पत्रकारिता पेसा, अनि पैसा

जीवन संघर्षशील छ । उतारचढाव आइरहन्छ । त्यसलाई पार गर्दै अघि बढ्नुमा जिन्दगीको मजा लुकेको छ । मकवानपुरको रमणीय पर्यटकीय गाउँ चित्लाङमा जन्मिएँ । एसएलसीसम्मको अध्ययन त्यहीँको श्री स्वच्छन्द भैरव माविमा गरेँ । पुराना दरबारजस्ता विद्यालय भवन २०७२ को भूकम्पले ढलाउन सकेन । फरक सुर्की चुनाको लेप लगाइएको ठाउँमा सिमेन्ट प्लास्टर भएको छ । अनि अरु नयाँ भवनहरू थपिएका छन् ।

२०६० सालमा विद्यालयबाट एसएलसी उत्तीर्ण गर्ने ११ जनामध्ये प्रथम श्रेणीमा एक्लो थिँए । उच्च शिक्षाका लागि हेटौँडा गएँ । शिक्षण पेसामा मन लाग्दैनथ्यो । बैंकको जागिर पाइन्छ भनेर व्यवस्थापन संकाय छानियो । स्नातकमा लेखा पढाउँदै गर्दा सुरेन्द्र लामिछाने सर भन्नुहुन्थ्यो, ‘नेपालमा जागिर खान ‘कि ब्रेन चाहिन्छ कि क्रेन’ ।’

काम गर्दै पढेकाले स्नातक तहको पढाइ मध्यम भयो, आफन्तबाट ठूलो पदमा पुगेका कोही थिएनन् । पत्रिका बाँडेरै भए पनि २०६५ मा स्नातक तहसम्मको अध्ययन सकाएँ । पत्रकारिताको मोहले तानिसकेको थियो । आफूले बाँड्ने गरेका पत्रिकामा छिटपुट समाचारहरू लेख्थेँ । पढाइ खर्च जुटाउन विभिन्न साप्ताहिक पत्रिका वितरण गर्थें । त्यही नै पत्रकारितामा छिर्ने माध्यम बन्यो । त्यतिबेला क्याम्पसका साथीहरू साता लामो टुर गए, म ओएसिस इन्स्टिच्युटले आयोजना गरेको रेडियो/टीभी पत्रकारिता तालिममा । तालिम निकै प्रभावकारी रहेछ भन्ने काम गर्दै जाँदा थाहा भयो ।

२०६६ सालदेखि मैले समथर तराई मधेशलाई कार्यथलो बनाएँ । रेडियोमा समाचार लेख्न भनेर महोत्तरीको बर्दिबास पुगेँ । यो बाटोमा डोर्‍याउने थिए– हेटौँडा स्कुल अफ म्यानेजमेन्ट एन्ड सोसल साइन्सेजमा सँगै स्नातक तह अध्ययन गरेका साथी वाईपी विनय । हाल उनी सिन्धुलीमा स्टेसनरी व्यवसाय र पत्रकारितालाई सँगसँगै अघि बढाइरहेका छन् । रेडियो सुनगाभामा ३ हजार ५ सय तलबमा जागिर सुरु भयो । समाचार लेख्न भनेर गए पनि समाचार पढ्ने, सबै खालका कार्यक्रम चलाउन सक्ने भएँ ।

२०६४ सालको पहिलो मधेश आन्दोलनताका तराई मधेशमा थोरै रेडियो मात्रै खुलेका थिए । आन्दोलनपछि रेडियो खुल्ने क्रम बढ्यो । रेडियो खुलेसँगै काम गर्ने अवसर पनि खुल्यो । त्यतिखेर मानिसहरूको हातहातमा अहिलेको जस्नो एन्ड्रोइड मोबाइल र घरघरमा इन्टरनेट थिएन । बिहान उठेदेखि राति ननिदाउँदासम्म रेडियो नै सबैको साथी । विदेशतिर रेडियो ‘किचेन टु कार’ भनिन्छ, हामीकहाँ घरको पालीदेखि खेतको आलीसम्म ।

