सुनकोशीका दर्जी तामाकोशी पुगे, हरिहरपुरमा अजम्बर

सिन्धुली, ३ भदौ / संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमबार गरेको सरुवामा सिन्धुलीको सुनकोशी गाउँपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत अर्जुन दर्जीलाई दोलखाको तामाकोशी गाउँपालिका पठाइएको छ।
त्यसै गरी, हरिहरपुरगढी गाउँपालिकामा गृह मन्त्रालयका अजम्बर राई प्रमुख प्रशासकीय अधिकृतका रूपमा आउने भएका छन्।
मन्त्रालयले सोमबार मात्रै २५ जना उपसचिव र ४४ जना शाखा अधिकृत गरी ६९ जना अधिकृतहरूको सरुवा गरेको हो। सो सरुवाअनुसार स्थानीय तहमा कार्यरत अधिकृतहरूलाई अन्य पालिकामा पठाइएको छ भने प्रमुख प्रशासकीय अधिकृतहरूलाई मन्त्रालय र निकायमा खटाइएको छ।
कर्मचारी सरुवालाई व्यवस्थित गर्न मन्त्रालयले महिनामा दुई पटक—१ गते र १५ गते मात्र सरुवा गर्ने निर्णय गरे पनि सो नियम पूर्ण रूपमा कार्यान्वयन हुन सकेको छैन। सरुवा सूची प्रायः राति मात्रै सार्वजनिक हुने गरेको भन्दै कर्मचारीहरूले यसलाई आशंका र अविश्वासका रूपमा लिएका छन्।
नवनियुक्त मन्त्री भगवती न्यौपानेले कर्मचारीबाट हुने कुनै पनि प्रकारका अनियमितता सह्य नहुने स्पष्ट पार्दै सुशासनमा जोड दिएकी छिन्। लामो समयदेखि विवादित रहँदै आएको कर्मचारी सरुवालाई उनले कसरी व्यवस्थापन गर्छिन् भन्ने कुराले मन्त्रालयको भनाइ र व्यवहारबिचको अन्तर देखाउने जनाइएको छ।
माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम
फेसबुक प्रतिक्रिया