्तै, मन्त्रालयले यसअघि असार २५ गते दीपशिखा आलेलाई हरिहरपुरगढीमा खटाएको भए पनि उनले पालिकामा हाजिर नगरी नै रसुवा जिल्ला समन्वय समितिमा सरुवा भइन् ।

लगातार प्रमुख प्रशासकीय अधिकृत नबस्दा गाउँपालिमा बदनाम गराईएका अध्यक्ष वाइबाले  यसपटक भने नयाँ अधिकृतलाई खुलेर स्वागत गरेका छन्।

गाउँपालिकामा भव्य स्वागत कार्यक्रम आयोजना गरेर अध्यक्ष वाइबाले आचार्यको स्वागत गरेका छन्। अध्यक्ष वाइबाले आचार्यको नेतृत्वमा गाउँपालिकाबाट हुने सेवा प्रवाह अझ प्रभावकारी हुने विश्वास व्यक्त गरे। उनले कर्मचारीलाई स्थानीय बासिन्दाको भावना आत्मसात् गर्दै सेवामा खटिन निर्देशनसमेत दिए।

नवनियुक्त प्रमुख प्रशासकीय अधिकृत आचार्यले जनप्रतिनिधि र सरोकारवालासँग सहकार्य गर्दै गाउँपालिकाको विकास र जनतासँगको सम्बन्ध सन्तुलित ढंगले अघि बढाउने प्रतिबद्धता व्यक्त गरे। उनले सेवाग्राहीलाई प्रभावकारी सेवा दिँदै स्थानीय सरकारप्रति जनविश्वास अझ बढाउने लक्ष्य राखेको बताए।

कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष चेखबहादुर थिङ प्रवक्ता एवं वडाध्यक्षहरू कमलकुमार राई जितबहादुर थिङ, विश्व राई, साइँला लामा, बिचबहादुर मोक्तान, धनबहादुर मोक्तान, कार्यपालिका सदस्य लगायत कर्मचारीहरूको सहभागिता थियो ।

निवर्तमान प्रमुख प्रशासकीय अधिकृत दीपेन्द्रकुमार पैकराले आचार्यलाई स्वागत गर्दै प्रशासकीय कामलाई चुस्त र प्रभावकारी बनाउन कर्मचारीहरूको साथ रहने विश्वास व्यक्त गरेका थिए ।


माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित खबर