खुब खटेर काम गरिन्थ्यो । रेडियोमा समाचार बजाउन पैसा लाग्दैन भनेर नागरिकलाई बुझाइन्थ्यो । शिक्षकले लामो समय तलब नपाएको खबर बजाउँदा तलब पाएँ भनेर फोन गर्दै धन्यवाद दिन्थे । स्रोताको माया अपरम्पार । आवाज सुनेर मान्छे चिन्थे । कतिपयले त अझै चिन्छन् ।

सामुदायिक रेडियो प्रसारक संघ अकोराबद्वारा सञ्चालित सिआइनको साझा खबरमा रिपोर्ट बज्न थाल्यो । नामको चर्चा बढ्यो । तर, तलब खासै बढिरहेको थिएन । साझा खबरमा रिपोर्ट बजेको पैसा लिन रेडियोको छाप चाहिन्थ्यो । त्यसैले त्यो पैसा रेडियोकै म्यानेजर वा पदाधिकारीकोमा जान्थ्यो । मिहिनेत गर्नेको हातमा नआउने । धेरैपछि मात्रै रिपोर्टरले नै पाउने गरी व्यवस्था मिल्यो । एकातिर तलब सुविधा बढिरहेको थिएन, अर्कोतिर समाचारमा पस्किने सामग्री र अन्य कुराले व्यवस्थापनसँग कुरा मिल्न छोड्यो ।

 

२०६८ सालको असोजमा लालबन्दीको रेडियो एकतामा जोडिएँ । एक्लो ज्यान, जोस जाँगरसँगै रेडियोमा बोल्ने कला, गला थियो । समाचार, रिपोर्ट र कार्यक्रम तयार पार्ने, अन्तर्वार्ता लिन सक्ने दक्षता । पत्रकारिता स्वतन्त्र पेसा हो ।

हुन त पाँच/सात वर्ष पत्रकारितामा लागेर निकै तरक्की गरेका पत्रकार पनि समाजमा छन् । आर्थिक उपार्जन र कमाइको सन्दर्भमा उनीहरूलाई हेरेर हामीलाई प्रश्न गर्ने गरिन्छ, त्यसले गर्‍यो, तैँले किन गर्न सकिनस् ? पत्रकार भट्टराईले भनेजस्तै अब को कति पत्रकार, को कति अपत्रकार ? छुट्याउनुपर्ने बेला भएन र ?

कामको विषयलाई लिएर आफ्नो सिद्धान्त, शैली र अडान रहन्थ्यो । अनावश्यक कुरामा किचलो हुन थाल्यो । व्यवस्थापकसँग सहकार्य हुन नसक्ने स्थिति बन्यो । यतिबेला विवाह भइसकेको थियो, कल्पनाजी (श्रीमतीजी) र बाबु साथमा थिए । तर पनि चित्त नबुझेपछि कसको के लाग्छ ?

साथी क्रान्ति शाहसँगको समन्वयमा २०७० सालमा आर्थिक नगरी वीरगञ्ज छिरियो । सामुदायिक रेडियो नारायणी एफएमको समाचार कक्ष, कार्यकक्ष । पद समाचार संयोजकबाट समाचार वाचकमा झर्‍यो । स्थायी गर्ने कुराले आकर्षित गरेको थियो, तर त्यो पछि कार्यान्वयन हुन सकेन । वीरगञ्जमा एक्लो केटालाई कोठा नै नदिने रहेछन् । दुधे बालक काखी च्याप्दै कल्पनाजीले नै आएर कोठा खोज्नुपर्‍यो । पहिला मलाई जुन घरमा कोठा छैन भनेका थिए, त्यही घरमा बास पाइयो । वीरगञ्ज आएदेखि श्रीपुर टोलमा नै बसोबास छ । एकै वर्षमा नेसनल ट्रेडिङदेखि कृषि औजार अनुसन्धान केन्द्रसम्म पाँच ठाउँमा डेरा सरेको अनुभव पनि छ । भुईंतलाको कोठा, वर्षामा डुबान भएर कोठामा पानी पस्थ्यो । सुतेर बिहान उठ्दा कोठाभित्रै ताल बनिसक्थ्यो । वर्षा रोकिएपछि पानी फालेर कोठा मिलाउँथ्यौँ ।

