सिन्धुलीमा स्मार्ट पोस्टल सर्भिसको सुरुवात

सिन्धुली, १ भदौ। जिल्ला हुलाक कार्यालय सिन्धुलीमा आइतबारदेखि स्मार्ट पोस्टल सर्भिस सञ्चालनमा आएको छ। कमलामाई नगरपालिकाका नगरप्रमुख उपेन्द्र कुमार पोखरेलले विशेष समारोहका बीच उक्त सेवा उद्घाटन गरेका हुन्।
हुलाक अधिकृत कुमार थापाका अनुसार स्मार्ट पोस्टल सर्भिसमार्फत अब सेवाग्राहीले राष्ट्रिय परिचयपत्र (NID) र राहदानी (Passport) का अनलाइन फाराम निःशुल्क भराउन सक्नेछन्। त्यस्तै, सेवाग्राहीलाई आवश्यक प्रिन्ट आउट पनि निःशुल्क उपलब्ध गराइने व्यवस्था मिलाइएको छ।
उनले थप जानकारी दिँदै भने, “युटिलिटी पेमेन्टसम्बन्धी कार्यविधि, निर्देशिका र परिपत्र प्राप्त भएपछि बिजुली, टेलिफोन र खानेपानीको महसुल भुक्तानी सेवासमेत सुरु गरिनेछ।” यसका लागि स्मार्ट पोस्टल सर्भिसमा कम्प्युटर उपकरणसहित चार जना कर्मचारी स्थायी रूपमा खटाइएको कार्यालयले जनाएको छ।
थापाका अनुसार आगामी दिनमा लोक सेवा आयोग, शिक्षक सेवा आयोग लगायतका विभिन्न परीक्षासम्बन्धी अनलाइन फारामहरू पनि निःशुल्क भरिने सेवा थप्ने तयारी भइरहेको छ।
उद्घाटन कार्यक्रममा गोश्वारा हुलाक कार्यालय डिल्लीबजार, काठमाडौंका प्रमुख हुलाक अधिकृत लिला बल्लभ न्यौपाने, सरोकारवाला निकायका प्रतिनिधि तथा जिल्ला हुलाक कार्यालय सिन्धुलीका कर्मचारीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम
फेसबुक प्रतिक्रिया