रेडियोमा सिफ्ट नाम मात्रको हुने, बिहानको ड्युटी सकिए पनि दिउँसो काम गर्न पुग्थ्यौँ । समाचार कक्षको कामसँगै कार्यक्रम उत्पादन गर्नुपर्ने । रातमा केही वर्ष स्थानीय लोक टाइम्स दैनिक पत्रिकामा समाचार सम्पादकको काम गरेँ । आर्थिक स्थिति सुधार्न सकिन्छ कि भनेर चिया पसल थाप्यौँ । कल्पनाजीले ब्युटी पार्लर खोल्नुभयो । तर, व्यवसायमा हामीलाई सफलता मिलेन । हाल एउटा सहकारीमा काम गर्नुहुन्छ । सहकारीको सम्पूर्ण काम एक्लैले गर्दा पनि श्रमिकले पाउनुपर्ने न्यूनतम तलब पाउनुभएको छैन ।

११ वैशाख २०७२ मा हिमाल खबरमा वीरगञ्जबाट रिपोर्टिङ गर्छु भनेर पाटनढोकास्थित कार्यालय पुगेँ । तत्कालीन सम्पादक किरण नेपालसँग भेट भयो । वीरगञ्जका वरिष्ठ पत्रकार चन्द्रकिशोरले भेटको चाँजोपाँजो मिलाइदिनुभएको थियो । तर, त्यसको भोलिपल्ट महाभूकम्प गयो । चित्लाङहुँदै पालुङबाट हेटौँडा हिँडेका हामी स–परिवारको बाटोमा बिचल्ली भयो । चित्लाङको घर चर्काएर छोड्यो । त्यो घर सगोलकै हो । ठीकसँग जाँच गर्ने हो भने घर बस्न मिल्ने अवस्थामा छैन । तर अर्धक्षतिमा मात्रै राखियो । आवास पूर्ण क्षतिमा परेका भूकम्पप्रभावितले पाउने ३ लाख रुपैयाँ आएन । पुनः निर्माण प्राधिकरणका पदाधिकारी र कर्मचारीलाई ‘होम स्टे’ गराउने इच्छा पुरा नभई त्यो खारेज भयो ।

वीरगञ्जको कमाइ कोठा भाडा तिर्न, छोराको पढाइ, पारिवारिक खर्च र बुबाममीको औषधिमूलोमा हुन्थ्यो । अन्य आम्दानीको स्रोत बनाउन सकिएन । घर बनाउने कसरी ? ऋण लिएर बनाउन तिर्ने बाटो देखिएन । जग्गा बेचेर बनाउन सकिन्थ्यो । अब कमाएर जग्गा जोड्न नसक्ने भएकाले पैतृक सम्पत्ति नबेच्ने निर्णय भयो । वीरगञ्जमा साँघुरा कोठा र सकसपूर्ण जिन्दगी थियो । बुबाममीलाई पनि ल्याउन सकिन्छ कि भनेर कोरोनाकालपछि मात्रै हो फ्ल्याटै लिएको । तर, बुवाले आफ्नो अडान छोड्नु भएन । उतै हुनुहुन्छ ।

पछिल्ला दुई वर्ष पत्रकारिताको पूर्णकालीन जागिर छोडेर पत्रकारिता तथा आमसञ्चार विषयमा स्नाकोत्तर गरेँ । सेमेस्टर प्रणाली भएका कारण कक्षामा हाजिर ८० प्रतिशत पुग्नुपर्ने रहेछ । लामो समयपछि पढ्न जाँदा त्यो पनि अंग्रजी माध्यमबाट परीक्षा दिनुपर्ने भएपछि जागिर खाएर पढ्ने आँट आएन ।

त्यसो त २०६५ सालमा व्यवस्थापन संकायमा स्नातक सकेपछि स्नाकोत्तर गर्न शंकरदेवमा भर्ना गरेको थिएँ । कक्षा नगए पनि पहिलो वर्ष परीक्षा दिएँ, दोस्रो वर्षको परीक्षा दिने बेलामा रेडियोबाट पर्याप्त छुट्टी मिलेन । ३० दिनको बिदा चाहिनेमा १५ दिनका लागि मिल्यो । परीक्षा दिन छोडेर पोखरामा न्यु मिडिया एन्ड डिबेट तालिममा गएँ । नपढेको हुँदा परीक्षा दिए पनि फेल हुने निश्चित नै थियो । पत्रकारिताप्रतिको मोहले पढाइ ओझेलमा पर्दै गयो ।

 

सर्लाही छोडेर वीरगञ्ज आउँदा चन्द्रकिशोर सरले ‘ठूलो पोखरीमा ठूलो माछा’ मार्न पाइन्छ भनेर सम्झाएको याद छ । हुन पनि वीरगञ्जबाटै हिमालखबर, नेपाली टाइम्ससँगै नयाँ पत्रिका, एभिन्युज टीभी र अनलाइन खबरमा काम गर्ने अवसर पाएँ । यी संस्थाहरूमा आबद्ध भएपछि चर्चासँगै समाचार लेख्ने सीपले निखारता पायो ।

पत्रकारिताका तालिममा बढी सहभागी हुनेमध्येमा पर्छु म, आवेदन दिएरै छानिएको हुन्छु । केहीले ‘तालिमे पत्रकार’ भनेर जिस्क्याउँछन् पनि । कोरोनाको पहिलो लहरमा संक्रमित भएर आइसोलेसन पुगेँ । आइसोलेसनबाटै समाचार लेखेँ । थप चर्चा पाएँ । टन्न पैसा नकमाए पनि शुभचिन्तक भने थुप्रै कमाएको रहेछु भन्ने त्यतिबेला नै हो थाहा पाएँ ।

 

भूकम्पपछिदेखि नै हो, बुबाले ‘घर बनाइदे छोरा’ भन्नुभएको हो ।

घरको जेठो छोरालाई नभनेर कसलाई भन्नु ? हामी चित्लाङमा छँदै छानोबाट वर्षाको पानी चुहिन्थ्यो । हेटौँडामा हुँदा नै ‘चुहिएको छानो टाल्नुपर्नेछ’ भनेर गजल लेखेको थिएँ, तर अहिलेसम्म त्यसको चाँजोपाँजो मिलाउन सकेको छैन ।

व्यवस्थापन पढे पनि आर्थिक व्यवस्थापन मिलाउन जानिएनछ । घर बनाउन सकेको छैन । पितापुर्खाले जोडेको जग्गा छ तर जग्गामा पैसा फलाउन सकेको छैन । पैसा साथमा नभएपछि घर बनाउने आँट पनि आउँदैन रहेछ । अब त जसरी पनि बनाउनुपर्छ भन्ने भा’थ्यो, जग्गालाई लिएर मुद्दा आइलाग्या छ । अब कमाएर जग्गा जोड्न नसक्ने भएकाले पैतृक सम्पत्ति नबेच्ने निर्णय भयो । झन् जग्गा मुद्दाले जटिल बनायो ।

काम गर्ने संस्थाका साहुजीले घर बनाउन १ लाख सहयोग गर्छु भनेर वचन दिएका थिए । त्यो पनि लिन नपाउँदै काम छोड्नुपर्ने स्थिति बन्यो । काठमाडौंमा रहँदा मलाई केही प्रश्नहरू सोधिन्थ्यो, ‘वीरगञ्जमा जग्गा कति छ ? घर बनाइसकिस् होइन ?’ तर, यी प्रश्नहरू मलाई प्रश्न कम वाण र व्यंग्य ज्यादा लाग्थे ।

भूकम्पको झट्काले उता घर हल्लँदा यता मुुटु हल्लिन्छ । किनकि अगाडि मतानतर्फको थाम बाहिरतिर सर्दै छ । त्यो थामले मतानमाथिको गाह्रो थामेको छ । त्यो खुस्कनेबित्तिकै घर ढल्ने निश्चित छ । वर्षायाममा आकाशमा बादल वर्षेसँगै मेरो आँखा रसाउँछ । घरलाई केही नहोस् भनेर कामना गर्छु ।

‘१८ वर्ष पत्रकारिता गरेर तैँले कति पैसा कमाइस् त ?’ भनेर कसैले सोधे मसँग उत्तर छैन । पत्रकारिता पैसा कमाउन गरेँ कि समाजका लागि ? तर, एउटा घर बनाउने पैसा कमाउन नसक्दा निर्धक्क भएर घर जान सकिँदैन ।

काठमाडौंकालाई लाग्दो रहेछ– आर्थिक नगरी भनेर पहिचान बनाएको वीरगञ्जमा पत्रकारको कमाइ राम्रो हुन्छ । अरुले कसरी कमाएका छन् । समाजले जान्दछ । मलाई त यत्ति थाहा छ– नेपाल वाणी नेटवर्कले जिल्लाबाट गरेको कामको पैसा दिएन । नयाँ पत्रिकाले तलबमा राख्छु भनेर स्ट्रिन्जरमा झुलायो । वीरगञ्जमा अफिस राखेकाले महिना बितेलगत्तै भाडा तिर्थें । रिपोर्टरलाई महिना मरेपछि पैसा दिनुपर्छ भन्ने लाग्दैनथ्यो । लोक टाइम्स दैनिक बन्द गरेर राजनीतिमा लागेका साहुले अझै तीन महिनाको तलब दिएका छैनन् । उनी कुनै बेला न्यूनतम पारिश्रमिक निर्धारण समितिमा सदस्यसमेत थिए ।

लेखेर र बोलेर कति नै पैसा कमाउन सकिन्छ र ? वर्षमा कहिलेकाहीँ मिल्ने फेलोसिपले काममा उत्साह थपिदिन्थ्यो । त्यसैले वीरगञ्जमा त परको कुरा, बाउबाजेले बनाएको घर पनि जोगाउन सकेको छैन । अहिले वीरगञ्जमा घरजस्तै डेरा छ, आमा बुबाजस्ता घरबेटी । एक वर्ष वीरगञ्ज महानगरपालिकाको ई–बुलेटिनमा काम गरेबापत आएको पैसा र श्रीमतीजीको अफिसबाट ऋण लिएर ४ वर्षअघि किनेको एउटा इलेक्ट्रिक स्कुटर छ ।

‘१८ वर्ष पत्रकारिता गरेर तैँले कति पैसा कमाइस् त ?’ भनेर कसैले सोधे मसँग उत्तर छैन । पत्रकारिता पैसा कमाउन गरेँ कि समाजका लागि ? वा व्यावसायिक वा अन्य स्वार्थका लागि ? पत्रकारिताको आडमा अरु धन्दामा लाग्न सक्थेँ कि ? पैसा नै सबै थोक होइन भनेर आफूलाई उत्प्रेरित गरिन्थ्यो । तर, एउटा घर बनाउने पैसा कमाउन नसक्दा निर्धक्कले घर जान सकिँदैन । आफन्त, साथीभाइबाट दुई/चारवटा कुरा सुन्नुपर्छ । के पैसा कमाउनु मात्रै उपलब्धि हो त ? मैले हेटौँडा, बर्दिबास, लालबन्दी र वीरगञ्ज बस्दा घरजग्गा जोड्नैपर्ने थियो ?

‘हजारको तलब खाएर अरबको कथा कसरी खोज्नुहुन्छ तपाईं ?,’ पत्रकार भूषण दाहालले एक अन्तर्वार्तामा अर्का पत्रकार देवेन्द्र भट्टराईलाई सोध्छन् । २३ वर्ष कान्तिपुरमा काम गरेका उनी हाँस्दै अनि अकमकाउँदै भन्छन्, ‘यो प्रश्न त नआएको भए हुन्थ्योजस्तो थियो सुरुदेखि नै, तर आएछ ठीकै छ । एकदमै गाह्रो र अहम् प्रश्न हो ।’

शिक्षक, प्रहरीलगायत सरकारी सेवामा लागेका आफन्तजनहरूले अवकाशपछि पाउने उपदान, पेन्सनसहितको जीवन, ढुक्क हुने अवस्थासँग तुलना गर्दै उनी थप्छन्, ‘काठमाडौंमा बस्छु, श्रीमती र छोरा छन् । २३ वर्ष काम गर्दाको अवस्थामा म ढुक्कसँग २ वर्ष, ३ वर्ष खुवाउँछु, पियाउँछु अथवा टाढा नभए पनि भारतमा एक महिना घुमाएर ल्याउँछु भन्ने अवस्थामा छुइनँ । मेरो मात्रै कुरा होइन, इन जनरल कुरा हो ।’

उनको भन्दा मेरो हालत अझ कमजोर छ । भारत त परको कुरा, मैले त परिवारलाई नेपालकै कुनै भूभाग घुमाउन लैजान आँट गर्न सकेको छैन । दुई/तीन ठाउँमा काम गरेर बचाएको पैसा र साथीभाइसँग ऋण सापटी लिएर पढाइमा खर्च गरेँ । केही वर्षदेखि आईपीओ भर्न थालेकाले केही कम्पनीको शेयर परेको छ ।

पत्रकारिता पेसामा म संस्थाबाट पाउँछु, राज्यबाट पाउँछु, वा म कतैबाट पाउँछु भनेर लाग्नेभन्दा पनि हाम्रो पत्रकारिता पेसा नेपाली समाजमा म आफूले आफैँमा ढिट अडिग भएर मलाई यति भए पुग्छ, यतिले चल्छु भन्ने अवस्था मात्रै छ । ठूलो सपना र आयाम देख्ने र एउटा स्टोरी गरेर केही गर्छु भन्ने अवस्था छैन । निराशाजनक छ, एकदमै निराशाजनक छ,’ देवेन्द्र भट्टराईसँग सहमत छु ।

हुन त पाँच/सात वर्ष पत्रकारितामा लागेर निकै तरक्की गरेका पत्रकार पनि समाजमा छन् । आर्थिक उपार्जन र कमाइको सन्दर्भमा उनीहरूलाई हेरेर हामीलाई प्रश्न गर्ने गरिन्छ, त्यसले गर्‍यो, तैँले किन गर्न सकिनस् ? पत्रकार भट्टराईले भनेजस्तै अब को कति पत्रकार, को कति अपत्रकार ? छुट्याउनुपर्ने बेला भएन र ?

पारिश्रमिक निर्धारण समिति, नेपाल पत्रकार महासंघलगायत देखाउनका लागि संस्था बनाइदिए पनि हामीजस्ता श्रमजीवीका लागि के त ? भनेर प्रश्न गर्दा जवाफ दिने कसले ? यो प्रश्न भट्टराईको मात्रै होइन, मेरो पनि हो, हामीजस्तै श्रमजीवी पत्रकारहरूको हो । शिलापत्रबाट साभार 


माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित खबर